इजाजतपत्र लिने अभिकर्ताको संख्या ७ लाख, सक्रिय साढे दुई लाख मात्रै

0
Shares

पछिल्लो समय बीमा अभिकर्ता पेशाप्रति आकर्षण बढ्दै गएको छ । नयाँ बीमा कम्पनीहरु खुलेपछि बीमा व्यवसायको बारेमा प्रचार प्रसार झनै बढेको छ ।

बीमाप्रति मानिसहरुको चासो र जनचेतना पुगेसँगै बीमा अभिकर्ता पेशाप्रति युवाहरुको आकर्षण समेत बढ्दै गएको पाईन्छ । बीमा अभिकर्ता बनेर छोटो समयमै राम्रो कमाई गर्न सकिने, पार्ट टाइमको रुपमा पनि काम गरेर राम्रो आम्दानी गर्न सकिने भएकाले यो पेशा प्रति आकर्षण बढेको हो ।

बीमा समितिको तथ्यांकअनुसार नेपालमा संचालित जीवन र निर्जीवन बीमा कम्पनीमा गरी ७ लाख ३ हजार ८२५ अभिकर्ताले बीमा समितिबाट इजाजतपत्र लिएका छन् । ७ लाख भन्दा बढी अभिकर्ताले इजाजतपत्र लिए पनि सक्रिय अभिकर्ताको संख्या भने ज्यादै न्यून छ ।

समितिका अनुसार सक्रिय अभिकर्ताको संख्या साढे दुई लाखको हाराहारी छ ।

आर्थिक वर्ष २०७६/०७७ मा जीवन बीमा कम्पनी तथा निर्जीवन बीमा कम्पनीमा एक लाख २० हजार हाराहारीको संख्यामा नयाँ अभिकर्ता थपिएका छन् । त्यस्तै, सो अवधिमा नविकरण भएका अभिकर्ताको संख्या एक लाख ५० हजार रहेको थियो। समितिको तथ्यांकअनुसार सक्रिय अभिकर्ताको संख्या दुई लाख ७० हजार मात्रै छ ।

अभिकर्ता पेशाको इजाजतपत्र पाएका आभिकर्ताहरुले चैत्र मसान्तसम्म आफ्नो लाइसेन्स नविकरण गर्नु पर्ने प्रावधान रहेको छ । यस वर्ष भने कोभिड १९ को प्रभावका कारण लाईसेन्स नविकरण गर्ने अभिकर्ताको संख्यामा कमि आएको समितिको भनाई छ । अभिकर्ताहरुको इजाजपत्र नविकरण गर्नका लागि समितिले पटक पटक समय थप गरेको थियो । समय थप गर्दा पनि अभिकर्ताको लाइसेन्स नविकरण गर्नेको संख्यामा भने कमि आएको छ ।

समितिबाट इजाजतपत्र लिएका बीमा अभिकर्तामध्ये अधिकांश निष्क्रिय हुने र आफ्नो बीमा गर्न मात्रै अभिकर्ता बन्नेको संख्या धेरै देखिएको सरोकारवालाहरु बताउँछन् । अभिकर्ता पेशाको इजाजजत पत्र लिएकाहरुमध्ये आफ्नो मात्रै बीमा गरेर बस्ने, परिवारको मात्रै बीमा गराउने, अभिकर्ता पेशालाई पार्ट टाइमको रुपमा मात्रै लिने, फुर्सदको समयमा मात्रै अभिकर्ताको भूमिका निभाउनेहरुको संख्या धेरै रहेको छ ।

समितिले उपलब्ध गराएको गत आवको तथ्यांकअनुसार जीविन बीमातर्फ नेपाल लाइफ इन्स्योरेन्समा सबैभन्दा बढी अभिकर्ता आवद्ध छन् । नेपाल लाइफमा साढे २२ हजार अभिकर्ता छन् । त्यस्तै नयाँ जीवन बीमा कम्पनीमा नेपाल लाइफपछि अरु कम्पनी भन्दा बढी अभिकर्ता संलग्न रहेका छन् । यूनियन लाइफ इन्स्योरेन्समा १७ हजार छन् ।

बीमा अभिकर्ताहरुले आफ्नो अभिकर्ताको लाइसेन्स नविकरणका लागि हरेक वर्ष चैत्र मसान्त भित्र बीमा समिति समक्ष पेश गरिसक्नुपर्ने हुन्छ । तर बीमा अभिकर्ताहरु आफैंले भने बीमा समिति समक्ष पुगेर नविकरण गर्न पाउने व्यवस्था भने छैन । लाइसेन्स नविकरण गर्नको लागि अभिकर्ताहरु जुन बीमा कम्पनीमा आबद्ध भएर अभिकर्ता बनेका हुन् तिनै बीमा कम्पनीमा पुगेर आफ्नो लाइसेन्स नविकरणका लागि लाग्ने तोकिएको दस्तुर दिनु पर्छ । कम्पनीहरुले आफ्ना अभिकर्ताहरुबाट प्राप्त दस्तुर र अभिकर्ताको लाइसेन्स संकलन भएपछि एकमुष्ट संख्यामा अभिकर्ताको लाइसेन्स नविकरणका लागि बीमा समितिमा पठाउने गर्दछन्।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।