व्यवसाय विस्तारमा पुरानाभन्दा नयाँ जीबन बीमा कम्पनी आक्रमक

0
Shares

दशकौंदेखि बीमा व्यवसाय सञ्चालन गदै आएका भन्दा पछिल्लो समयमा स्थापना भएका जीवन बीमा कम्पनीहरु व्यवसाय विस्तारमा आक्रमक देखिएका छन् ।

चालु आर्थिक वर्षको मंसिर महिनाको मात्र तथ्याङ्कका आधारमा पछिल्लो समय स्थापित कम्पनीहरुको नयाँ पोलेसी बिक्रीदर धेरै देखिएको हो ।

बीमा समितिले उपलब्ध गराएको जीबन बीमा कम्पनीहरुको चालु आवको पाँच महिनाको तथ्याङ्कका आधारमा नयाँ बीमा कम्पनीहरु आक्रामक रुपमा थप व्यवसाय विस्तारका अघि बढेको देखिएको छ । सबैभन्दा धेरै प्रतिशतले नयाँ व्यवसाय विस्तार गर्ने सूचीको शीर्ष चारभित्र सबै नयाँ जीबन बीमा कम्पनी समेटिएका छन् । आठ बीमा कम्पनीको प्रथम बीमाशुल्क संकलनको वृद्धिदर जीबन बीमा क्षेत्रको औषतभन्दा धेरै छ ।

  • मंसिरमा महालक्ष्मीको नयाँ व्यवसाय वृद्धिदर सबैभन्दा धेरै

बीमा समितिका अनुसार सबैभन्दा कान्छो जीबन बीमा कम्पनीको रुपमा स्थापित महालक्ष्मी लाइफ इन्स्योरेन्सको मंसिरमा नयाँ व्यवसाय विस्तार सबैभन्दा धेरै छ । यस कम्पनीले चालु आर्थिक वर्षको मंसिर महिनामा पुराना तथा नयाँ सबै कम्पनीलाई पछि पार्दै पहिलो नम्बरमा छ । यसैगरी नयाँ कम्पनीहरु ज्योति लाइफ, सानिमा लाइफ, प्रभु लाइफ इन्स्योरेन्स पनि प्रथम बीमाशुल्क वृद्धिदर गर्ने कम्पनीको अग्रस्थानमा देखिएका छन् ।

महालक्ष्मी लाइफले कार्तिक महिनाको तुलनामा ५६.२५ प्रतिशतले प्रथम बीमाशुल्क वृद्धि गर्दै मंसिरसम्ममा २५ करोड रुपैयाँ संकलन गरेको छ । चालु आवको कात्तिक महिनासम्ममा कम्पनीले १६ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेकोमा पछिल्लो १ महिना (मंसिरमा मात्रै) मा ९ करोड थप संकलन गरेको हो ।

महालक्ष्मीपछि धेरै व्यवसाय विस्तार गर्ने कम्पनीको रुपमा अर्को नयाँ बीमा कम्पनी ज्योति लाइफ इन्स्योरेन्स छ । कम्पनीले यस अवधिमा ४२.११ प्रतिशतले व्यवसाय वृद्धि गर्दे ५४ करोड रुपैयाँ प्रथम बीमा शुल्क उठाउन सफल भएको छ । इन्स्योरेन्सले चालु आवको कात्तिक महिनासम्ममा ३८ करोड रुपैयाँ मात्रै बीमा शुल्क संकलन गरेकोमा पछिल्लो महिनामा १६ करोडले ब्यवसाय बढाएको हो ।

व्यवसाय विस्तारका आधारमा सानिमा लाइफ इन्स्यारेन्सले तेस्रो स्थानमा छ । सानिमा लाइफले मंसिरमा मात्रै ७ करोड रुपैयाँले प्रथम बीमाशुल्क वृद्धि गर्दै कुल ४२ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको हो ।

त्यस्तै धेरै व्यवसाय विस्तार गर्ने चौंथो कम्पनीको रुपमा प्रभु लाइफ इन्स्योरेन्स रहेको छ । प्रभु लाइफले मंसिसम्म कुल २५ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले कार्तिकसम्ममा १८ करोड प्रथम बीमाशुल्क संकलन गरेकोमा पछिल्लो एक महिनामा ७ करोडले बढाएको हो ।

पुराना जीबन बीमा कम्पनीमध्ये सूर्या लाइफ अगाडि छ । गत कार्तिकसम्मको तुलनामा कम्पनीले ३८.६४ प्रतिशतले प्रथम बीमाशुल्क बढाएर ६१ करोड संकलन गरेको छ । कार्तिकमा ४४ करोड संकलन गरेको कम्पनीले मंसिरमा १७ करोड रुपैयाँले वृद्धि गरेको हो । नेपाल लाइफमा लामो समय सीईओ भएर काम गरेका विवेक झा सूर्या लाइफमा सीईओ भएर आएपछि कम्पनीको व्यवसाय विस्तारमा सुधार आएको छ ।

तथ्याङ्क स्रोत: बीमा समिति

यसैगरी रिलायबल लाईफ, युनियन, नेपाल लाईफ र गुराँस लाईफले मंसिर महिनामा समग्र जीबन बीमा कम्पनीको वृद्धिदरभन्दा धेरैले प्रथम बीमाशुल्क संकलन बढाएका छन् ।  मंसिरमा जीबन बीमा कम्पनीहरुको औषत प्रथम बीमाशुल्क वृद्धिदर २७.९१ प्रतिशत रहेकोमा यी कम्पनीहरुको २९.४१ देखि ३५.२९ प्रतिशतसम्मको ग्रोथ देखिएको छ ।

