पाँच स्थानीय तहमा अझै वाणिज्य बैंकका शाखा पुग्न बाँकी

0
Shares

देशभरका कूल ७५३ स्थानीय तहमध्ये ५ स्थानीय तहमा अझै वाणिज्य बैंकको शाखा पुग्न नसकेको नसकेको तथ्याङ्क सार्वजनिक भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को चार महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा आधारित प्रतिवेदनमा सो उल्लेख गरिएको छ ।

राष्ट्र बैंकका अनुसार प्रदेश १ को १, बाग्मती प्रदेशको २, कर्णाली प्रदेशको १ र सुदूर पश्चिम प्रदेशको १ स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार हुन बाँकी रहेको छ ।

केन्द्रीय बैंकका अनुसार चालु आर्थिक वर्षको कात्तिकसम्ममा ७५३ स्थानीय तहमध्ये ताप्तेजुङको मिक्वाखोला, धादिङको रुवी भ्याली, नेत्रावती, जाजरकोट जिल्लाको जुनीचाँदे र बझाङ जिल्लाको काँडा गाउँपालिकामा गरी पाँच स्थानीय तहमा बैंकहरुले अझै शाखा विस्तार गर्न नसकेका हुन् ।

कुल ७५३ स्थानीय तहमध्ये ७४८ स्थानीय तहमा भने वाणिज्य बैंकको शाखा स्थापना भैसकेको केन्द्रीय बैंकले जनाएको छ । २०७६ कार्तिकसम्म ७४१ स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तथार भएकोमा पछिल्लो एक वर्ष अवधिमा थप ८ स्थानीय तहमा शाखा विस्तार भएको राष्ट्र बैंकले जनाएको छ ।

२०७७ कात्तिकसम्ममा प्रदेश १ का १३७ स्थानीय तहमध्ये १३६ मा वाणिज्य बैंकको शाखा स्थाजना भएको छ । यसैगरी प्रदेश २ सबै स्थानीय तह, बाग्मती प्रदेशका ११९ स्थानीय तहमध्ये ११७, गण्डकी प्रदेश (८५) र लुम्बिनी प्रदेशका (१०९) सबै स्थानीय तह, कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये ७८ र सुदूर पश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये ८७ वटा स्थानीय तहमा बैंकका शाखा पुगेका छन् ।

राष्ट्र बैंकका अनुसार कात्तिकसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको संख्या १४६ कायम भएका छन् । बैंकका अनुसार २७ वाणिज्य बैंक, १९ विकास बैंक, २१ वित्त कम्पनी, ७८ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक संचालनमा रहेका छन् ।

यस अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ९ हजार ९३७ पुगेको छ । असारमसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ९ हजार ७६५ रहेकोमा यस अवधिमा १७२ वटा शाखा विस्तार भएको हो ।

  • नीति कार्यान्वयन फितलो हुँदा ४ आर्थिक वर्षसम्म पनि लक्ष्य भेट्टाउन कठिनाई

सरकारी नीति अनुसार केन्द्रीय बैंकले आर्थिक वर्ष २०७३।७४ को मौद्रिक नीति मार्फत हरेक स्थानीय तहमा वाणिज्य बैंकको स्थापना गर्ने लक्ष्यका साथ नीति सार्वजनिक गरेको थियो ।  तर नियामक निकायको कार्यान्वय पक्ष फितला हुँदा सरकारी लक्ष्य भेट्टाउन साढे तीन आर्थिक वर्ष बितिसक्दा पनि सम्भव हुन सकेको छैन ।

राष्ट्र बैंकले मौद्रिक नीति मार्फत २०७४ असारभित्र सबै स्थानीय तहमा शाखा सञ्चालनमा ल्याइसक्नुपर्नेछ निर्देशन दिएपनि चार वर्ष बित्न लाग्दा समेत कार्यान्वयन पक्षमा कडाई हुन नसक्दा अझैपनि सबै स्थानीय तहमा शाखा विस्तार हुन नसकेको हो ।

आव २०७४/७५ को मौद्रिक नीति सार्वजनिक गर्दा निर्देशन पालना नभएमा राष्ट्र बैंक ऐन २०५८ अनुसार कारवार्ही गर्ने बताएको नेपाल राष्ट्र बैंकले सोही अनुसारको कार्यान्वयन गर्न नसक्दा लक्ष्य भेट्टाउन नसकिएको हो ।

चालु आवको अन्त्यसम्ममा पनि सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार हुनेमा आशंका व्यक्त गरिएको छ । शाखा विस्तार हुन बाँकी सबै विकट र भौतिक पुर्वाधारमा समेत कमजोर क्षेत्रहरु रहेका छन् ।

बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माका अनुसार धादिङको नेत्रावती र गाउँपालिकामा पुस महिनाभित्रै बैंकको शाखा विस्तार हुने चरणमा रहेको छ ।

कार्यकारी निर्देशक शर्माले जाजरकोटको जुनिचाँदे गाउँपालिकामा केन्द्र कहाँ राख्ने विषयमा विवादका कारण शाखा स्थापनामा ढिलाई भएको नोटबनारलाई बताए । उनका अनुसार यो विवादको मुद्दा सर्वोच्च अदालतमा विचराधीन अवस्थामा नै रहेको र मुद्दाको टुंगो नलाग्दा शाखा स्थापनामा अप्ठ्यारो भएको हो ।

ताप्लेजुङको मिक्काखोला, धादिङको रुवीभ्याली, र बझाङ साइपालको काँडा गाउँपालिका पनि धेरै विकट क्षेत्र हुन् । सो स्थानहरुमा पातलो मानव बस्ती र बैंकको शाखा स्थापनाका लागि आवश्यक पर्ने पुर्वाधारका कारण नै सो स्थानहरुमा तत्काल शाखा खोल्न सम्भव देखिएन,’ बैंकर्स संघका कार्यकारी निर्देशक शर्माले भने ।

धादिङको रुवीभ्याली गाउँपालिका गणेश हिमालको फेदी हो । हिमाल भएकाले गाउँपालिकाको कार्यालय पनि सदरमुकाम धादिङबेंसीबाटै सञ्चालन हुँदै आएका यसकारण बैंक शाखा खोल्न ढिलाइ भएको संघको तर्क छ ।

देश संघीय संरचनामा गएपछि बनेका ७०० स्थानीय तहमध्ये सो समयमा साढे २ सय स्थानीय तहमा मात्र वाणिज्य बैंकको शाखाको पहुँच पुगेको थियो । संविधानमा सबै तहका सरकारी कारोबार वाणिज्य बैंकको शाखा मार्फत मात्र गर्नुपर्ने व्यवस्था छ । जसले गर्दा विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त वित्तीय संस्थाले सरकारी कारोबार गर्न पाउँदैनन् । यहीकारण स्थानीय तहमा सरकारी कारोबार सञ्चालनका लागि पनि वाणिज्य बैंकको उपस्थिति आवश्यक भएको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ पुस २०७७, मंगलबार  १६ : ०६ बजे