केही समयअघि समस्याग्रस्त संस्थाबाट फुकुवा भएको नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्यमा हरेक दिन सकारात्मक सर्किट लाग्ने गरेको छ । प्रतिशेयर आम्दानी ७ रुपैयाँ नोक्सानीमा रहेको बैंकको हकप्रदका पछि लगानीकर्ता लागेपछि दैनिक मूल्य बढेर कारोबार हुने गरेको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४७ लाख रुपैयाँ नोक्सानीमा रहेको बैंकले चुक्ता
वृद्धिका लागि एक बराबर एक अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने योजनामा छ । बैंकले हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन गरिसकेको छ । बैंकको सो हकप्रद आउने भएपछि लगानीकर्ता संस्थाको वित्तीय अवस्थालाइ समेत ध्यानमा नराखी उच्च मूल्यमा शेयर कारोबार गरेका हुन् ।
नेपाल राष्ट्र बैंकले गत साउनमा मात्र समस्याग्रस्त संस्थावाट हटाएर एक बरावर एक कित्ता हकप्रद शेयर जारी गर्न अनुमति दिएको छ । बैंकले हकप्रद शेयर निष्काशनको अनुमती माग्दै नेपाल धितोपत्र बोर्डमा पनि निवेदन दिएको छ । हाल ६ करोड ५६ लाख १३ हजार रुपैयाँ चुक्त पूँजी रहेको बैंकको हकप्रदपछि पनि चुक्ता पूँजी १३ करोड १२ लाख रुपैयाँ पुग्नेछ । बैंकले आगामी २ वर्ष भित्र ५० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउनुपर्छ ।
बैंकले आफैँ कारोबार गर्न वा मर्जरमा जान पनि ५० करोडको चुक्ता पूँजी पर्याउनुपर्ने हुन्छ । त्यसका लागि संस्थालाई २ वर्षको अवधि रहेको छ । यो अवधिमा पनि तोकिएको चुक्ता पूँजी पुर्याउन बैंकलाइ सहज छैन । चुक्ता पूँजी नपुर्याएको खण्डमा संस्थालाई पुन: केन्द्रीय बैंकले कारबाही गर्छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यहि मंसिर १८ गते देखि कारोबार सुरु भएको बैंकको शेयर कारोबार यसभन्दा अघि २०७० पुस २२ गते बैंकको प्रतिकित्ता शेयर ४३५ रुपैयाँमा कारोबार भएको छ । पटक करिब ७ वर्षपछि २०७७ मंसिर १८ गते कारोबार भएको सो दिन बैंकको आर्थिक वर्ष आर्थिक वर्ष २०६६/६७ को नाफाबाट शेयरधनीलाई दिएको ५० प्रतिशत बोनस शेयर सूचीकण भइ शेयर मूल्य समायोजन गरेर प्रतिकित्ता २९५ रुपैयाँमा कारोबार भएको छ ।
नेप्सेमा मंसिर २१ गतेको शेयर कारोबारमा प्रतिकित्ता ५ रुपैयाँ मात्र बढेको छ । त्यसपछि नेप्सेमा बैंकको ४ दिन कारोबार भएको छ । कारोबार भएका पछिल्ला ४ दिन नै बैंकको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ । अर्थात बढ्दो सर्किट प्रयोग भएको अवस्था छ । यो अवधिमा बैंकको ८ हजार ९१० कित्ता शेयर खरिद बिक्री भएको छ ।
राष्ट्र बैंकले गत साउन ८ गते नै नारायणीलाई समस्याग्रस्तको सूचीबाट हटाएको हो । बैंकको खराब कर्जा ४० प्रतिशतभन्दा बढी भएको र तोकिएको चुक्ता पूँजी नपुगेको कारण बैंक समस्याग्रस्त घोषणा भएको थियो । समस्याग्रस्त भएपछि राष्ट्र बैंकले नारायणी बैंकलाई ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएर कारोबार बन्द गराएको थियो । तोकिएको पूँजीको २५ प्रतिशत पूँजी पुर्याएपछि राष्ट्र बैंकले समसस्या ग्रस्तबाट फुकुवा गरेको हो । बाँकी ७५ प्रतिशत पूँजी आगामी २ वर्षभित्र पुर्याउनपर्ने हुन्छ ।
बैंक २०५८ साल काक्तिक १ गते ३ करोड रुपैयाँ पूँजीले चितवनको रत्ननगरमा स्थापना भएको थियो । राष्ट्र बैंकबाट ३ जिल्ले कार्यक्षेत्रको अनुमति पाएको बैंकले चितवन, मकवानपुर र नवलपरासीमा वित्तीय सेवा प्रवाह गरिरहेको थियो । बैंकको तत्कालिन अध्यक्ष उत्तमप्रसाद झा र बैंकका तत्कालिन महाप्रवन्धक बीरेन्द्र श्रेष्ठको मिलोमतोमा करिब २४ करोड रुपैयाँ हिनामिना भएपछि समस्यामा आएको थियो।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया