सत्तरी करोडमा खुलेको सनराइज बैंकको दश अर्बको यात्रा, आन्तरिक विवादले असर नगरेको संस्थागत प्रगति

0
Shares

आजभन्दा करिब १३ वर्ष अघि ७० करोड रुपैयाँ पूँजीमा सनराइज बैंकले २०६४ साल असोज २५ गते वाणिज्य बैंकको रुपमा कारोबार सुरु गरेको थियो । स्थापनाको करिब २ वर्षपछि बैंकले सर्वसाधारणबाट ३७ करोड ५० लाख रुपैयाँ पूँजी संकलन गरेको थियो । बैंकले साधारण शेयर निष्कासन गर्दा ३० भन्दा केही धेरै प्रतिशत निष्काशन गरेको भएपनि अहिले बैंकको सर्वसाधारण शेयर हिस्सा ४८.९० प्रतिशत र संस्थापक समुहको हिस्सा ५१.१० प्रतिशत रहेको छ ।

व्यावसायिक घराना दुगड समुहद्धारा प्रवद्र्धित बैंकले पूँजी वृद्धिका लागि हालसम्म ३ पटक हकप्रद शेयर निष्काशन गरेको छ । बैंकले १३ वर्षको अवधिमा चुक्ता पूँजी करिब ९ अर्ब रुपैयाँ पुर्याउनका लागि कायम रहेका शेयरधनीबाट थप पूँजी लगानीको माग तथा प्रतिफलको रुपमा बोनस शेयर वितरण गर्दै आएको छ । त्यसैगरी केही विकास बैंक तथा फाइनान्स कम्पनीलाई समेत बैंकले आफुमा विलय गराईसकेको छ ।

सनराइज बैंकले आफ्नो स्थापना भन्दा अघि नै सञ्चालन रहेको मात्र नभई आफुसँगै उदय भएका थप २ बैंकहरु सिटिजन्स बैंक र प्राइम कमर्सियल बैंकसँग समेत प्रतिस्पर्धा गरेर आफ्नो स्थान बनाउन ठूलो संघर्ष गर्नु पर्यो । स्थापनाको २ वर्षमा २१ शाखा मार्फत बैंकिङ्ग सेवा प्रदान गरेको सनराइज बैंकले हाल देशैभर १३९ शाखा मार्फत सेवा प्रदान गर्दै आएको छ । आफु भन्दा अग्रज र समकक्षी बैंकहरुसँग प्रतिस्पर्धा गर्दै आएको बैंकमा समय समयमा सञ्चालक समिति र व्यवस्थापक बीचमा हुने गरेका मतभेद नेपाल राष्ट्र बैंकसम्म पुग्दा पनि बैंकको नियमित काम तथा प्रगतिमा भने त्यसको ठूलो असर परेको देखिँदैन ।

स्थापनाको पहिलो वर्ष २ करोड ७२ लाख रुपैयाँ नोक्सानीमा रहेको बैंकले १३ औं वर्ष अर्थात आर्थिक वर्ष २०६६/६७ मा आइपुग्दा १ अर्ब ३६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ भने १९९.३० रुपैंयाँ बाट घटेर १४९.३५ रुपैयाँ कायम भएको छ ।

‘राइजिङ टू सर्भ’ भन्ने लक्ष्यका साथ स्थापना भएको बैंकले साना तथा मझौला व्यवसायमा हुने लगानीलाई प्राथमिकतामा राख्दै आएको छ । शहर केन्द्रित भन्दा पनि ग्रामीण भेगमा बैंकिङ्ग सेवा प्रदान गर्ने गरी स्थापना भएको बैंकले पछिल्लो समयमा प्रविधिमा आधारित सेवालाई पनि उत्तिकै जोड दिँदै आएको छ । हाल बैंकले १३९ शाखा, ५८ वटा शाखा रहित सेवा, १६१ भन्दा बढी एटीएम सञ्जाल र ११ वटा एक्स्टेन्सन काउण्टर मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । यस अर्थमा बैंकको आकार ठूलो भएको अवस्था छ ।

