पूँजी बजार, सेवा प्रवाह र संस्थागत सुशासन – सुजनवावु अधिकारी


धितोपत्र खरिदकर्ता तथा बिक्रेतालाई एकै ठाउँमा ल्याई निरन्तर रुपमा धितोपत्रको खरिद, बिक्री वा विनिमय कार्य सम्पन्न गर्ने स्थान, सुविधा वा बजारलाई पूँजी बजार भनिन्छ । पूँजी बजार धितोपत्रको खरिद विक्री हुने क्षेत्र हो । यसलाई धितोपत्र बजार भनेर पनि बुझ्ने गरिन्छ । पूँजी बजार मार्फत कम्पनी र सरकारले दीर्घकालीन कोष उठाउन सक्छन् । पूँजी बजार मुलुकको विकासको लागि आन्तरिक वचत परिचालन गर्ने सबैभन्दा प्रभावकारी माध्यम पनि हो ।

नेपालको सन्दर्भमा पूँजी बजारलाई प्राथमिक र दोस्रो बजारका रूपमा विभाजन गर्न सकिन्छ । पब्लिक कम्पनीहरुले शेयर जारी गर्ने वा ऋण उठाउने प्रक्रिया पहिलो बजारको क्रियाकलापभित्र पर्छ जसलाई सार्वजनिक निष्कासन वा ‘आईपीओ’ भनिन्छ । दोस्रो बजारमा भने पब्लिक कम्पनीको शेयर/ऋणपत्र/इकाईको माग अनुसार अंकित मूल्यभन्दा कम वा बढी मूल्यमा कारोबार हुने गर्दछ ।

नेपालको सन्दर्भमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोस्रो बजार कारोबार स्थल हो । प्राथमिक बजारबाट खरिद गरी जारी भईसकेका शेयर र ऋणपत्र दोस्रो बजारमा कारोबार हुने गर्दछ । दोस्रो बजारमा शेयर जारी गर्ने कम्पनीबाट नभई अन्य लगानीकर्ता व्यक्ति वा संस्थाहरूबीचमा शेयरको खरिद/बिक्री हुन्छ ।

पूँजी बजार मुलुकको विकासको लागि आन्तरिक वचत परिचालन गर्ने सबैभन्दा प्रभावकारी माध्यम भएकोले दीर्घकालीन पूँजीको प्रभावकारी सञ्चालन गर्न, सरकारलाई आवश्यक दीर्घकालीन पुँजी जुटाउन, लगानीमा वृद्धि गर्न तथा खुला बजार अर्थतन्त्रलाई प्रवद्र्धन गर्न पुँजी बजारको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।

नेपाल स्टक एक्सचेन्ज, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड, सामुहिक लगानी कोष, क्रेडिट रेटिङ्ग कम्पनी, मर्चेण्ट बैंकर, योजना व्यवस्थापक तथा डिपोजिटरी, धितोपत्र दलाल व्यवसायी, निक्षेप सदस्य, सूचिकृत हुन योग्य तथा सुचिकृत भएका कम्पनी तथा आस्वा सदस्य पूँजी बजार सहभागीको रूपमा रहेका हुन्छन् र पूँजी बजारमा सहभागीहरुको काम कारवाहीलाई नियमित तथा व्यवस्थित गरी पुँजी बजारमा संस्थागत सुशासन कायम गर्न नियमन निकायको समेत व्यवस्था गरिएको हुन्छ ।

नेपालको सन्दर्भमा पूँजी बजारको नियमन निकायको रुपमा नेपाल धितोपत्र बोर्ड रहेको छ । नियमन निकायले पूँजी बजारको विकासका लागि सेवा प्रदायक संस्थाहरुबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी, प्रविधिमैत्री, तथा नतिजा उन्मुख बनाउन समय समयमा विभिन्न ऐन, नियम तथा कार्यविधिहरु संशोधनमा उल्लेख्य भुमिका खेल्दछन् । सेवा प्रदायक संस्थाहरुबाट सेवाग्राहीहरुलाई उपलब्ध गराइने सेवा सुविधा नै सेवा प्रवाह हो । सेवा प्रवाहमा आएको सुधारले नै विगतको तुलनामा पूँजीवजार थप क्रियासिल भएको पाउन सकिन्छ ।

