ब्रोकरको जमानीमा शेयर कर्जा दिन बैंकहरु सक्रिय, किने लगत्तै रोक्का

0
Shares

कोरोना भाइरसका कारण अस्तव्यस्त आर्थिक गतिविधिका कारण कर्जाको माग ठप्प भएपछि बैंक वित्तीय संस्था शेयर बजारमा सक्रिय भएका छन् । लगानीका अन्य क्षेत्र नभएपछि ब्रोकरले गर्ने मार्जिन ट्रेडिङको काम वित्तीय संस्थाहरुले नै गर्न थालेका हुन् ।

ब्रोकरले गर्नुपर्ने मार्जिन ट्रेडिङको काममा पछिल्लो समय बैंक वित्तीय संस्थाले प्रतिस्पर्धा नै गरेर लगानी गर्दै आएका छन् । धितोपत्र दलाल कम्पनीले मार्जिन ट्रेडिङको काम गर्ने अनुमति लिएर पनि काम नगरी बसेका छन् । तर, अहिले सोही प्रकृतिको काम बैंक वित्तीय संस्थाले प्रतिस्पर्धा गर्दै गरेका हुन् ।

पछिल्लो समयमा नयाँ उचाइ बनाएको शेयर बजारमा वाणिज्य बैंक तथा विकास बैंकहरुले धितोपत्र दलाल कम्पनीको जमानीमा लगानीकर्तालाई शेयर खरिद गर्नका लागि कर्जा दिने गरेका हुन् ।

यस्तो कर्जामा कारोबार गर्दा लगानीकर्ताले बैंकसंग सम्झौता गरेर शेयर खरिद गर्छन् । सो शेयर खरिद गरेबापतको रकम बैंकले ब्रोकरलाई दिन्छ । ब्रोकरले भुक्तानी पाएपछि लगानीकर्ताले किनेको शेयर धितोको रुपमा रोक्का राख्ने काम धितोपत्र दलाल कम्पनीले गर्छ ।

कोरोना भाइरसका कारण आर्थिक गतिविधि ठप्प भएपनि शेयर बजार भने निरन्तर उकालो लागि रह्यो । अर्थतन्त्र भन्दा विपरित शेयर बजार निरन्तर उकालो लागेपछि नेपाल राष्ट्र बैंकले नीतिगत कडाइ गरेपछि पछिल्ला दिनहरुमा बजारमा केही करेक्शन आएको छ । बजारमा निरन्तर सुधार आउनुमा सहज कर्जा, सस्तो ब्याजदर, लगानीका अन्य क्षेत्र नहुनु, आर्थिक गतिविधिमा आएको सुस्तताले सबै क्षेत्रको पैसा शेयर बजारमा आउँदा बजार सूचक उच्च दरमा बढ्यो ।

केही बैंक तथा विकास बैंकले धितोपत्र दलालहरुसँग सम्झौता गरी लगानीकर्तालाई शेयर किनेको रकम अग्रिम रुपमा ऋण भुक्तानी गरिदिन्छन् । बैंकले लगानीकर्तालाई कर्जा सीमा सहितको सम्झौता गराएर धितोपत्र दलालबाट शेयर खरिदको प्रमाण प्राप्त गरेपछि १२० दिनको औसत मूल्यको ७० प्रतिशत रकम उपलब्ध गराउँदै आएका छन् । तर, बाँकी रहेको कम्तिमा ३० प्रतिशत रकम भने शेयर लगानीकर्ता आफैँले शेयर दलाललाई बुझाउनुपर्ने एक धितोपत्र दलालले बताए । “शेयर खातामा आएको तीन कार्यदिन भित्र रोक्का गरेर बैंकलाई बुझाउनुपर्ने जिम्मा हामीलाइ हुन्छ,” ती धितोपत्र दललाले भने ।

यस्तो कर्जा लिँदा लिन कबुल गरेको रकम बराबरको सेवा शुल्क भने अग्रिम रुपमा बुझाउनुपर्छ । शेयर किन्दै कर्जा सीमा बराबरको रकम उपभोग गर्न सकिने सुविधा रहेको छ । यसरी किनेर रोक्का राखिएको शेयर दलालकै जमानतमा फुकुवा गरेर बिक्री गर्न सकिने हुँदा हाल प्रचलनमा रहेको शेयर धितो कर्जा भन्दा धेरै सहज भएको लगानीकर्ताहरु बताउँछन् ।

बैंकमा ब्याजदर सस्तो हुँदा निक्षेप समेत झिकेर शेयर बजारमा लगानी गर्ने प्रवृत्ति बढेकोे छ । यसले पनि शेयर बजारमा आउने पैसाको चाप दिनानुदिन बढेको छ । दैनिक पाँच अर्ब भन्दा बढी रकमको कारोबार हुँदा ब्यक्तिगत तवरमा लगानी गरिरहेकाहरुको संख्या अधिक छ । अहिले बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंंकको कडाई र पुस मसान्तमा नाफा देखाउनुपर्ने बाध्यताका कारण आफुले किनेका शेयर बिक्री गरेको अवस्था छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।