बैंकहरूले असोज महिनाभित्रै गाडी र घर कर्जाको स्थीर ब्याजदर तोकिसक्नुपर्ने

0
Shares

बैंक तथा वित्तीय संस्थाहरुले एक महिनाभित्र अर्थात असोज मसान्तसम्म गाडी र घर कर्जाको स्थिर (फिक्सड्) ब्याजदर तोकिसक्नुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका २०७७ ले गरेको व्यवस्था अनुसार पहिलो पटकका लागि असोज मसान्त भित्र गाडी र घर कर्जाको स्थीर ब्याजदर तोक्न बैंकहरुलाई निर्देशन दिएको हो । 

यस्तो व्यवस्था व्यक्तिको नाममा प्रवाह भएका घर कर्जा, गाडी कर्जा, लगायतका मासिक वा कुनै पनि आवधिक किस्तामा भुक्तानी हुने गरी प्रवाह गरिएका तथा एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका कर्जामा लागू हुने राष्ट्र बैंकले प्रष्ट पारेको छ ।

केन्द्रीय बैंकले गत साता एकीकृत निर्देशिका जारी गर्दै एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाहरुको ब्याजदर परिवर्तन नहुनेगरी स्थीर ब्याजदर कायम गर्नुपर्ने व्यवस्था गरेको थियो । सोही अनुसार बैंकहरूले आगामी १ महिनाभित्र स्थीर ब्याजदर कायम गर्नुपर्ने भएको हो ।

‘एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाहरुको ब्याजदर परिवर्तन नहुने गरी स्थीर ब्याजदर कायम गर्नुपर्नेछ । यस प्रयोजनको लागि, इजाजतपत्र प्राप्त संस्थाले एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका प्रत्येक व्यक्तिगत आवधिक कर्जाको ब्याजदर भुक्तानी अवधिभर परिवर्तन नहुने गरी स्थिर ब्याजदर (फिक्सड इन्ट्रेस्ट रेट) निर्धारण गर्नुपर्नेछ,’ निर्देशिकामा भनिएको छ ।

‘तर, ग्राहक स्वयंले इजाजतपत्र प्राप्त संस्थाको आधारदर परिवर्तन हुँदा परिवर्तन हुने परिवर्तनीय ब्याजदरमा कर्जा लिन चाहेमा ग्राहकको अनुरोधमा परिवर्तनीय ब्याजदर कायम गर्न यो व्यवस्थाले बाधा पुर्याएको मानिने छैन,’ निर्देशिकामा उल्लेख छ ।

केन्द्रीय बैंकले गरेको नयाँ व्यवस्था अनुसार अब बैंकहरुले सवारी र घरकर्जाको भुक्तानी अवधिभर एउटै ब्याजदर कायम गर्नुपर्नेछ अर्थात बीचमा ब्याजदर परिवर्तन गर्न पाउने छैनन् । बैंकहरुले यसअघि आधारदर परिर्वतन हुँदा गाडी र घरकर्जाको ब्याजदर परिवर्तन गर्ने गरेका थिए ।

बैंकहरुले कर्जा दिने समयमा सस्तो ब्याजदरमा लगानी गरेपनि त्यसको केहि महिनामा नै ब्याजदर बढाउने गरेको गुनासो ऋणीहरुले गर्दै आएका थिए। केन्द्रीय बैंकले व्यक्तिगत आवधिक कर्जामा स्थिर व्याजदर कायम गर्नुपर्ने व्यवस्था गरेपछि ऋणीहरुलाई राहत हुने भएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।