पुँजी बजारमा सहभागी संस्थाहरुको कामकारबाहीलाई नियमित तथा व्यवस्थित गरी सरोकारवालाहरु प्रति उत्तरदायी बनाउनका लागि संस्थागत सुशासन आवश्यक हुन्छ । संस्थागत सुशासन भन्नाले समग्र संस्था, संस्थाका शेयरधनी तथा सरोकारवालाहरुको हित र कल्याणलाई सर्वोपरि ठानी पारदर्शी, उत्तरदायी, सक्षम, सुदृढ, कुशल र विधिसम्मत् शासन संचालन गर्ने एक प्रकारको प्रकृया वा पद्धति हो । संस्थागत सुशासनले यस्ता संस्थाहरुलाई निर्देशित, नियमित र नियन्त्रित गर्दछ । संस्थागत सुशासनले उक्त पूँजीबजारमा सहभागी सदस्य संस्थाहरुबाट प्रवाह हुने सेवा नतिजामुखी तथा प्रभावकारी बन्न पुग्दछ । संस्थागत सुशासनले संस्थाका सञ्चालक समिति, प्रमुख कार्यकारी अधिकृत, कर्मचारीहरु, शेयरधनीहरु आदिको आचार संहिता लगायत अधिकार, उत्तरदायित्व, जवाफदेहिता, पारदर्शीता, उच्चस्तरको नैतिकता, इमान्दारिता, कानूनी व्यवस्थाको पालना आदि तोकिएको हुन्छ । धितोपत्र कारोबारमा हुनसक्ने भित्री कारोबारको सम्भावनालाई हटाउन सो सम्वन्धि कार्यलाई फौजदारी अपराधको रुपमा ब्याख्या गरी भित्री कारोवारको प्रकृतीका आधारमा कानूनी कारवाहीको रुपमा कैद, जरिवाना या दुवैको व्यवस्थाले समेत संस्थागत सुशासन कायम रहन मद्दत पुगेको छ ।

पूँजी बजारमा जनविश्वासको वातावरण सृजना गर्नका लागि नेपाल धितोपत्र बोर्डले गर्ने संगठित संस्थाहरुको स्थलगत तथा गैर स्थलगत निरिक्षण, सुपरिवेक्षण तथा अनुगमनले बजारमा संस्थागत सुशासन कायम गर्न मद्दत पुगेको र धितोपत्र निष्काशन, बाँडफाँड, फिर्ता भुक्तानी, धितोपत्र सूचीकरण, हितग्राहीको खातामा शेयर हस्तान्तरण, धितोपत्र कारोवार तथा नामसारी सम्मको प्रकृयामा परिवर्तन भई सेवा प्रवाहमा उल्लेख सुधार भएको छ । पूँजी बजार, सेवा प्रवाह र संस्थागत सुशासन एक अर्काका परिपुरक हुन् । संस्थागत सुशासनले सेवा प्रवाहलाई प्रभावकारी बनाउदछ भने त्यसको प्रत्यक्ष असर पूँजी बजारमा देखिन्छ ।

पब्लिक लिमिटेड कम्पनीमा लगानी गर्ने लगानीकर्ताको उक्त कम्पनीमा सीमित दायित्व मात्रै रहने र लगानीकर्ताभन्दा फरक र स्वतन्त्र अस्तित्व कायम रहने कम्पनी स्थापना गरीे संस्थागत माध्यमबाट व्यवसाय सञ्चालन गर्ने व्यवस्थाकै कारण पूँजीको महत्व वढ्न गएको छ । कम्पनीमा जोसुकैले लगानीे गरे तापनि लगानीकर्ताको प्रत्यक्ष संलग्नतामा नभई योग्य व्यक्तिबाट कम्पनीको कुशल व्यवस्थापन गर्ने गरी कम्पनीको स्वतन्त्र कानूनी व्यक्तित्व सिर्जना भएकाले विश्वभर पूँजीको निर्माण, परिचालन एवं पुनरलगानीले व्यापकता पाएको छ ।

