उद्योग वाणिज्य महासंघ अध्यक्ष गोल्छा भन्छन्, ‘कर विवरण र बैंकको ऋण तिर्ने समय तीन महिना थपिनु पर्छ’


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिडका कारण समस्यामा परेको उद्योग व्यवसायबाट तिरिने करको विवरण बुझाउने अवधि थप गर्न सरकारसँग आग्रह गरेका छन् । भक्तपुर उद्योग वाणिज्य संघको ३३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै महासंघ अध्यक्ष गोल्छाले बैंकको ऋण तिर्ने म्याद पनि थप गरिदिन आग्रह गरेका हुन् ।

केही दिन अघि मात्र अर्थमन्त्रीलाई भेटेर उद्यमी व्यवसायीहरुको कर विवरण बुझाउने म्याद थप तीन महिना बढाउन र बैंकहरुलाई यही पौष मसान्त भित्र बुझाउनु पर्ने ऋण तिर्न तोकिएको समय अपर्याप्त भएकाले कम्तीमा तीन महिना पर सारिदिन पनि आग्रह गरेको गोल्छाले बताए ।

कोभिडका कारण साना तथा मझौला उद्योग व्यवसाय सवैभन्दा बढी प्रभावित भएको गोल्छाको भनाई थियो । ‘साना तथा मझौला उद्यम व्यवसायको पुनरुत्थानका लागि मौद्रिक नीति मार्फत आएका राहत कार्यक्रम विनाकुनै अवरोध र झन्झट लागू हुनुपर्ने कुरामा हामीले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छौं’ महासंघ अध्यक्ष गोल्छाले भने ।

साथै साना तथा मझौला उद्यमीलाई मौद्रिक नीति मार्फत घोषणा गरिएका राहत प्याकेज बाहेक पनि छुट्टै रिकभरी जस्तो कर छुट, विभिन्न अन्य शुल्क मिनाहा, बजार प्रवद्र्धन लगायतको प्याकेज ल्याउन र बजेटको मध्यावधि समिक्षामा विशेष राहत प्याकेज राखिदिन आग्रह गरिएको पनि गोल्छाले बताए ।

जिल्लाका उद्यमी व्यवसायीहरुले व्यवसाय दर्ता तथा नविकरण, ढक तराजुको नविकरण, अनुगमन, बैंक तथा वित्तिय संस्थाहरुबाट ऋण तीर्न ताकेता लगायत विषयमा धेरै समस्याहरु भोग्नु परिरहेको उनको भनाई थियो । महासंघले उद्यमी व्यवसायीहरुले भोग्नु परेका समग्र समस्याहरुलाई वास्तविक रुपमा पहिचान गरी तीनको समाधानका लागि सरकारमा सुझाव पेश गर्ने कार्यक्रम रहेको भन्दै उनले जिल्लाका उद्यामी व्यवसायीलाई सल्लाह सुझाव दिन पनि उनले आग्रह गरे ।

कोभिडले अर्थतन्त्र खल्बल्याएको बताएका उनले गत आर्थिक वर्षमात्रै कुल गार्हस्थ उत्पादनमा १ खर्व ९८ अर्ब रुपैंया क्षति पुगेको बताए । १५ लाख, ६७ हजारले रोजगारी गुमाउँदै गर्दा १२ लाख नागरिक गरिबीको रेखामुनी पुगेको भन्दै अर्थतन्त्र सुधारमा सबैले आआफ्नो स्थानबाट रचनात्मक भूमिका निर्वाह गर्नु पर्ने महासंघ अध्यक्ष गोल्छाले बताए ।

उद्योग धन्दालाई पूर्वावस्थामा ल्याउन धेरै मेहनत गर्नुपर्ने बताएका गोल्छाले प्रतिवर्ष ४ लाख रोजगारी सृजना गर्ने, दोहोरो आर्थिक वृद्धि र आयात प्रतिस्थापन निर्यात वृद्धिको लक्ष्य राखेर महासंघले ‘भिजन पेपर’ तयार पारिरहेको उनको भनाई थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।