रिलायन्स लाइफको सबैभन्दा कम प्रतिशतको वृद्धि देखिएको छ । कम्पनीले कार्तिकसम्म ३२ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेकोमा मंसिर महिनामा पनि समान देखिएको छ । मंसिरमा कम्पनीको प्रथम बीमाशुल्क संकलन एक करोडभन्दा कम मात्र बढेको छ ।

मंसिर महिनामा मात्रै जीबन बीमा कम्पनीहरुले कुल ३ अर्ब २४ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन् । जसमध्ये नयाँ दश कम्पनीले १ अर्ब २ करोड रुपैयाँ र पुराना ९ कम्पनीले २ अर्ब २२ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन् । पुराना ९ कम्पनीले संकलन गरेको प्रथम बीमाशुल्कमध्ये पनि नेपाल लाइफको हिस्सा ४१.४४ प्रतिशत रहेको छ । नेपाल लाइफले मंसिरमा मात्रै ९२ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ ।

  • मंसिरसम्म कुल १४ अर्ब ८५ करोड प्रथम बीमाशुल्क संकलन, नयाँको एक अर्ब माथि

समितिको तथ्याकंअनुसार चालु आर्थिक वर्षको पाँच महिनासम्मको अवधि (मंसिर महिनासम्म) मा सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले कुल १४ अर्ब ८५ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका छन् ।

चालु आवको चार महिना अर्थात कात्तिक महिनामा जीवन बीमा कम्पनीहरुले ११ अर्ब ६१ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेकोमा २७.९१ प्रतिशत अर्थात ३ अर्ब २४ करोडले बढाएका हुन् ।

मंसिर महिनासम्ममा नयाँ १० जीवन बीमा कम्पनीले ५ अर्ब ३१ करोड रुपैयाँ (३५.७६ प्रतिशत) र पुराना ९ कम्पनीले ९ करोड ५४ लाख रुपैयाँ (६४.२४ प्रतिशत) प्रथम बीमा शुल्क उठाउन सफल भएका छन् ।

  • बीमा शुल्क संकलनमा नेपाल लाइफको अग्रता कायमै

सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीले मंसिरसम्ममा १४ अर्ब ८५ करोड प्रथम बीमा शुल्क संकलन गरेका छन् । ती मध्ये नेपाल लाइफ इन्स्योरेन्सको प्रथम बीमाशुल्क रकमका आधारमा सबैभन्दा धेरै छ ।

नेपाल लाइफले मंसिर महिनासम्ममा कुल ३ अर्ब ६२ करोड रुपैयाँ (इन्डष्ट्रिजको २४.३८ प्रतिशत) प्रथम बीमा शुल्क संकलन गरेको छ । चालु आवको कात्तिक महिनासम्ममा इन्स्योरेन्सले २ अर्ब ७० करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो ।

त्यस्तै, नेपाल लाइफ पछि लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी), नेशनल लाइफ र यूनियन लाइफ इन्स्योरेन्स रहेका छन् । यी कम्पनीहरुले पाँच महिनामा एक अर्ब भन्दा बढी बीमा शुल्क संकलन गर्न सफल भएका छन् ।

एलआइसीले एक अर्ब ४६ करोड, नेशनल लाइफले एक अर्ब ४२ करोड र नयाँ जीबन बीमा कम्पनीको रुपमा स्थापित यूनियन लाइफले एक अर्ब २६ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका छन् ।

मंसिरसम्ममा एशियन लाइफ, रिलायबल लाइफ, सूर्या लाइफ, प्राइम लाइफ, ज्योति, सिटिजन्स र मेट लाइफको प्रथम बीमाशुल्क संकलन रकम ५० करोडभन्दा धेरै छ । गुरासँ लाइफ, आईएमई लाईफ र राष्ट्रिय बीमा संस्थानको समान ४४ करोड रहेको छ भने सानिमा लाइफ, सन नेपाल लाइफ, रिलायन्स लाइफ महालक्ष्मी लाइफ र प्रभु लाइफले २५ देखि ४२ करोड रुपैयाँसम्म प्रथम बीमाशुल्क संकलन गरेका छन् । पुर्वाधार, पुरानो सम्बन्ध, र दक्ष जनशक्तिका कारण पुराना कम्पनीहरुलाई नयाँको तुलनामा बीमाशुल्क संकलन गर्न सजिलो मानिन्छन् ।

  • प्रथम बीमाशुल्क भनेको के हो ?

प्रथम बीमाशुल्क भनेको कम्पनीहरुले नयाँ ग्राहकहरुबाट संकलन गर्ने पहिलो प्रिमियम (एफपिआर) रकम हो । यसरी बीमा कम्पनीहरुले बिक्री गरेको सुरुवातको किस्ता वापत प्राप्त हुने रकम नै प्रथम बीमशुल्क हो ।

बीमा कम्पनीहरुमा ग्राहकले बीमालेख खरीद गर्दा सुरुमा पहिलो किस्ता वापतको प्रिमियम तिर्छन् भने थप प्रिमियम भने १ महिना ३ महिना, ६ महिना वा १ वर्षमा तिर्ने गरी खरीद गरेका हुन्छन् । बीमा कम्पनीहरुले दोस्रो वा सो भन्दा पछि संकलन गर्ने बीमाशुल्कलाई भने नबिकरण बीमाशुल्क भनिन्छ ।

यसरी पहिलो किस्ता (प्रथम बीमाशुल्क) वापत संकलन हुने प्रिमियम र नविबरण बीमा वापत प्राप्त हुने प्रिमियम शुल्कलाई जीवन बीमा कम्पनीहरुको वित्तीय विवरणमा देखाउने तरिका फरक/फरक हुन्छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।