नेपालमा पूँजी बजारको इतिहास धेरै लामो छैन । वि.सं. १९९३ सालमा कम्पनी ऐन जारी भएपश्चात् वि.सं. १९९४ सालमा विराटनगर जुट मिल्स र नेपाल बैंक लिमिटेडको स्थापना भए पछि नेपालमा प्रथम पटक सर्वसाधारणलाई धितोपत्र निष्कासन गरेपछि नै यसको सुरुआत भएको हो । तर धितोपत्र निष्कासन भए पनि नेपालमा धितोपत्र कारोबारसम्बन्धी स्पष्ट कानूनी व्यवस्था थिएन । त्यसपछि नेपाल लामो समयसम्म राजनीतिक संकटबाट गुज्रेको हुनाले औद्योगिक र वित्तीय क्षेत्रमा निजी क्षेत्रलाई सहभागी गराएर आर्थिक विकासलाई गति दिन थालिएको प्रयास विकास र विस्तार हुन पाएन । नेपाल राष्ट्र बैंकले २०१८ सालमा सरकारी ऋणपत्र जारी गर्ने कार्यको थालनी गर्यो भने तिनै सरकारी ऋणपत्रको कोरोबार गर्नलाई २०३३ सालमा सेक्युरिटी खरिदबिक्री केन्द्रको स्थापना गरियो ।

पञ्चायती शासन व्यवस्थाको अन्त्यतिर अलिकति खुकुलो आर्थिक नीति लिई संयुक्त लगानीमा विदेशी बैंकहरू खोल्न दिने नीतिगत व्यवस्थासंगै धितोपत्र कारोबारको सञ्चालन र व्यवस्थापन गर्न अलग्गै कानूनको आवश्यकता बोध भयो र धितोपत्र कारोवार ऐन २०४० निर्माण गरी लागू गरियो । वि.सं. २०४६ सालको जनआन्दोलनले देशमा बहुदलीय संसदीय व्यवस्थाको पुनस्र्थापना गरे पछि देशमा आर्थिक विकासका अवसरहरू थपिए ।

त्यसपछिको पहिलो आम निर्वाचनबाट गठन भएको सरकारले खुला,उदार र प्रतिस्पर्धी आर्थिक नीति अबलम्बन गरेपछि पूँजी बजारको प्रवद्र्धन एवं विकासका लागि तत्काल कायम रहेको कानूनी व्यवस्था अपर्याप्त महसुस गरेर सरकारले वि.सं. २०४९ मंसिर ११ गते धितोपत्र कारोबार ऐन, २०४० मा पहिलो संशोधन गरी सेक्युरिटी खरिद बिक्री केन्द्रलाई नेपाल धितोपत्र विनिमय बजार लिमिटेडमा परिणत गर्नुका साथै धितोपत्र बजारका संयन्त्र विकास र नियमन गर्न धितोपत्र बोर्डको स्थापना गर्ने प्रावधान राखियो । पूँजी बजारको विकास र नियमन निकायका रूपमा वि.सं. २०५० जेठ २५ गते नेपाल धितोपत्र बोर्डको स्थापना भए पछि मात्रै नेपालको पूँजी बजारमा नयाँ आयाम प्रारम्भ भई मिति २०६३।०९।३० मा धितोपत्र सम्बन्धी ऐन, २०६३ कार्यान्वयनमा आए पश्चात पूँजी वजारको विकासले गति लिंदै गएको छ ।

पूँजी वजारको विकासका लागि नेपाल धितोपत्र बोर्डको रणनीतिका रुपमा रहेका विषयहरुः

क) पुँजी बजार सञ्चालन तथा नियमन सम्बन्धी अन्तर्राष्ट्रियस्तरको पूर्वाधार विकास गर्ने ।
ख) पुँजी बजारमा वास्तविक क्षेत्रका संगठित संस्था, साना लगानीकर्ता र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थागत लगानीकर्ताहरुको आकर्षण बढाउने ।
ग) पुँजी बजारमा संलग्न संस्था तथा निकायहरुको व्यवसायिकता तथा संस्थागत सुशासन अभिवृद्धि गर्ने । र
घ) लगानीकर्ता तथा सरोकारवालाहरुलाई पुँजी बजारका सम्बन्धमा शिक्षा प्रदान गर्न पुँजी बजार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने । आदि रहेकाले सोही अनुसार नेपाल धितोपत्र बोर्डले कार्य गर्ने हुनाले पूँजी वजार विकासमा नेपाल धितोपत्र बोर्डको योगदान महत्वपूर्ण रहेको छ ।

