ओभर ड्राफ्ट कर्जामा कडाई, बहुसंस्थाबाट लिएपनि ५० लाख मात्र

0
Shares

नेपाल राष्ट्र बैंकले ओभर ड्राफ्ट कर्जामा कडाई गरेको छ । केन्द्रीय बैंकले यस्तो कर्जा बहुसंस्था मार्फत लिदापनि ५० लाखको सीमा नाघ्न नहुने व्यवस्था गरेको हो।

बैंक तथा वित्तीय संस्थाबाट प्रयोजन नखुलेका कुल व्यक्तिगत अधिविकर्ष कर्जा अधिकतम प्रति व्यक्ति ५० लाखसम्म मात्र प्रवाह गर्न सक्छन।

तर, कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दाका बखत उक्त सीमा ननाघेको यकिन गरेर मात्र कर्जा प्रवाह गर्नु व्यवस्था केन्द्रीय बैंकले गरेको हो ।

यसभन्दा अघि कुनै पनि ग्राहकले एक संस्थामा व्यक्तिगत कर्जाको रुपमा ५० लाख रुपैयाँसम्म ओभर ड्राफ्ट लिन सक्ने व्यवस्था थियो । तर, नयाँ व्यवस्था अनुसार जती वटा संस्थाबाट ओभरड्राफ्ट कर्जा लिएको भएपनि एक व्यक्तिको हकमा ५० लाख भन्दा धेरै हुने छैन । कुनै एक व्यक्तिले कुनै एक बैंक वा वित्तीय संस्थाबाट २० लाख व्यक्तिगत अधिविकर्ष कर्जा लिएमा सोहि वा अन्य कुनै बैंक वा वित्तीय संस्थाबाट थप ३० लाख रुपैयाँसम्म मात्र व्यक्तिगत अधिविकर्ष कर्जा लिन पाउनेछ।

यसअघि बहुबैंकिङ कारोबार गरी उक्त सीमाभन्दा बढी कर्जा लिएका ऋणीहरुले २०७८ असार मसान्तसम्म कुल व्यक्तिगत अधिविकर्ष कर्जा ५० लाखसम्म कायम गर्नु पर्नेछ । तोकिएको सीमा नाघी कर्जा प्रवाह गरेमा बैंक तथा वित्तीय संस्थाले उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने व्यवस्था समेत केन्द्रीय बैंकले गरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले निश्चित प्रयोजन नखुलेका अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा, शेयरको धितोमा प्रदान गरिएको कर्जा लगायत जुनसुकै शीर्षकका व्यक्तिगत कर्जाहरु प्रतिग्राहक ५० लाखसम्म मात्र प्रवाह गर्न सक्नेछन् । तर, इजाजतपत्र प्राप्त संस्थाले मुद्दती निक्षेप रसिद, सुनचाँदी एवं नेपाल सरकार वा नेपाल राष्ट्र बैंकको ऋणपत्रको धितोमा कर्जा प्रदान गर्न, र शत प्रतिशत नगद मार्जिनमा जमानत जारी गर्न यस व्यवस्थाले बाधा पु¥याएको मानिने छैन ।

बैंक तथा वित्तीय संस्थाले निश्चित प्रयोजन नखुलेका व्यक्तिगत कर्जाको विवरण त्रयमास समाप्त भएको १५ दिनभित्र केन्द्रीय बैंकको सम्बन्धित सुपरिवेक्षण विभागमा पेश गर्नु पर्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।