मौद्रिक नीतिपछिको शेयर बजारमा दोहोरो अंकको गिरावट, लगानीकर्तामा किन छायो निराशा ?

0
Shares

नेपाल राष्ट्र बैंकले चालू आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गरेपछिको शेयर बजार चौध अंक बढीले ओरालो लागेको छ । मौद्रिक नीतिमा शेयर बजारलाई प्रत्यक्ष रुपमा असर गर्ने बिषय नभएपनि लगानीकर्ताहरु भने बजारप्रति आशावादी देखिएनन् ।

राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै २०७७ असार मसान्त सम्ममा सबै बाणिज्य बैंकले आफ्नो चुक्ता पूँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । 

बैंकहरुले ठूलो मात्रमा ऋणपत्र जारी गर्दा बजारमा लगानी योग्य रकमको अभाव बढ्ने भएपछि शेयर लगानीकर्ता बजारप्रति नकारात्मक बन्दा त्यसको असर बजारमा देखिएको हो । बैंकहरुले चालु आर्थि वर्ष भित्र ६२ अर्ब बराबरको ऋणपत्र जारी गर्नुपर्ने अवस्था रहेको छ ।

बैंकहरुले ऋणपत्र बिक्री गर्दा बैंककोे पूँजीकोषमा पैसा जम्मा भएर बस्ने र शेयरधनीले कम लाभांश पाउने भएकाले पनि लगानीकर्ता बजारप्रति नकारात्मक बनेका हुन । यता राष्ट्र बैंकले ब्याज घटाउन स्प्रेडदर घटाउन र बैंकहरुको सेवा शुल्क घटाउन निर्देशन दिएको छ। यसले बैंकहरुको नाफामा प्रभाव पार्ने हुँदा पनि शेयर बिक्रीको चाप बढेको हो ।

विहीबार शेयर बजार १४.१५ अंकले घटेर १२६९.९२ अंकमा झरेको छ। बजार ओरालो लाग्ने क्रममा अधिकांस कम्पनीहरुको शेयर मूल्य घटेपछि सस्तो मूल्यमा शेयर खरिद गर्ने क्रम बढ्दा कारोबार रकममा भने सुधार आएको छ । यसदिन ५५ करोड ५ लाख रुपैयाँको बराबरको शेयर किनबेच भयो । १७१ कम्पनीको कारोबार भएको बजारमा १३ कम्पनीको शेयरमूल्य बढेको छ भने १२९ वटाको घटेको छ ।

आजै ११२ शतप्रतिशते नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको प्रभु बैंकको सबैभन्दा धेरै ६ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ। दोस्रोमा कृषि विकास बैंकको चार करोड १८ लाख रुपैयाँको कारोबार भएको छ।

कारोबार आएका सबै समूहका सूचक घटेका छन् । सबैभन्दा धेरै निर्जीवन बिमा समूहको सूचक ८४.३५ विन्दुले घटेको छ । वाणिज्य बैंक समूहको सूचक पनि १२.५६ अंकले तल झरेको छ ।

सबैभन्दा धेरै नेपाल ल्युब आयलको बजार मूल्य बढेको छ। त्यस्तै सबैंभन्दा धेरै घट्ने क्रममा युनियन हाइड्रोपावरको कारोबारमा सर्किट लागेको छ। नेपाल ल्युब आयलको शेयरमूल्य ८.८१ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै युनियन हाइड्रोपावरका शेयरमूल्य ९.५७ प्रतिशतले घटेको छ ।