खुला विश्व बजारमा लगानीको उपयुक्त अवसर अनुसार कुनै पनि कम्पनीको शेयर चाहेको बेला खरिद गरी स्वामित्व ग्रहण गर्न र आवश्यकता अनुसार बिक्री गरी स्वामित्व हस्तान्तरण गर्न सकिने गरी पूँजी बजारले लगानीकर्तालाई अवसर प्रदान गर्दछ । यस्तै आम सर्वसाधारणको वचतलाई परिचालन गर्न पूँजी बजारले विभिन्न वित्तीय उपकरणहरू प्रदान गर्दछ । पुँजी बजारको विकासबाट नै विभिन्न देशले आर्थिक विकासमा फड्को मारेको प्रशस्त उदाहरणहरु रहेको र पूँजी बजार आर्थिक विकासको मुख्य संवाहक भएको हुँदा यसलाई अर्थतन्त्रको मेरुदण्डको रुपमा मानिन्छ । पूँजी विकासको साधन हो तसर्थ संकटको वेलामा पूँजीको आवश्यकता पर्ने र त्यसको व्यवस्थापन पूँजी बजारबाट गर्न सकिन्छ । पूँजी बजारको प्रवद्र्धन विना देश विकासको कल्पना गर्न सकिदैन । पूँजी बजारको विकासको माध्यमबाट समग्र देश विकास सम्भव हुने भएकाले पनि पूँजी बजारका सम्पूर्ण उपकरणहरुमा लगानीकर्ताहरुको ध्यान खिचिदै गएको छ ।

पूँजी बजार दुई प्रकारको हुन्छ । प्राथमिक बजार र दोस्रो बजार । प्राथमिक बजारमा पब्लिक लिमिटेड कम्पनीले प्रथम पटक निस्काशन गर्ने सर्वसाधारण सेयर, ऋणपत्र, विद्यमान शेयरधनीहरुलाई जारी गरिने हकप्रद शेयर तथा सामुहिक लगानी कोषहरुले जारी गर्ने इकाईहरु आदि पर्दछन भने दोस्रो बजारमा प्राथमिक बजारबाट जारी भै सकेको सेयर, ऋणपत्र तथा इकाईहरुको किनवेच हुने गर्दछ । पब्लिक लिमिटेड कम्पनीहरुले सर्वसाधारणलाई छुट्टाएको शेयर प्राथमिक बजार मार्फत सर्वसाधारणलाई बाँडफाँड गर्दछन् भने त्यसरी प्राथमिक बजारबाट बाँडफाँड भई खरिद गरिएको शेयर दोस्रो वजार अर्थात नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा धितोपत्र दलाल मार्फत अन्य व्यक्तिहरुलाई किन वेच गर्दछन् ।

नेपालको सन्दर्भमा बैंक तथा वित्तीय संस्था र वीमा कम्पनीले अनिवार्य रुपमा सर्वसाधरणलाई शेयर जारी गर्नुपर्ने बाध्यात्मक व्यवस्था रहेको छ भने अन्य कम्पनीहरु स्वेच्छाले पब्लिक लिमिटेड कम्पनीको रुपमा परिणत भई सर्वसाधारणलाई शेयर जारी गरेका हुन्छन् । त्यसैले पनि नेपालको पूँजी बजारमा बैंक तथा वित्तीय संस्था र वीमा कम्पनीहरुको हिस्सा वढी रहेको देखिन्छ । नेपालको पूँजी बजारलाई प्रविधिमैत्री, लगानीमैत्री एवं देशव्यापी बनाउने क्रममा धितोपत्रको पूर्ण अभौतिक कारोबार हुने व्यवस्था, नेप्सेको कारोबार प्रणालीमार्फत अनलाइनबाट कारोबार हुने व्यवस्था, प्राथमिक बजारमा आस्वा तथा सि–आस्वा प्रणाली लागू, उपत्यका बाहिर धितोपत्र दलाल तथा मर्चेन्ट बैंकरको शाखा विस्तार गर्नका लागि आवश्यक नीतिगत व्यवस्थाहरुले नेपालको पूँजीबजार थप विस्तार भैरहेको छ ।

हिजोको कागजी युगबाट आज एक क्लिकको भरमा प्राथमिक शेयर बजारमा शेयर आवेदन गर्न सक्ने अवस्था तथा अनलाइनबाटै दोस्रो बजारमा विभिन्न कम्पनीहरुको शेयर खरिद विक्री सम्भव हुनु नेपालको लागि पूँजी बजारमा छोटो समयमा भएको युगान्तकारी परिवर्तन मान्न सकिन्छ । धितोपत्र बजारको हालको अवस्था केलाउदा सर्वसाधारण लगानीकर्ताहरूको आकर्षण प्राथमिक बजारमा बढ्दो देखिन्छ । धितोपत्र बोर्डको अग्रसरतामा आस्वा प्रणालीको सुरुआत हुनु र आस्वा सदस्य भएका बैंक तथा वित्तीय संस्थाबाट सहजरूपमा शेयर भर्ने र मेरो शेयरको सुविधा लिएका लगानीकर्ताहरूलाई अनलाईनबाटै शेयर आवेदन गर्ने सुविधा प्राप्त भएकोले आम लगानीकर्ताको सहभागिता बढ्न गएको हो ।

त्यस्तै, भर्खर मात्र दोस्रो बजारमा समेत अनलाइन मार्फत शेयर खरिद तथा विक्रीको थप व्यवस्था हुनाले समेत नयाँ लगानीकर्ताहरु नेपालको पूँजीबजारमा भित्रिएका छन् । नेपाल धितोपत्र बोर्डले भर्खर मात्र जारी गरेको बुक विल्डिङ्ग निर्देशिका, २०७७ का आधारमा सार्वजनिक शेयर निष्काशन भई ४० प्रतिशत शेयर बुक विल्डिङ्ग विधि मार्फत योग्य संस्थागत लगानीकर्ताहरुलाई कट अफ मूल्यमा बाँडफाँड गरी बाँकी ६० प्रतिशत शेयर कट अफ मूल्यमा १० प्रतिशत छुट दिई सर्वसाधारणहरुलाई निष्काशन गर्ने व्यवस्थाले विभिन्न कम्पनीहरु पब्लिक लिमिटेड कम्पनीमा परिणत भई शेयर निष्काशन गर्न पूंजी बजारमा प्रवेश गर्ने उपयुक्त वातारण सृजना हुने साथसाथै योग्य संस्थागत लगानीकर्ताहरुको समेत पूँजी वजारमा सकृय सहभागिता वढ्न गई नेपालको पूँजी वजार थप फराकिलो हुने सम्भावना वढेको छ ।

नेपाल धितोपत्र बोर्डको उद्देश्य अन्तर्गत:

क) पुँजी बजारलाई स्वच्छ, पारदर्शी, प्रभावकारी एवं प्रतिस्पर्धी बनाई पूँजी परिचालनकर्ता तथा लगानीकर्ताहरूका लागि पहुँचयोग्य र विश्वसनीय बनाउने ।
ख) लगानीकर्ताको हित संरक्षण गर्ने ।
ग) पूँजी बजार नियमन तथा सुपरिवेक्षण गर्ने ।
घ) पूँजी बजारमा संलग्न संस्था तथा निकायहरूको व्यवसायिकता तथा संस्थागत सुशासन अभिवृद्धि गर्ने । र
ङ) पूँजी बजारको प्रणालीगत जोखिमलाई न्यूनीकरण गर्ने,  कार्यहरु पर्ने भएकाले नेपाल धितोपत्र बोर्डले पूँजी वजार विकासका लागि सोही अनुसार कार्यहरु गरिरहेको हुन्छ । नेपालको पूँजी बजारमा सेवा प्रदायकको रुपमा सक्रिय भूमिका निर्वाह गर्ने तथा पूँजीबजार पूर्वाधार विकासमा संलग्न संस्थाहरुको रुपमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड, २ वटा क्रेडिट रेटिङ्ग संस्थाहरु, योजना व्यवस्थापक तथा कोष प्रवद्र्धकहरु, ३१ वटा मर्चेण्ट बैंकिङ्ग संस्थाहरु, ६६ वटा निक्षेप सदस्यहरु, ५१ वटा सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, ५० वटा ब्रोकर कम्पनीहरु रहेका छन् जसले पूँजी बजारको नियमन निकायको रुपमा रहेको नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी पूँजी बजारमा क्रियासिल लगानीकर्ता तथा सरोकारवालाहरुलाई विभिन्न स्वरुपमा सेवा प्रवाह गरिरहेका छन् ।

