जनरल इन्स्योरेन्सको आईपीओमा कति गर्ने आवेदन ?

0
Shares

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले असोज ११ गतेदेखि सर्वसाधारणको लागि प्रथमिक शेयर (आईपीओ) निष्काशन गर्दैछ ।

अब धेरैलाई अलमल के हुनसक्छ भने सो कम्पनीले निष्काशन गरेको आइपीओमा कति आवेदन गर्ने ? यहि जिज्ञाशाको समाधानका लागि हामीले यो समाग्री तयार पारेका छौं ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको कूल ३० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले निष्काशन गर्न लागेको कुल ३० लाख कित्तामध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ । बाँकी २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड हुनेछ ।

नेपाल धितोपत्र बोर्डले लागू गरेको धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार प्रत्येक आवेदकलाई न्यूनतम १० कित्ताका दरले शेयर बाँडफाँड गर्नुपर्ने व्यवस्था रहेको छ । यसअनुसार यस कम्पनीको आइपीओ २ लाख ७३ हजार जनाले १० कित्ताका दरले पाउनेछन् ।

कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल रहेको छ।

कति गर्ने त आवेदन ?

धितोपत्र बजारको प्राथमिक निष्काशनमा पछिल्लो समय दिनप्रतिदिन नयाँ लगानीकर्ता थपिने क्रम बढ्दो छ । हरेक नयाँ निष्काशनमा करिब १ लाख संख्यासम्म आवेदक थपिएका छन् । पछिल्ला निष्काशनमा परेको मागका आधार पनि त्यस्तै देखिन्छ । यस आधारमा जनरल इन्स्योरेन्सको आइपीओमा पर्ने आवेदन संख्याले पनि नयाँ रेकर्ड कायम गर्ने निश्चित प्राय: छ ।

यसअनुसार यो निष्काशनमा पनि आइपीओमा आवेदन गरेका आधा भन्दा कमले मात्र गोलाप्रथाबाट १० कित्ता पाउनेछन्। बाँकी आधा आवेदकको हात भने यसमा पनि खाली हुनेछ ।

पछिल्लो आईपीओ रिलायन्स लाइफमा परेको आवेदलाई आधार मान्ने हो भने करिब ६ लाख (५ लाख ८९ हजार ४६४ वटा) आवेदन परेको थियो । यसअनुसार जनरल इन्स्योरेन्सको आइपीओमा पनि कम्तिमा ६ लाख आवेदन पर्नेछ । ६ लाख वटा संख्यामा आवेदन पर्दा नै १०० जनामध्ये ४५ जनाले मात्र गोलाप्रथाबाट १० कित्ता शेयर पाउनेछन् भने बाँकी ५५ जनाको हात खाली हुनेछ ।

यसअनुसार कम्पनीले आइतबारदेखि निष्काशन गर्ने प्राथमिक शेयर (आईपीओ) मा १० कित्ता अर्थात १ हजार रुपैयाँको आवेदन नै प्रयाप्त हुनेछ । आधा आवेदकले १ हजारको शेयर नै नपाउने अवस्थामा कतिपयले धेरै रकमको आवेदन गरेमा शेयर पर्ने विश्वास गर्ने गरेको पाइन्छ । तर धेरै रकमको आवेदन गर्दैमा शेयर पाउने सम्भावना नहुने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकहरु बताउँछन् ।

असोज १४ गते बुधबारसम्म आवेदन गर्न सकिने

कम्पनीको आईपीओमा असोज ११ गतेदेखि १४ गतेसम्म आवेदन गर्न सकिने शेयर बिक्री प्रबन्धकमा एनआईवीएल क्यापिटलले जनाएको छ । जसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन गर्न पाइने व्यवस्था रेहको छ ।

आईपीओमा आवेदन गर्न  इच्छुक लगानीकर्ताहरुले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरो शेयर एप र मेरो शेयर सफ्टवेयर मार्फत शेयर आवेदन गर्न सक्नेछन । मेरो शेयरको मोबाइल एपबाट भने हाल आवेदन गर्ने व्यवस्था गरिएको छैन ।

हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ । आईपीओ निष्काशन पश्चात चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ । निर्जीवन बीमा कम्पनीहरुले बीमा समितिको निर्देशन बमोजिम न्यूनतम एक अर्ब चुक्ता पूँजी कायम गर्नुपर्नेहुन्छ ।

यस्तो छ कम्पनीको प्रक्षेपण

जनरल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७६/७७ मा ५ करोड ६ लाख खुद नाफा कमाएको थियो । यस अवधिमा कम्पनीले २० करोड ९६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।

चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ७.२३ रुपैयाँ र जगेडा कोषमा ४ करोड ६६ लाख छ । जसको प्रतिशेयर नेटवर्थ ११४.६८ रुपैयाँ कायम भएको छ।कम्पनीको बीमा कोषमा ५ करोड १० लाख र महाविपत्ती जगेडा कोषमा ५२ लाख रुपैयाँ सञ्चित छ ।

इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७७/७८ मा १७ करोड ३७ लाख, आर्थिक वर्ष २०७८/७९ मा १९ करोड ८० लाख र आर्थिक वर्ष २०७९/८० मा ३० करोड २७ लाख र आर्थिक वर्ष २०८०/८१ मा ४१ करोड २० लाख रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ ।

यसअनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ चालु आवमा ११५ रुपैयाँ, आर्थिक वर्ष २०७८/७९ मा १२८, आर्थिक वर्ष २०७९/८० मा १४८ र आर्थिक वर्ष २०८०/८१ मा १७४ रुपैयाँ कायम हुने अनुमान छ ।

चालु आवमा आइपीओ जारी गरेर १ अर्ब पूँजी कायम गर्ने कम्पनीले वार्षिक प्रतिशेयर आम्दानी चालु आवबाट क्रमश: १७.३८ रुपैयाँ, १९.८१, ३०.२७ र आर्थिक वर्ष २०८०/८१ मा पुग्दा ४१.२० रुपैयाँ कायम गर्ने लक्ष्य लिएको छ ।

चालु आवमा ५० करोड ६५ लाख खुद प्रिमियम संकलन गर्ने लक्ष्य राखेको कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा पुग्दा त्यसलाई १०५ प्रतिशतले बढाएर १ अर्ब ४ करोड बढी संकलन गर्ने प्रक्षेपण गरेको छ । यस्तै चालु आवमा १ करोड ९२ लाख जगेडा कोष कायम गर्ने र आर्थिक वर्ष २०८०/८१ मा त्यसलाई बढाएर ११ करोड पुर्याउने सोच रहेको छ ।

कम्पनीको अध्यक्षमा कुनल क्याल रहेका छन् भने मिल बराली प्रमुद कार्यकारी अधिकृत रहेका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।