काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा वैदेशिक रोजगारीका लागि तीन लाख ९३ हजार ६७ जनाले श्रम स्वीकृति लिएका छन् । वैदेशिक विभागको तथ्यांकअनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३, असोजमा ५३ हजार ५२५, कात्तिकमा ७० हजार ९९०, मंसिरमा ८४ हजार २२६ र पुसमा ६७ हजार २५८ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका हुन् ।
२०८१ साउनदेखि पुस मसान्तसम्मको अवधिमा श्रम स्वीकृति लिनेमा तीन लाख ४८ हजार २४१ जना पुरुष र ४४ हजार ८२६ जना महिला छन् । पुसमा बाहिरिने मध्ये ६० हजार १५३ जना पुरुष रहेका छन् भने ७ हजार १९५ जना महिला बाहिरिएका छन् ।
चालु आर्थिक वर्षको पुसमा बाहिरिएका ६७ हजार २५८ जना मध्ये ४० हजार ५५ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने अन्यले श्रम स्वीकृती नविकरण गरेका हुन् ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा वैदेशिक रोजगारीमा जान विभागबाट तीन लाख ४० हजार ३३० जनाले श्रम स्वीकृति लिएका थिए । अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वैदेशिक रोजगारीमा जान ५२ हजार ७३७ जना बढीले श्रम स्वीकृति लिएको पाइएको छ ।
पछिल्लो पटक नयाँभन्दा पनि बिदामा आएर पुनः श्रम स्वीकृति लिएर जानेको संख्या बढेकोले वेदेशिक रोजगारीमा जानेको संख्या बढेको हो । दसैँतिहार र छठ मनाएर फर्किने धेरै भएकाले नेपाली श्रमिकको सङ्ख्या मङ्सिर र पुसमा धेरै भएको हो ।
चालु आर्थिक वर्षमा सवैभन्दा धेरै संयुक्त अरब इमिरेट्स (युएई) का लागि श्रम स्वीकृति लिएका छन् । चालु आवको पुसमा मात्रै युएईका लागि २१ हजार १२१ जनाले श्रम स्वीकृती लिएको विभागको तथ्यांकले जनाएको छ ।
यस्तै, युएई पछि सबैभन्दा धेरै साउदी अरेबीयाको लागि श्रम स्वीकृति लिएका छन् । साउदी अरेबीयाको लागि एक महिनामा १२ हजार ६४२ जनाले श्रम स्वीकृती लिएका छन् ।
यता, रोजगारीको लागि नेपालीको रोजाईमा पर्ने गरेको मलेसियामा भने यो पटक थोरै संख्यामा मात्र श्रम स्वीकृती लिएको पाइएको छ । श्रम बजारमा आप्रवासी श्रमिकको संख्या बढी भएको भन्दै मलेसियन सरकारले मे मसान्तसम्म आप्रवासी श्रमिकलाई प्रवेश दिने र त्यसपछि रोक लगाउने घोषणा गरेको थियो। त्यसले मलेसिया जाने नेपालीको संख्यामा कमी आएको हो । पुसमा मलेसियाका लागि ३ हजार १७५ जनाले श्रम स्वस्कृती लिएका छन् ।
कुन जिल्लाबाट कति बाहिरिए ?
चालु आर्थिक वर्षको ६ महिनामा रोजगारीको सिलसिलामा झापाबाट सबैभन्दा धेरै बाहिरिएका छन् । झापाबाट ३ हजार ६६ जना बाहिरिएका हुन् । यस्तै, मोरङ २ हजार ७७२, सिराहा २ हजार ६३९, सर्लाहीबाट १ हजार ९८५, सल्यानबाट २ हजार ९५, मकवानपुरबाट १ हजार २५०, कास्की १ हजार १, कपिलवस्तु १ हजार ३५९, दाङ १ हजार ४३७, चितवन १ हजार ७३२, बाग्लुङबाट १ हजार ३७८ जना बाहिरिएका छन् ।
प्रतिक्रिया