नेपालमा स्थापित सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र वीमा कम्पनीहरु अनिवार्य रुपमा पब्लिक लिमिटेड कम्पनीको रुपमा रही सर्वसाधारणलाई शेयर जारी गर्नुपर्ने व्यवस्था रहेकाले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र वीमा कम्पनीहरु पूँजीबजारको अभिन्न अंगको रुपमा रही सेवा प्रवाहमा उल्लेख भुमिकामा रहेका हुन्छन् । नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएर सर्वसाधारणलाई शेयर जारी गरी नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचिकरण भई सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा दर्ता भएको १९८ कम्पनीहरुको शेयर, ३३ वटा ऋणपत्रहरु र १९ सामुहिक लगानी कोषको इकाईहरुको कारोवार नेपालको दोस्रो वजारमा हुने गर्दछ । प्राथमिक शेयर बजारमा शेयर/ऋणपत्र/इकाईको लागि आवेदन गर्न तथा दोस्रो वजारमा शेयर खरिद विक्री गर्नको लागि हितग्राही खाता खोल्ने हितग्राहीहरुको संख्या १९ लाख ३४ हजार भन्दा वढी रहेको छ र ती सम्पूर्ण हितग्राहीहरुले निक्षेप सदस्यहरु मार्फत खाता खोली सेवा प्राप्त गरिरहेका हुन्छन् । खोलिएका खाताहरुमा हालसम्म अभौतिक भई कायम रहेको शेयरको संख्या लगभव ५ अर्व ५७ करोड रहेको छ र हितग्राहीहरुको खातामा अभौतिक रुपमा रहेका यिनै शेयर/इकाई/ऋणपत्रहरुको मात्र पूँजी वजारमा कारोवार हुने गर्दछ ।

प्राथमिक शेयर बजारमा सर्वसाधारणमा जारी गरिएको शेयर, हकप्रद शेयर, ऋणपत्र, सामुहिक लगानीकोषहरुको इकाइ निष्काशन हुँदा सर्वसाधारणले आवेदन गर्ने संकलन केन्द्रको रुपमा रहेर सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुले आवेदन गर्ने प्रकृयामा सेवा प्रवाह गरिरहेका हुन्छन् ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी मर्चेन्ट बैंकरको कार्य गर्ने कम्पनीहरुले गर्ने कार्यहरु अन्तर्गत:
क) धितोपत्र निष्काशनका लागि विवरण पत्र, बिक्री सम्बन्धी प्रस्ताव तथा अन्य विवरण तयार गर्ने लगायत धितोपत्रको निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी आवश्यक सबै कार्यहरु गर्ने धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक को कार्य गर्ने,
(ख) संगठित संस्थासंग सम्झौता गरी संगठित संस्थाले निष्काशन गरेको धितोपत्रहरु बिक्री नभएको अवस्थामा आपूmले खरिद गर्न प्रत्याभूति (अण्डरराइटिङ्ग) दिने कार्य गर्ने,
(ग) संगठित संस्थाको तर्फबाट धितोपत्रधनीहरुको अभिलेख राख्ने तथा धितोपत्रहरुको नामसारी लगायत शेयर रजिष्ट्रेशन सम्बन्धी अन्य सेवा प्रदान गर्ने सम्वन्धि शेयर रजिष्ट्रारको कार्य गर्ने
(घ) ग्राहक संग सम्झौता गरी ग्राहकका लागि लगानी व्यवस्थापन सम्बन्धी कार्य गर्ने लगानी व्यवस्थापकको कार्य गर्ने र
ङ) संस्थागत परामर्श सेवा प्रदान गर्ने आदि पर्दछन् ।

