आइतबार शेयर बजारमा आएको तिब्र गिरावटका क्रममा १८७ कम्पनीको शेयर मूलय घटेको छ । बजारमा आएको यो गिरावट इतिहासकै सबैभन्दा धेरै अंकको गिरावट हो । उच्चतम विन्दुमा पुगेर ओरालो लाग्ने क्रममा आइतबार ६ प्रतिशतको गिरावट आउँदा नेपाली शेयर बजारको इतिहासमा नै पहिलो पटक धेरै अंकको गिरावट आएको हो ।
गत बिहीबार १५.५७ अंकको गिरावटसँगै २०५५.४५ अंकमा बन्द भएको बजार आइतबार एकै पटक १२३.३४ अंकले घटेको हो । ४ वर्ष पहिले १८८१.४५ अंकको नयाँ उचाई कायम भए पछिका दिनलाई आधार मानेर हेर्ने हो भने पनि बजारमा ६ प्रतिशतको गिरावट आउँदा पनि ११० अंकको औसतमा हुने अवस्थामा आइतबार १२३.३४ अंकले घटेको हो ।
नेप्सेमा २१२ कम्पनी सूचीकृत रहेकोमा आइतबार १९७ कम्पनीको शेयर कारोबार भएको छ । जसमा १८७ कम्पनीको शेयर मूल्य घटेको छ ।
कारोबार सुरु भएको ३ घण्टामा ६ प्रतिशतको गिरावट आए पछि आइतबारका लागि बजार बन्द गरिएको छ । यस क्रममा तिब्र गतिमा निरन्तर शेयर मूल्य उकालो लागेका कम्पनीहरुको शेयर मूल्यमा उच्च गिरावट आएको छ ।
आइतबार डिप्रोक्स लघुवित्तको शेयरमूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ । पछिल्ला दिनमा दिनहुँ १० प्रतिशतले शेयर मूलय बढेको नेपाल रिइन्स्योरेन्स कम्पनीको शेयर मूल्य आइतबार १० प्रतिशतले नै घटेको छ । त्यसै गरी साञ्जेन जलविद्युतको शेयर मूलय पनि धेरै घटेको छ ।
छोटो समयमा नै २ हजार हाराहारीको प्रतिकित्ता शेयर मूल्य ४ हजार रुपैंया पुगेको हिमालयन डिष्टीलरी, त्यसै गरी तिब्र गतिमा शेयर मूलय बढेको शिवम् सिमेन्ट, नेपाल लाइफ इन्स्योरेन्स लगायत कम्पनीको शेयर मूल्य वृद्धि भए जसरी नै ओरालो लागेका छन् ।
करेक्सनबिना नै निरन्तर झण्डै साढे चार सय अंक बढेको बजारमा आइतबारको करेक्सनलाई धेरैले सामान्य रुपमा लिएका छन् । तर महंगो मूल्य हालेर शेयर किनेका लगानीकर्ताहरु भने आइतबारको गिरावट शैलीबाट हच्किएका छन् ।
अर्कातिर राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षाका क्रममा मार्जिन कर्जाको सीमामा पुनरावलोकन गर्ने भनी उल्लेख गरेको विषय बजार घट्ने बहाना बनेको छ । यदि राष्ट्र बैंकको यो सम्बोधनका कारण नै आइतबार तिब्र गतिमा बजार घटेको हो भने भोलिका दिनमा पनि बजार सुधार हुने सम्भावना ज्यादै न्युन देखिन्छ । तर निरन्तरको वृद्धि पछिको करेक्सनका रुपमा मात्र लिने हो भने आइतबारको बजार घटाईबाट आत्तिइ हाल्नु पर्ने अवस्था देखिँदैन । तर बिचारणीय विषय यो हो कि बजार बढ्यो भन्दैमा कम्पनीको अवस्था नबुझी गरिने लगानीको निर्णयले ठुलो नोक्सानी व्यहोर्नु पर्ने अवस्था आउन सक्छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया