पछिल्लो समयमा शेयर बजारमा आएको सुधारले अधिकांस कम्पनीहरुको शेयर मूल्य बढेको देखिन्छ । तर केहि कम्पनीहरुको लगातार शेयर मूल्य बढ्दा पनि बजार भाउ अंकित मूल्यकै हाराहारीमा पाइएको छ ।
विशेष गरेर जलविद्युत समूहका अधिकांस कम्पनी, केहि फाइनान्स र विकास बैंकहरुको शेयरमूल्य अंकित मूल्यकै आसपासमा रहेको छ । बजार निरन्तर बढ्दा पनि दुई दर्जन कम्पनीको शेयरमूल्य डेढ सय रुपैयाँ तल नै छ ।
असोज ११ गते आइतबारको कारोबार विवरणको आधारमा अझै पनि ३ जलविद्युत कम्पनीको शेयर मूल्य अंकित मूल्य भन्दा तल छ ।
नेशनल हाइड्रो, दिव्यश्वरी हाइड्रो र युनियन हाइड्रो शेयर मूल्य अझै एक सय रुपैयाँ पुग्न सकेको छैन भने खानीखोला जलविद्युतको शेयरमूल्य आईपीओकै मूल्य एक सय रुपैयाँ कायम भएको छ ।
बजार बढ्नु अघि डेढ दर्जन बढी कम्पनीको शेयरमूल्य सय रुपैयाँ तल र आधा दर्जन जलविद्युतको मूल्य प्रतिकित्ता ५० रुपैयाँ आसपासमा रहेको थियो ।
पछिल्लोसमयमा जलविद्युततर्फ लगानीकर्ताको आकर्षण देखिएपछि धेरै कम्पनीहरुको शेयरमूल्य बढेर सय रुपैयाँ माथि पुगेको हो । अझैपनि अधिकांस जलविद्युत कम्पनीको शेयर मूल्य डेढ सय रुपैयाँ भन्दा तल नै रहेको छ ।
जलविद्युत कम्पनीको मात्र होइन केहि विकास बैंक र फाइनान्स कम्पनीको शेयर मूल्य पनि डेढ सय रुपैयाँ भन्दा तल नै रहेको छ । प्रोगेशिभ फाइनान्स, मल्टीपरपोज फाइनान्स, गोर्खाज फाइनान्स र सेन्ट्रल फाइनान्स सबैभन्दा सस्तो मूलयका फाइनान्स कम्पनी हुन । तर बजार मूल्य सस्तो भयो भन्दैमा कम्पनीको शेयर उठाइहाल्नु भने गतल हुनसक्छ । त्यो भन्दा अगाडि कम्पनीहरुको तुलनात्मक विवरण अध्ययन देखिन्छ ।
यस्तै विकास बैंकहरुमा कर्णाली विकास बैंकको शेयरमूल्य सबैभन्दा कम १२० रुपैयाँ रहेको छ । ग्रीन डेपलपमेन्ट, सिन्धु विकास, सप्तोकोशी सस्तो शेयरमूल्य भएका विकास बैंक हुन । यी बैंकहरुको शेयरमूल्य पनि डेढ सय रुपैयाँ भन्दा तल नै रहेको छ ।
शेयर बजारमा सूचीकृत यी कम्पनीहरुको मुल्य हेर्दा आईपीओमा लगानी गर्दा घाटा हुँदैन भन्ने लगानीकर्ताको विश्वास गलत सावित गरिदिएको छ । खराब रेटिङ पाएका कम्पनीहरुलाई आईपीओ निष्काशनमा अनुमति दिदा प्राथमिक बजारमा गरिएको लगानी समेत डुब्ने अवस्था रहन्छ भन्ने देखिन्छ । लगानीकर्ताले कम्पनीको आधारभूत तथा प्राविधिक पक्षलाई ध्यान दिएर लगानी गर्ने भएकाले प्रतिफल दिनसक्ने सम्भावना कम भएका कम्पनीहरुको भाउ बढ्न सक्दैन । यद्यपी राम्रै नाफा आर्जन गरेका केहि कम्पनीहरुको मूल्य भने कमजोर नै रहेको छ।
कम्पनीको नाफा नोक्सान, उसले दिने लाभांश र संस्थागत सुशासन जस्ता बिषयले शेयर मूल्यमा प्रभाव पार्छ । संस्थागत सुशासन नभएका बैंक तथा वित्त कम्पनी शेयर मूल्य पनि कमै हुने गरेको छ ।
आईपीओमा सय रुपैयाँ हालेर जलविद्युत कम्पनीको शेयर किन्ने लगानीकर्ताले हालसम्ममा सावाँ ब्याज गुमाइ सकेका छन् । न्यून मूल्यमा बिक्री गर्न खोज्दा पनि कम्पनीको शेयर खरिद कर्ता भेट्याउन सकेका छैनन् । जलविद्युत कम्पनीको शेयर खरिद गर्ने लगानीकर्ताले भने आशा र भरोसा समेत गुमाइसकेको अवस्थामा पछिल्लो समय बजार बढ्दा भने केही राहत महशुस गरेका छन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया