प्रविधिमैत्री बन्दै बीमा समिति, बैशाखदेखि आईआरएमआइएस सफ्टवेयर सञ्चालनमा आउने

0
Shares

कागजी प्रक्रियामा निर्भर रही सेवा दिँदै आएको नियमनकारी निकाय बीमा समिति प्रविधिमैत्री बन्ने भएको छ । समिति बीमा क्षेत्रका सबै काम अनलाइन प्रणालीबाट गर्ने उद्देश्यले एकिकृत सफ्टवेयर निमार्ण कार्यमा जुटेको हो ।

कागजी प्रक्रियालाई प्रविधिमैत्री बनाउनका लागि समितिले २०७६ असारदेखि सफ्टवेयर निमार्णको काम थालेको हो । समितिले बीमा कम्पनीबाट प्राप्त हुने सबै खालका प्रतिवेदन अनलाइनबाट उपलब्ध गराउनका लागि एकिकृत सफ्टवेयर ल्याउन लागेको हो । समितिले २० लाख रुपैयाँको लागतमा आईआरएमआइएस नामक सफ्टवेयर निर्माण गर्दैछ ।

उक्त सफ्टवेयर सञ्चालनमा आएपछि समितिमा कम्पनी मार्फत आउने सबै खाले कागजातहरु अनलाइन मार्फत आउनेछन् ।

अहिले समितिमा कम्पनीहरुले आफ्ना वित्तीय विवरण लगाएतका अन्य प्र्रतिवेदन इमेलमार्फत पठाँछन् । अहिले समिति पूर्ण रुपमा कागजी प्रक्रियामा रहेको छ ।

सबै जस्तो सरकारी संस्था, नियामक निकायले प्रविधिमैत्री सेवा दिँदै आए पनि बीमा समिति भने पुरानै शैलीमा सेवा दिँदै आएको छ ।समितिसँग सफ्टवेयर नहुँदा र कागजी प्रक्रियामा रहँदा विभिन्न समस्याहरु बीमा क्षेत्रमा रहँदै आएका छन् । तर उक्त सफ्टवेयर सञ्चालनमा आए पछि भने यी सबै समस्याको समाधान हुने विश्वास समितिको छ । सफ्टवेयर सञ्चालनमा आएपछि कागजात हराउने, कागजातहरु राख्ने ठाँउको अभाव हुने समस्याबाट समिति मुक्त हुनेछ ।

समितिले ल्याउन लागेको एकिकृत सफ्टवेयरलाई ‘आईआरएमआईएस’ इन्स्योरेन्स रेगुलेटरी म्यानेजमेन्ट इन्फरमेसन सेन्टर नाम दिएको छ । एकिकृत सफ्टवेयरमार्फत बीमा कम्पनीहरुले आफ्नो हरेक प्रतिवेदन अनलाइनमार्फत पठाउन सक्नेछन् । उक्त सफ्टवेयरमार्फत बीमकहरुलाई त्रैमासिक वित्तीय विवरण, बार्षिक प्रतिवेदन लगाएतका सम्पूर्ण विवरणहरु पठाउन सहज हुने समितिका आइटी अफिसर मिलन राज नेपालीले बताए । उनका अनुसार बीमा कम्पनीहरुले हरेक हप्ता, महिना, चौमासिक, अर्धवार्षिक रुपमा बुझाउनु पर्ने प्रतिवेदन उक्त सफ्टवेयरमार्फत बुझाउने छन् ।

समग्र बीमा क्षेत्रलाई प्रविधिमैत्री र बीमा क्षेत्रका सवै काम अनलाइन प्रणालीबाट गर्ने उद्देश्यले एकिकृत सफ्टवेयर प्रणाली सञ्चालनमा ल्याउने तयारीमा लागेको समितिले जानकारी दिएको छ । बीमाका सवै काम अगामी दिनमा प्रविधिमार्फत गर्ने लक्ष्यका साथ अनलाइन प्रणालीको अवधारणालाई अवलम्बन गर्न लागेको समितिको भनाई छ ।

समितिले २०७६ साल असार १६ गते सफ्टवेयरको लागि टेण्डर आह्वान गरेको थियो । ६ महिनामै सफ्टवेयर सञ्चालनमा ल्याउने लक्ष्य रहेता पनि सफ्टवेयर निमार्ण कम्पनीले गरेको ढिलाईका कारण उक्त सफ्टवेयर सञ्चालनमा आउन ढिलाई भएको समितिले जनाएको छ । सार्वजनिक खरिद नियामावलि, बीमा समिति विनयमावलि र सार्वजनिक खरिद ऐनअनुसार समितिले उक्त सफ्टवेयर निमार्ण प्रक्रिया अघि बढाएको हो । अहिले सफ्टवेयर निमार्णको काम भईरहेको समितिले बताएको छ ।

समितिका आइटी अफिसर मिलन राज नेपाली कुनै पनि सफ्टवेयर निमार्ण तथा जडान अवधि न्यूनतम ६ महिनाको हुने बताउँछन् । उनका अनुसार कहिले काँही अनिश्चितकालीन अवस्था आउँदा वा अन्य प्राकृतिक प्रकोप बन्द हड्तालले गर्दा कार्य गर्न नसकेमा सफ्टवेयर निमार्ण कम्पनीले सो घटनाको प्रमाणसहित आपसि समझदारीमा प्रथम पटक म्याद थप गर्न सक्ने व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुरुप समितिको सफ्टवेयर निमार्ण कार्यको जिम्मा पाएको कम्पनी दर्शन टेक कम्पनीले तीन महिना समय थप गरेको छ । सो कम्पनीले आगामी चैत्र २१ गतेसम्म समितिलाई उक्त सफ्टवेयर हस्तान्तरण गर्ने उनको भनाई छ ।

बीमा समितिले २०७८ साल बैशाख २ गतेदेखि उक्त सफट्वेययर सञ्चालनमा ल्याउने तयारीमा रहेको छ । सफ्टवेयर निमार्ण कम्पनीको जिम्मा लिएको कम्पनीलाई समितिले फागुनको १६ गतेसम्म सफ्टवेयर हस्तान्तरण गर्न आग्रह गरेको छ । यदि कम्पनीले समितिले आग्रह गरेको समयमा सफ्टवेयर हस्तान्तरण गरे समितिले चैत्र महिनाभरि तालिम दिने योजना बनाएको छ ।

हामीले कम्पनीलाई फागुनको १६ गतेसम्म सफ्टवयेर दिन आग्रह गरेका छौँ, यहि सो मितिमा सफ्टवेयर आयो भने हामिले चैत्र महिनामा तालिमको काम अघि सार्ने छौँ’ उनले भने । उक्त कम्पनीले सफ्टवेयर हस्तान्तरण गरे पछि बैशाख २ गतेदेखि समितिले सञ्चालनमा ल्याउने छ । समितिले सञ्चालनमा ल्याउन लागेको इन्स्योरेन्स रेगुलेटरी म्यानेजमेण्ट इन्फरमेसन सिस्टम (आईआरएमआइएस) अहिले विकास चरण रहेको छ । उक्त सफ्टवेयरको डिजाइन भईसकेको समितिले जानकारी दिएको छ । कार्यान्वयन र ट्रनिङ्गको काम बाँकी रहेको छ ।

समितिका अनुसार आगामी बैशाख २ गतेदेखि समिति प्रविधिमैत्री हुने छ । सफ्वेयर अभाव, कागजी सेवाका कारण बीमा कम्पनी र समितिबीच उत्पन्न भएका विभिन्न खालका समस्याको समाधान हुनेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ पुस २०७७, मंगलबार  ०९ : ०० बजे