९ वाणिज्य बैंकको कल निक्षेप अझै पनि १० प्रतिशत माथि

0
Shares

सञ्चालनमा रहेका २७ वाणिज्य बैंक मध्ये ९ बैंकहरुको कल निक्षेप अझै पनि १० प्रतिशत भन्दा माथि रहेको तथ्याङ्क भेटिएको छ ।

नेपाल राष्ट्र बैंकले गत असारमसान्तसम्ममा १० प्रतिशतभन्दा धेरै कल निक्षेप रहेका बैंकहरुलाई १० प्रतिशतको सीमासम्म ल्याइसक्न निर्देशन दिएको भएपनि असोज १४ गतेसम्म पनि ९ बैंकहरुले कल निक्षेपको हिस्सा तोकिएको सीमामा नझारेको भेटिएको हो ।

नेपाल राष्ट्र बैंकले बैंकहरुलाई कल निक्षेप १० प्रतिशतमा ल्याउनका लागि गत असारसम्मको समयमा दिएको थियो । केन्द्रीय बैंकले जारी गरेको एकीकृत निर्देशन २०७७ अनुसार पनि “इजाजतपत्रप्राप्त “क” वर्गका वाणिज्य बैंकले स्वीकार गर्ने कल निक्षेपको अंश कुल निक्षेप दायित्वको १० प्रतिशत र इजाजतपत्रप्राप्त “ख” तथा “ग” वर्गका वित्तीय संस्थाहरुले स्वीकार गर्ने कल निक्षेपको अंश कुल निक्षेप दायित्वको १५ प्रतिशतभन्दा बढी कायम गर्न नपाइने व्यवस्था छ ।

तर, नेपाल इन्भेष्टमेन्ट बैंक, प्राइम कमर्सियल बैंक, नबिल बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक, लक्ष्मी बैंक, एभरेष्ट बैंक र एनएमबी बैंकको कल निक्षेपको हिस्सा केन्द्रीय बैंकले तोकिएको सीमा भन्दा माथि छ । यी बैंकहरुको कुल निक्षेप कल निक्षेपको हिस्सा क्रमशः १९.०२, १५.३९, १४.२४, १३.९२, ११.६१, ११.११, १०.६८, १०.१४ र १०.११ प्रतिशत रहेको तथाङ्क छ ।

बैंकहरुले कल ब्याजदरमा चलखेल गर्नका लागि तथा कस्ट अफ फण्ड कम गर्नका लागि कल निक्षेप तथा बचतको निक्षेपको हिस्सा धेरै राख्ने गर्छन् । यद्यपी राष्ट्र बैंकले तोकिएको सीमा झार्न दिएको निर्देशनपछि भने बैंक वित्तीय संस्थाले कल निक्षेपमा पैसा राख्न कम गरेको देखिन्छ ।

बैंक वित्तीय संस्थाले कल तथा बचतको हिस्सा घटाउन थालेपनि पछिल्लो समयमा मुद्दती निक्षेपको हिस्सा भने बढ्दो क्रममा रहेको छ । बैंक वित्तीय संस्थाले मुद्दती निक्षेपको ब्याजदर बढाउन थालेको हुनाले पनि कल मात्र नभई साधारण बचतको हिस्सा पनि बैंकहरुमा घटेको छ । सस्तो दरमा कर्जा प्रवाह गर्नका लागि बैंक वित्तीय संस्थाको कुल निक्षेपमा कल तथा बचत निक्षेपको हिस्सा धेरै हुनुपर्ने हुन्छ ।

गत असोज १४ गतेसम्ममा सबैभन्दा थोरै कल निक्षेप हुने बैंकहरुमा सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंक रहेका छन् । यी बैंकहरुको कुल निक्षेपमा कल निक्षेपको हिस्सा क्रमश: ६.९३, ३.०७ र ६.६८ प्रतिशत रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।