बैंकहरुले रिभर्स रिपो मार्फत कमाउन खोज्दा राष्ट्र बैंकले लिएन सबै रकम

0
Shares

नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता खिच्न बिहीबार ५० अर्ब बराबरको रिभर्स रिपो निष्काशन गरेपनि साढे ९ अर्बको मात्र लिएको छ । बैंक/ वित्तीय संस्थाले उच्च ब्याजदर माग गर्दै आवेदन दिएपछि केन्द्रीय बैंकले त्यसलाई स्वीकार नगरेको हो ।

केन्द्रीय बैंकले ९० दिनको लागि ५० अर्बको रिभर्स रिपो निष्काशन गर्दा २७ बैंक वित्तीय संस्थाले कुल २४० आवेदन मार्फत ५६ अर्ब १० करोड रुपैयाँ राष्ट्र बैंक पठाउने गरी आवेदन दिएका थिए । तर, बैंक वित्तीय संस्थाले ५ प्रतिशतसम्म ब्याजदर मागेपछि केन्द्रीय बैंकले ९ अर्ब ५४ करोड मात्र लिएको राष्ट्र बैंक स्रोतले बतायो ।

“बैंकहरुले लगानी गर्न नपाएको हुनाले अधिक तरलता देखिएको हो,” स्रोतले भन्यो,“बैंकहरुले रिभर्स रिपो मार्फत उच्च ब्याजदर माग गरेर आम्दानी गर्न खोजेको देखियो ।” बैंकहरुले लगानीका अवसर नपाएको समयमा रिभर्स रिपोलाइ पनि अबसरको रुपमा लिदाँ राष्ट्र बैंकले माग गरेको पैसा बजारबाट लिन नसकेको उनको तर्क छ ।

पछिल्ला दिनहरुमा कोरोना भाइरसको त्रास पनि कम हुदै गएको र आर्थिक गतिविधिमा पनि सुधार आउन थालेको छ । त्यसले गर्दा पनि बैंकहरुमा कर्जाको मागमा केही सुधार आउन थालेको छ । तर, आगामी दिनमा कर्जाको माग बढ्ने नबढ्नेमा बैंकरहरुले नै अनुमान लगाउन नसकेको रिपोमा मागेको ब्याजदरले देखाउछ ।

तर, केन्द्रीय बैंकले बिहीबार ०.७५ देखि १.५४ प्रतिशतसम्मको आवेदनको रकम मात्र उठाएको छ । यो दिनको रिभर्स रिपोको औसत ब्याजदर १.२८ कायम भएको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले लगानी गर्न पाउने गरी रिभर्स रिपो जारी गरेको थियो । राष्ट्र बैंकले ९० दिनका लागि आगामी चैत ११ गते परिपक्व हुने गरी उक्त रिभर्स रिपो जारी गरेकोे हो ।

वित्तीय क्षेत्रमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले अन्तर बैंकिङ ब्याजदरलाई नियन्त्रणमा राख्न तरलता प्रशोचन गर्दै आएको छ । हाल वित्तीय क्षेत्रमा करिब १८७ अर्ब रुपैयाँ अधिक तरलता छ । यो मध्ये केही दिन अघि मात्र प्रशोचन गरेको ८० अर्बको निक्षेप उपकरण पनि परिपक्क हुने अवस्था पुगेको छ । त्यो बाहेक अहिले वित्तीय प्रणालीमा १०७ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।