वाणिज्य बैंकहरको नाफा साउन महिनाको तुलनामा भदौमा ११२% ले बढ्यो

0
Shares

चालु आर्थिक वर्षको दोस्रो महिना अर्थात भदौमा वाणिज्य बैंकहरुले १२ अर्ब २१ करोड ५४ लाख रुपैयाँ खुद नाफा गरेका छन् । सञ्चालनमा रहेको २७ वाणिज्य बैंकहरुको यो नाफा चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनको तुलनामा ६ अर्ब ४६ करोड रुपैयाँले धेरै हो ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा बैंकहरुले ५ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा गरेका थिए । भदौ महिनामा बैंकहरुले गरेको नाफा साउनको तुलनामा ११२ प्रतिशतले धेरै हो । कोरोना भाइरसका कारण सरकारले लकडाउन तथा निषेधाज्ञा लगाएकाले बैंकहरुको कर्जा प्रवाह सुस्त रहेपनि नाफामा भने खासै असर नपुगेको देखिएको हो ।

यता गत आर्थिक वर्षको भदौको तुलनामा बैंकहरुको नाफा भने चालु आवको सोही महिनामा घटेको छ । गत आर्थिक वर्षको भदौमा बैंकहरुले १३ अर्ब २१ करोड ८६ लाख रुपैयाँ खुद नाफा गरेका थिए । यो नाफा चालु आर्थिक वर्षको भदौको तुलनामा ७.५८ प्रतिशतले धेरै हो । चालु आवको भदौमा बैंकहरुले १२ अर्ब २१ करोड रुपैयाँ खुद नाफा गरेको छन् ।

बैंकहरुले प्रभावित ऋणीलाई ब्याजमा छुट तथा कर्जाको समयाअवधि बढाइदिएको हुनाले कर्जा असुलिमा कमी आएको छ । गत आर्थिक वर्षमा उठ्नुपर्ने कर्जा आगामी पुससम्मको समयअवधि दिएको हुनाले पनि बैंकहरुको नाफामा कमी आएको हो ।

लकडाउनका कारण अर्थतन्त्र नै ठप्प भएपनि बैंकहरुको सेवा पनि निक्षेप लिने र भुक्तानी दिनेमा मात्र सीमित रह्यो । बैंकहरुको नाफा घट्न सक्ने विश्लेषण गरिरहेको अवस्थामा साउनको तुलनामा भदौको नाफा बढेको भएपनि गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भने घटेको हो ।

नेपाल राष्ट्र बैंकले दिएको तथ्याङ्क अनुसार भदौसम्ममा ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै नाफा गरेको छ । बैंकले चालु आर्थिक वर्षको भदौसम्ममा एक अर्ब ४ करोड ४० लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंक यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा झण्डै दोब्बर हो । गत आवको भदौमा बैंकले ५९ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यसैगरी भदौसम्ममा सबैभन्दा थोरै नाफा गर्नेमा सिभिल बैंक रहेको छ । बैंकले यस अवधिसम्ममा १२ करोड ३४ लाख रुपैयाँ मात्र खुद नाफा गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।