रसुवागढी हाइड्रोपावरले डाक्यो साधारण सभा

0
Shares

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड (RHPL) ले पुस २० गते सोमबार ८ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको मंसिर १६ गते मंगलबार सम्पन्न सञ्चालक समितिको बैठकले चिलिमे जलविद्युत कम्पनीको सभाहल, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजे सभा डाकेको हो ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा गत आर्थिक वर्ष २०७६।७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६।७७ को लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७७।७८ को लागि लेखापरीक्षक नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु उपर छलफल गरी पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि रसुवागढीले पुस १२ गते आइतबार बुकक्लोज मिति तोकेको छ । यसअनुसार पुस ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी मात्र साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछ ।

भौतिक प्रगति ७८ प्रतिशत मात्र सम्पन्न भएको कम्पनीले शेयरधनीलाई कुनै लाभांश वितरण गर्नसक्ने अवस्था छैन । आयोजना निमार्ण सम्पन्न भएपछि पनि कम्पनीको सञ्चित नोक्सानी नसकिँदासम्म लगानीकर्ताले लाभांश अवस्था रहन्न । २०७७ असार मसान्तसम्ममा निर्माण पूरा गर्ने योजना हाइड्रोले बनाएपनि सो अवधिमा आयोजना सम्पन्न हुन त परको कुरा थप भौतिक प्रगति समेत नभएपछि आयोजनाको २२ प्रतिशत निमार्णको काम सम्पन्न हुन चालु आवको अन्त्यसम्म लाग्ने देखिन्छ ।

रसुवाको गोसाईकुण्ड गाउँपालिका १ र २ मा निर्माणाधिन आयोजना १११ मेगावाटको हो । विद्युत खरिद बिक्री सम्झौता (पीपीए) मा उल्लेख भए अनुसार आयोजनाको लागत १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ हुने अनुमान गरिएकोमा विदेशी मुद्रा सटहीदर, प्राकृतिक विपत्ति, र बन्द हड्तालले आयोजनाको लागत बढ्ने वित्तीय विवरणमा उल्लेख छ । साथै पछिल्लो समय कोरोनाको कारण आयोजनाको काम बन्द हुँदा पनि थप आर्थिक भार व्योहोर्नुपर्ने अवस्था देखिएको छ । आयोजना स्थल विकट स्थानमा रहेकाले पहिरोको कारण समेत निमार्ण कार्यमा असर गरिरहेको छ ।

नेपाल विद्युत प्राधिकरणले आयोजनाको विद्युत हिउँदमा ८ रुपैयाँ ४० पैसा प्रतियुनिट र वर्षयाममा ४ रुपैयाँ ८० पैसा प्रतियुनिटको दरमा विद्युत खरिद गर्ने सम्झौता भैसकेको छ । यसबाट कम्पनीले वार्षिक ३ अर्ब २५ करोड रुपैयाँभन्दा धेरै आम्दानी हुने उल्लेख छ । आयोजना निर्माण भएर पूर्ण रुपमा विद्युत उत्पादन थालेको अवस्थामा हाइड्रोले वार्षिक ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत उत्पादन गर्नेछ ।

चुक्ता पूँजी ६ अर्ब १५ करोड ७८ लाख ९० हजार रुपैयाँ रहेको हाइड्रोको प्रतिशेयर आम्दानी पनि ०.३२ पैसा रहेको छ । जगेडा कोष १९ करोड ६८ लाख ५८ हजार रुपैयाँले ऋणात्मक छ । कम्पनीको जगेडा कोष नोक्सानी रहेकाले कम्पनीको प्रतिशेयर नेटवर्थ ९६.८० रुपैयाँ छ ।

आयोजनामा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत साधारण शेयर स्वामित्व रहेको छ। जसमध्ये नेविप्राको १८ प्रतिशत, चिलिमेको ३२.७९ प्रतिशत, रसुवाको स्थानीय तहको ०.२१ प्रतिशत गरि ३ अर्ब ४८ करोड ९४ लाख ७१ हजारको संस्थापक शेयर र सर्वसाधारणका लागि २ अर्ब ६६ करोड ८४ लाख १९ हजार गरि कूल ६ अर्ब १५ करोड ७८ लाख ९० हजारको शेयर स्वामित्व छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ मंसिर २०७७, सोमबार  १२ : ४१ बजे