वाणिज्य बैंकको शेयर किन्ने सोचमा हुनुहुन्छ ? यस्तो छ अवस्था

0
Shares

शेयर बजार लागातार १५ दिन बुलिस प्रवृत्तिमा रहेकोमा साताको अन्तिम कारोबार दिन बिहीबार भने दोहोरो अंकको करेक्शन आएको छ । शेयर बजारमा एकपछि अर्को गर्दै उपसमुहगत उछाल आउँदै गर्दा बैंकिङ्ग उपसमुहमा भने अझै अपेक्षिेत उछाल आउन सकेको छैन । अन्य कम्पनीहरुको शेयरमूल्य उच्च बढिरहँदा पनि वाणिज्य बैंकहरुको शेयरमूल्य भने अझैपनि बढ्न सकेको छैन ।

मंसिर ११ गते बिहीबार कारोबार भएको शेयरमुल्यको आधारमा हेर्दा सूचीकृत २६ मध्ये आधा (१३) बढी बैंकहरुको मुल्यआम्दानी अनुपात अझै २० गुणाभन्दा कम रहेको छ । १३ बैंकको मुल्य आम्दानी अनुपात २० गुणाभन्दा धेरै रहेको देखिएको छ ।

चालु आवको प्रथम त्रैमासको नाफाको आधारमा कायम भएको वार्षिक प्रतिशेयर आम्दानी र बिहीबार कारोबार भएको शेयरमुल्यका आधारमा नेपाल बंगलादेश बैंकको मूल्य आम्दानी अनुपात सबैभन्दा कम १०.४५ रहेको छ भने नेपाल एसबिआई बैंकको सबैभन्दा धेरै ४८.२७ गुणा धेरै रहेको छ । यसको अर्थ बंगलादेश बैंकको शेयरमुल्य प्रतिशेयर आम्दानीको तुलनामा १०.४५ गुणा र नेपाल एसबिआई बैंकको प्रतिशेयर आम्दानीको तुलनामा ४८.२७ गुणा धेरै छ भन्ने बुझाउँछ ।

चालु आवको प्रथम त्रैमासको आधारमा ग्लोबल आईएमई बैंकको चुक्ता पूँजी सबैभन्दा धेरै १८ अर्ब ९७ करोड ५८ लाख रुपैयाँ रहेको छ भने सिभिल बैंकको सबैभन्दा कम ८ अर्ब ३३ लाख रहेको छ ।

चालु आवको प्रथम त्रैमासमा ग्लोबल आईएमई बैंकले सबैभन्दा धेरै १ अर्ब ५ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नबिल बैंक, एनआईसी एशिया, प्राइम कमर्सियल बैंकले १ अर्ब माथि नाफा गर्दा सिभिल बैंकले सबैभन्दा कम ९ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यस अवधिमा एनआईसी एशिया बैंकको वार्षिक प्रतिशेयर आम्दानी ४२.१४ रुपैयाँ रहेको छ भने सिभिल बैंकको सबैभन्दा कम ४.८४ रुपैयाँ रहेको छ । एघार बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँ रहेको छ । शेयरमूल्यका आधारमा नबिल बैंकको सबैभन्दा धेरै १ हजार १४० रुपैयाँ रहेको छ भने सिभिल बैंकको सबैभन्दा कम १८६ रुपैयाँ रहेको छ । एघार वाणिज्य बैंकको शेयरमूल्य ३०० रुपैयाँभन्दा कम रहेको छ ।

प्रथम त्रैमासको वित्तीय विवरणका आधारमा एनआईसी एशिया बैंकको लगानीमा प्रतिफल (आरओई) सबैभन्दा बढी २२.१२ प्रतिशत रहेको छ । सिभिल बैंकको शेयरमा गरिएको लगानीमा प्रतिफल सबैभन्दा कम ३.७२ प्रतिशत रहेको छ । एघार वाणिज्य बैंकको लगानीमा प्रतिफल दश प्रतिशतभन्दा कम रहेको छ ।

प्रथम त्रैमासको आधारमा नबिल बैंकको वितरणयोग्य नाफा १ अर्ब २० करोड ८८ लाख रहेको छ भने ६ वाणिज्य बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । सानिमा बैंक, सेञ्चुरी बैंक, बैंक अफ काठमाण्डू, सिभिल बैंक, सनराइज बैंक, र सिद्धार्थ बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । सिद्धार्थ बैंकको सबैभन्दा धेरै ४८ करोड ६२ लाख रहेको छ ।

जगेडा कोषका आधारमा नेपाल बैंकको जगेडा कोष सबैभन्दा धेरै १९ अर्ब ६४ करोड कायम हुँदा अन्य पाँच वाणिज्य बैंकको जगेडा कोष पनि दश अर्ब माथि पुगेको छ । नबिल बैंक, कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, ग्लोबल आईएमई बैंक र एभरेष्ट बैंकको जगेडा कोष दश अर्ब माथि रहेको छ । सिभिल बैंकको जगेडा कोष सबैभन्दा कम २ अर्ब ३५ करोड ३६ लाख रहेको छ ।

प्रथम त्रैमासमा नेपाल बैंकको खराब कर्जा अनुपात सबैभन्दा धेरै ३.०२ प्रतिशत रहेको छ भने एभरेष्ट बैंकको सबैभन्दा कम ०.२२ प्रतिशत रहेको छ । हिमालयन बैंकले प्रकाशन गरेको वित्तीय विवरणमा खराब कर्जा अनुपात नै उल्लेख गरेको छैन ।

सम्बन्धीत थप समाचारः-

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ मंसिर २०७७, शुक्रबार  १८ : २४ बजे