नबिल ब्यालेन्स फण्ड–२ को इकाईको बिक्री खुल्यो, हजार रुपैयाँमै गर्न सकिन्छ आवेदन

0
Shares

नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटडले बैशाख ५ गते (आज) देखि दश वर्ष अवधिको सामूहिक लगानी कोष नबिल ब्यालेन्स फण्ड २ को १२ करोड इकाई सार्वजनिक बिक्रीमा ल्याएको छ।

यस फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

फण्डको इकाईमा प्रतिइकाई दश रुपैयाँ दरले न्यूनतम १०० इकाईको एक हजार रुपैयाँदेखि अधिकतम एक करोड २० लाख इकाई अर्थात १२ करोड रुपैयाँसम्मको आवेदन गर्न सक्नेछन् ।

उक्त इकाईको बिक्री छिटोमा बैशाख ९ गते बन्द हुनेछ भने आवश्यक आवेदन नपरेको खण्डमा भने जेठ ३ गतेसम्म खुला रहने बिक्री प्रबन्धक नबिल इन्भेष्ट एण्ड बैंकिङ्गले जनाएको छ ।

नबिल बैंकको सहायक कम्पनी नबिल इन्भेष्टले प्रतिइकाई दश रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्काशन गरेको हो। निष्काशित १२ करोड इकाईमध्ये बिज पूँजी वापत न्यूनतम १५ प्रतिशत अर्थात एक करोड ८० लाख इकाई कोष प्रवद्र्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई छुट्टाइएको छ । बाँकी १० करोड २० लाख इकाईमा सर्वसाधारणले आवेदन गर्न सक्नेछन् ।

नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको व्यवस्थापनमा नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हुने उक्त नबिल ब्यालेन्स फण्ड–२ योजनाको इकाई बिक्री गर्न नेपाल धितोपत्र बोर्डले चैत १० गते अनुमति पाएको थियो।

लगानीकर्तालाई निराश बनाउँदैनौं: नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग

तेस्रो सामुहिक लगानी कोष बिक्रीमा ल्याएको नबिल बैंकको सहायक कम्पनी नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग अन्तर्गत नबिल म्युचुअल फण्डले राजधानीमा पत्रकार सम्मेलनको गरी फण्डले लगानीकर्तालाई निराश नबनाउने बताएको छ।

विगतका २ वटा फण्डहरुबाट सिकेको पाठलाई तेस्रो फण्डमा प्रभावकारी रुपमा सदुपयोग गर्ने नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटडका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले बताए । फण्डले धितोपत्र बोर्डले लगानी गर्न अनुपति प्रदान गरेका क्षेत्रहरुमा लगानी गर्ने उल्लेख गरे ।

नबिल म्युचुअल फण्डको ७ वर्षे योजना नबिल इक्वीटी फण्ड सञ्चालनमा रहेको छ भने पाँच वर्षे अवधिको नबिल ब्यालेन्सड् फण्ड १ २०७४ चैत २९ गते परिपक्व भई फण्डले २०७५ असार २७ गतेदेखि इकाईधनीलाई शतप्रतिशत लाभांश भुक्तानी गरिसकेको छ । नबिल इक्वीटी फण्ड २०८० कार्तिक १८ गते परिपक्क हुनेछ।

नबिलकै चौथौ सामूहिक लगानी कोष नबिल ब्यालेन्स फण्ड २ सहित ६ वटा फण्डहरु ६ अर्ब ५५ करोड रुपैयाँ बराबरको ६५ करोड ५० लाख इकाई जारी गर्न अझै धितोपत्र बोर्डको अनुमतिको पर्खाइमा रहेका छन्। हाल बजारमा १३ म्युचुअल फण्ड सञ्चालनमा रहेका छन् । नबिलको यो फण्ड थपिएपछि म्युचअल फण्डको संख्या १४ पुग्नेछ ।