मर्चेन्ट बैंकरले गर्ने उक्त कार्यहरुले पूँजी बजारमा उल्लेखनीय योगदान दिएको छ र उक्त कार्यहरुबाट संवन्धित लगानीकर्ता तथा सरोकारवालाहरुलाई गुणस्तरीय सेवा प्रवाहमा महत्वपूर्ण भूमिका खेलेको छ र उल्लेखित सेवाहरुका कारण पूँजी बजारमा आवद्ध भई सूचिकृत हुन प्रकृयामा रहेको कम्पनीहरुले सर्वसाधारणलाई शेयर जारी गर्ने देखि कम्पनी सूचिकृत भए पश्चात शेयर अभिलेख सम्वन्धिको कार्यमा समेत सहजता निम्त्याएको छ ।

नेपालको पूँजी बजारमा धितोपत्र व्यवसायीहरुबाट हुने सेवा प्रवाहमा भएको उल्लेख्य सुधारहरु संस्थागत सुशासनका आधारमा सम्भव भएको कुरामा द्विविधा रहन सक्दैन । पूँजी बजारमा संस्थागत सुशासन कायम गर्न धितोपत्र सम्बन्धी ऐन तथा सो अन्तर्गत जारी भएका नियमावली तथा निर्देशिकामा विभिन्न व्यवस्था गरिएको छ ।

धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ र धितोपत्र व्यवसायी (मर्चेण्ट बैंकर) नियमावली, २०६४ मा धितोपत्र व्यवसायीले व्यवसायिक मर्यादा तथा आचार संहिता सम्बन्धी निर्देशिकाको पालना गर्नुपर्ने व्यवस्था उल्लेख गरिएको छ भने धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा सूचीकृत संगठित संस्थाहरुले अनिवार्य रुपमा सार्वजनिक रुपमा प्रवाह गनुपर्ने सूचना तथा अनिवार्य रुपमा धितोपत्र बोर्डलाई दिनुपर्ने विभिन्न जानकारीहरुको व्यवस्था गरिएको छ ।

त्यस्तै, नेपाल धितोपत्र बोर्डले सूचीकृत सङ्गठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ समेत लागू गरि संस्थागत सुशासनमा महत्वपूर्ण कदमहरु चालेको छ । पूँजी बजारको क्षेत्रभित्र पर्ने संगठित संस्थाको धितोपत्र निष्काशन सम्वन्धि सम्पूर्ण प्रकृया देखि दोस्रो वजारमा कारोवार हुने अवस्था सम्मको प्रकृया र ती प्रकृयामा संलग्न सहभागी सदस्यहरुलाई व्यवस्थित गर्ने कार्यमा संस्थागत सुशासनको भूमिका महत्वपूर्ण हुन्छ ।

पूँजी बजारमा सूचिकृत कम्पनीहरुले अनिवार्य रुपमा दोस्रो बजारमा कम्पनीको शेयर मूल्यमा असर पार्न सक्ने विषयका सन्दर्भमा भएका कुनै पनि निर्णयहरुको जानकारी तत्काल नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेञ्ज मार्फत सर्वसाधारणलाई दिनुपर्ने व्यवस्था, त्रैमासिक रुपमा वित्तीय विवरण नियमित प्रकाशित गर्नुपर्ने व्यवस्था, सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतमा भएको परिवर्तन लगायत अन्य महत्वपूर्ण निर्णयहरु जस्तै बुक क्लोज, साधारण सभा, नगद लाभांश तथा वोनश शेयर पारित, लेखापरिक्षक नियुक्ति, कम्पनी सचिव नियुक्ति, मर्जर तथा एक्विजिसन, हकप्रद शेयर निष्काशन जस्ता महत्वपूर्ण निर्णयहरुका सन्दर्भमा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडलाई जानकारी दिनुपर्ने विषय, तोकिएको समयमा साधारण सभा गर्नुपर्ने र सोही अनुसार पारित वार्षिक प्रतिवेदन नियमन निकायमा पेश गर्नुपर्ने व्यवस्था लगायतका अन्य महत्वपूर्ण विषयहरुको जानकारी नियमन निकायलाई दिनुपर्ने व्यवस्थाले पूँजी वजारमा आवद्ध संस्थाहरुमा संस्थागत सुशासन कायम रहन महत्वपूर्ण भूमिका खेलेको छ ।

