कोरोना प्रभावितका लागि ६५ अर्ब ६९ करोड पुनरकर्जा स्वीकृत

0
Shares

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको असोजसम्ममा ६५ अर्ब ६९ करोड रुपैयाँ बराबरको पुनरकर्जा स्वीकृत गरेको छ । केन्द्रीय बैंकले कोरोना प्रभावितलाई राहत प्रदान गर्ने गरी कर्जा दिनका लागि यो कर्जा स्वीकृत गरेको हो ।

कोरोना भाइरसका कारण प्रभावित भएका उद्योग, पेशा, व्यवसायको पुनरुत्थानमा सहयोग पु¥याउने, पुनरकर्जामा पहुँच अभिवृद्धि गर्ने र विद्यमान पुनरकर्जा सुविधालाई थप व्यवस्थित र प्रभावकारी बनाउन पुनर्कर्जा कार्यविधि लागू गरी यस्तो सुविधा प्रदान गर्न सुरु गरेको हो ।

राष्ट्र बैंकले कोभिड– १९ प्रभावित उद्योग तथा व्यवसायहरुलाई राहत प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरुसँग पुनर्कर्जा दरखास्त आहवान गरेकोमा ६९ अर्ब ४ करोड माग भएको थियो ।

केन्द्रीय बैंकले सो आवेदन रकमको मध्ये ५० अर्ब ७ करोड स्वीकृत भएको छ । यसैगरी, ग्राहक मूल्यांकन अनुसार प्रदान गरिने पुनरकर्जाका लागि ५५ अर्ब २५ करोड माग भएकोमा १५ अर्ब ६२ करोड स्वीकृत गरेको केन्द्रीय बैंकले जनाएको छ।

कोभिड–१९ बाट अति प्रभावित हवाइ उड्यन व्यवसाय, यातायात, होटल, रेष्टुरेन्ट लगायतका पर्यटन क्षेत्रका उद्यम–व्यवसाय पुनरुत्थानका लागि चालु पूँजी कर्जा, सहुलियतपूर्ण कर्जा र पुनर्कर्जा प्रवाहमा प्राथमिकता दिइएको छ ।

वाणिज्य बैंकले कुल कर्जा लगानीको २०७८ असार मसान्तसम्म न्यूनतम ११ प्रतिशत, २०७९ असार मसान्तसम्म १३ प्रतिशत र २०८० असार मसान्तसम्म १५ प्रतिशत कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ । २०७७ असोज मसान्तमा वाणिज्य बैंकहरुले आफ्नो कुल कर्जा लगानीको ९.५ प्रतिशत कृषि क्षेत्रमा कर्जा प्रवाह गरेका छन् ।

वाणिज्य बैंकहरुले कुल कर्जा लगानीको २०७८ असार मसान्तसम्म न्यूनतम ६ प्रतिशत, २०७९ असार मसान्तसम्म ७ प्रतिशत, २०८० असार मसान्तसम्म ९ प्रतिशत र २०८१ असार मसान्तसम्म १० प्रतिशत उर्जा क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ । २०७७ असोज मसान्तमा वाणिज्य बैंकहरुले आफ्नो कुल कर्जा लगानीको ५.६ प्रतिशत उर्जा क्षेत्रमा प्रवाह गरेका छन् ।

२०७७ असोज मसान्तसम्ममा ४१ हजार ६ सय १८ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई ७२ अर्ब ४७ करोड कर्जा बक्यौता रहेको केन्द्रीय बैंकले जनाएको छ।

यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत २७ हजार ३ सय ६९ ऋणीलाई प्रवाह भएको ६१ अर्ब २५ करोड र सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत १४ हजार २ सय ४९ ऋणीको ११ अर्ब २२ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ मंसिर २०७७, बिहीबार  २० : ०१ बजे