तरलता व्यवस्थापनमा राष्ट्र बैंकलाई सकस, २० अर्ब माग्दा बैंकहरुले बुझाए ७८ अर्ब १५ करोड

0
Shares

बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम (अधिक तरलता) बढेपछि राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बजारबाट खिचेको छ। राष्ट्र बैंकले बिहीबार उक्त रकम वित्तीय प्रणालीबाट खिचेको हो ।

वित्तीय क्षेत्रमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले अन्तर बैंकिङ ब्याजदरलाई नियन्त्रणमा राख्न तरलता प्रशोचन गर्दै आएको छ । राष्ट्र बैंकका अनुसार वित्तीय प्रणालीबाट २० अर्ब रुपैयाँ ताने पनि अझै बजारमा झण्डै डेढ खर्ब तरलता छ ।

केन्द्रीय बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि बिहीबार २० अर्ब रुपैयाँ बराबरको २८ दिने रिभर्स रिपो जारी गरेको थियो । यसभन्दा अघि केन्द्रीय बैंकले ५० अर्बको रिभर्स रिपो निष्काशन गर्दा उच्च ब्याजदर मागेपछि पुरा बिक्री हुन सकेको थिएन।

बढ्दो रेमिट्यान्स आप्रबाह, आर्थिक गतिविधि पुर्ववत रुपमा नफर्केको हुनाले बैंक वित्तीय संस्थामा निक्षेप बढ्न गएको छ । यसले गर्दा पनि अधिक तरलताको समस्या कायम रहेपछि राष्ट्र बैंकले तरलता खिचेको हो

बैंक वित्तीय संस्थाहरुमा लगानी योग्य रकम प्रशस्त हुँदा राष्ट्र बैंकले २० अर्ब माग्दा ७८ अर्ब १५ करोड रुपैयाँ दिन तयार भएका हुन् । २० अर्बको रिभर्स रिपोका लागि २७ वटा बैंक तथा वित्तीय संस्थाले ७८ अर्ब १५ करोड रुपैयाँ प्रस्ताव गरेको थिए । २७ वटा बैंक वित्तीय संस्थाहरुले १९८ वटा आवेदन दिएका थिए । जसमा न्यूनतम ०.०७५० देखि ०.३२०० सम्म ब्याजदर माग गरिएको थियो । रिभर्स रिपोको ब्याजदर ०.२१८४ प्रतिशत कायम भएको छ।

गत पुस ९ गते पनि राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ बराबरको ९० दिने रिभर्स रिपो जारी गर्दा २७ बैंक तथा वित्तीय संस्थाले २४० आवेदनमार्फत ५६ अर्ब १० करोड दिन तयार भएका थिए । तर, बैंकरुले उच्च ब्याजदर माग गरेपछि राष्ट्र बैंकले ९ अर्ब ५४ करोड मात्र उठाएको थियो । जसको ब्याजदर १.२८ प्रतिशत कायम भएको थियो । यो साता रिभर्स रिपोकोे ब्याजदर समेत घटेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप थपिने अनुपातमा कर्जा प्रवाह कम भएपछि तरलता बढेको हो। रेमिट्यान्स आप्रवाहमा निरन्तर सुधार, ब्याज पूँजीकरण लगायतले वित्तीय प्रणालीमा लगानीयोग्य रकम बढेको हो।

बैंक तथा वित्तीय संस्थाहरुमा बैंकिङ्ग प्रणालीमा तरलता रकम अभाव देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्दछ। यस्तै अधिक रकम भएमा रिर्भस रिपो मार्फत तरलता खिच्ने गर्दछ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।