बैंक स्थापना हुँदा १२६ जनालाई रोजगारी प्रदान गरेकोमा करिब डेढ दशकको अवधिमा एक हजार ५०० जनालाई त प्रत्यक्ष नै रोजगारी प्रदान गरिरहेको छ । स्थापना हुँदा ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको बैंकले हालसम्म आइपुग्दा करिब एक खर्ब रुपैयाँ निक्षेप परिचालन गर्ने अवस्थामा आफुलाई उभ्याएको छ ।

सर्वसाधारणमा शेयर निष्काशनपछि दोस्रो बजारमा सूचीकृत बैंकको प्रतिकित्ता शेयर मूलय हालसम्म कै उच्च विन्दु अर्थात ९०० रुपैयाँको हाराहारीसम्म पुगेको थियो । यो अवधिमा बैंकको प्रतिकित्ता शेयरमूल्य न्यूनतम १४५ रुपैयाँ सम्म झरेको तथ्यांकले देखाउँछ । धितोपत्र बजार सूचकले हालसम्मै उच्च बिन्दु तय गर्दै गर्दा पनि बैंकको शेयरमूल्य भने २०७७ पुस २३ गते बिहीबार प्रतिकित्ता २५८ रुपैयाँ छ ।

बैंकले शेयरधनीलाई दिएको हालसम्मको उच्च प्रतिफल भनेको ३३.३३ प्रतिशत बोनस शेयर हो । चुक्ता पूँजी करिब ४ गुणासम्म वृद्धि गर्नुपर्ने भएपछि बैंकले आर्थिक वर्ष २०७२/७३ मा सो बोनस शेयर वितरण गरेको थियो । सोही वर्ष बैंकको शेयरमूल्य उच्चतम बिन्दुमा पुगेको थियो ।

बैंकले साधारण शेयर जारी गरेपछि हालसम्म लगानीकर्तालाई नियमित जस्तै प्रतिफल वितरण गर्दै आएको छ । बैंकले स्थापनाका पहिला २ आर्थिक वर्षहरु र आर्थिक वर्ष २०७०/७१ मा मात्र लगानीकर्तालाई प्रतिफल वितरण गर्न सकेन । सञ्चालनमा आएको १३ वर्ष मध्ये बैंकले १० आर्थिक वर्षमा लगानीकर्तालाई प्रतिफल वितरण गरेको अवस्था छ । यस क्रममा बैंकहले हालसम्मकै थोरै अर्थात ४ प्रतिशत प्रतिफल आर्थिक वर्ष २०६७/६८ मा वितरण गरेको थियो । बैंकको एक कित्ता शेयरका लागि १०० रुपैयाँ लगानी गरेका लगानीकर्ताले हालसम्म १३५ प्रतिशत प्रतिफल पाइसकेको अवस्था छ ।

बैंक स्थापनाको वर्ष आव २०७४/७५ मा ४ अर्ब २३ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले १३ वर्षपछि गत आर्थिक वर्ष २०७६/७७ मा ९४ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरी ८३ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा २ करोड ७२ लाख नोक्सानीबाट बैंक गत आव २०७६/७७ मा आइपुग्दा बैंकले १ अर्ब ३५ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आवमा बैंकको शुल्क तथा कमिसन आम्दानी एक अर्ब २८ करोड रुपैयाँ रहेको छ । बैंकले कोर बैंकिङ्ग व्यवसायबाट भन्दा पनि प्रदान गर्ने शुल्कबाट धेरै आम्दानी गरेको देखिन्छ । यसले बैंकको सेवा तुलनात्मक रुपमा महङ्गो रहेको देखिन्छ ।

बैंक पछिल्ला दिनहरुमा डिजिटल बैकिङ्ग सेवामा आक्रमक बन्दै गइरहेको छ । कोरोना भाइरसका कारण सेवा क्षेत्रले डिजिटल प्ल्याटफर्मलाई उच्चतम प्रयोग गरिरहेको अवस्थामा बैंकले पनि डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै सेवा प्रवाह गर्दै आइरहेको छ ।

भौतिक भन्दा पनि भर्चुल कारोबार तथा सेवा आदान प्रदान गर्ने अभ्यास बढेपछि सनराइज बैंकले पनि प्रविधिमा आधारित बैंकिङ सेवालाई केन्द्रमा राख्दै सेवा प्रवाह गर्दै आइरहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २४ पुस २०७७, शुक्रबार  १३ : ५३ बजे