अर्थ समितिले बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित शीर्षक अनुसार कर्जा उपयोग भए नभएको अध्ययन गर्ने

0
Shares

बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको शीर्षक अनुसार कर्जा उपयोग भए नभएको अध्ययन हुने भएको छ ।

व्यवस्थापिका संसदको अर्थ समितिले मंगलबार जुलिकुमारी महतोको संयोजकत्वमा उपसमिति गठन गरी कर्जाको शीर्षक अनुसार उपयोग भए नभएको अध्ययन गर्न कार्यादेश दिएको छ ।

अर्थ समितिको मंगलबार सम्पन्न बैंठकले जुलिकुमारी महातोको संयोजकत्वमा ६ सदस्यीय बैंक तथा वित्तीय संस्था अध्ययन उपसमिति गठन गरेको हो । सो उपसमितिले आगामी ४ महिना भित्र बैंकिङ क्षेत्रको अध्ययन गरेर समितिलाई प्रतिवेदन बुझाउनेछ ।

उपसमितिमा जुलिकुमारी महातो संयोजक छिन् भने कु. तुल्सी थापा, प्रमिला राई, महन्थ ठाकुर, श्याम कुमार श्रेष्ठ र हेम कुमार राई सदस्य रहेका छन । बैंक तथा वित्तीय क्षेत्रका ग्राहकको समस्या, कर्जा लगानीको अवस्था, प्राथमिकता प्राप्त क्षेत्रमा गरिएको लगानीको अवस्था लगायतका विषयमा अध्ययन गर्नेछ । उपसमितिले अध्ययन गरी समस्याको पहिचान तथा समाधानका उपायहरु समेत सुझाउने अर्थ समितिले जनाएको छ ।

बैंक तथा वित्तीय संस्था अध्ययन उपसमितिले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने औद्योगिक वा व्यावसायिक प्रतिष्ठानहरुले लिएको ऋण तोकिएको प्रयोजनामा उपयोग भए नभएको अध्ययन गरी सुधारको लागि सुझाव सहित सिफारिस गर्नेछ । यस्तै उप समितिले बैंकको निक्षेप र कर्जा लगानीको अवस्था विश्लेषण गर्नेछ भने बैंक र ग्राहकका समस्या पहिचान तथा त्यसको समाधानका उपायहरु समेत सुझाउनेछ ।

त्यसैगरी विकास बैंक र वित्त कम्पनीका निक्षेप परिचालन, कर्जा लगानी क्षेत्र, लगानी लगायतको विश्लेषण गरी समस्या पहिचान र समाधानका लागि पनि उप समितिले सिफारिस गर्नेछ । उपसमितिले लघुवित्त कम्पनीहरुसँग सम्बन्धित समस्याहरु पहिचान गरी सुधारका लागि सुझाव दिने समेतको जिम्मेवारी पाएको छ ।

लघुवित्तीय संस्थाहरुको भौगोलिक र विषयगत कार्यक्षेत्रमा दोहोरो नपर्ने गरी गर्नुपर्ने परिवर्तनको सुझाव समेत अर्थसमितिमा पेश गर्नेछ । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जा र त्यसको उपभोग सम्बन्धमा अध्ययन गरी आवश्यक सुझाव दिनेछ ।

साथै अर्थसमितिले मंगलबार समष्टिगत आर्थिक नीति अध्ययन उपसमिति, सार्वजनिक खर्च, खरीद, लगानी र राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति र राजस्व चुहावट, रावस्व बक्यौता र राजस्व प्रशासन अध्ययन उपसमिति पनि गठन गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।