सूचिकृत कम्पनीका संचालकहरुले आफ्नै कम्पनीको शेयर कारोवारमा पदमा वहाल रहँदा र पद छाडेका १ वर्ष सम्म संलग्न रहन नपाइने व्यवस्था, प्रमुख कार्यकारी अधिकृत, लेखा परिक्षक लगायत उच्च व्यवस्थापन तहका कर्मचारीहरुले आफ्नो कम्पनीको शेयर कारोवारमा समावेश हुन नपाइने व्यवस्था, शेयर मूल्यमा असर पर्ने विषयको जानकारी संचालक समतिबाट निर्णय हुनासाथ जानकारी गराउनुपर्ने व्यवस्था आदिले भित्री कारोवार हुन नदिई कम्पनीहरुमा संस्थागत सुशासन कायम रहन मद्दत पुगेको छ । जसको प्रत्यक्ष फाइदा पूँजी बजारमा संलग्न लगानीकर्ताहरुले लिई ढुक्कसँग लगानी गरिरहेका छन् ।

सञ्चालक समितिका सदस्यहरु कार्यकारी भूमिकामा रहन नपाईने तथा व्यवस्थापनको दैनिक कामकारवाहीमा हस्तक्षेप गर्न नपाइने व्यवस्थाले विना हस्तक्षेप स्वतन्त्र रुपमा संस्था अगाडी वढी संस्थागत सुशासन कायम रहेको देखिन्छ । संस्थागत सुशासनकै कारण कम्पनीहरुले कम्पनीसंग कुनै वित्तीय स्वार्थ कायम नरहेको बाह्य लेखापरिक्षकबाट लेखापरिक्षण गराउनुपर्ने व्यवस्था, एउटै लेखापरिक्षकले तीन आर्थिक वर्ष भन्दा वढी लगातार एउटै कम्पनीको लेखापरिक्षण गर्न नपाउने व्यवस्था, सञ्चालक समितिमा अनिवार्य एकजना स्वतन्त्र सञ्चालक नियुक्त गर्नुपर्ने व्यवस्था आदि गरिएको हुन्छ ।

सुचिकृत कम्पनीहरुको पूँजी बजारसँग सम्वन्धि क्षेत्रको नियमन नेपाल धितोपत्र बोर्डले र अन्य क्षेत्रको नियमन सम्वन्धित कम्पनीको काम कारोवारसँग सम्वन्धित रहेको नियमन निकायले गर्ने र ती नियमन निकायहरुले समेत उक्त कम्पनीमा संस्थागत सुशासन कायम गरी सेवा प्रवाहलाई भरपर्दो बनाउन उल्लेख्य भुमिका खेलेकाले समेत नेपालको पूँजीबजार वलियो वन्दै गएको छ । जस्तै बैंक तथा वित्तीय संस्थाहरुको नियमन गर्ने निकाय नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई छुट्टै एकिकृत निर्देशन नै जारी गरी बैंकिङ्ग कारोवारलाई व्यवस्थित बनाउन तथा उक्त एकिकृत निर्देशनको निर्देशन ६ मा भएको संस्थागत सुशासन सम्वन्धि विविध व्यवस्थाहरुले बैंक तथा वित्तीय संस्थाहरुमा संस्थागत सुशासनको प्रभाव वढाउन उल्लेख्य भुमिका खेलेको हुन्छ । त्यस्तै वीमा कम्पनीहरुको नियमन निकाय वीमा समितिले समेत वीमा कम्पनीहरुमा संस्थागत सुशासन कायम गर्न विशेष भुमिका खेलेको हुन्छ ।

यसरी पूँजीबजारको क्षेत्रमा नेपाल धितोपत्र बोर्डले नियमन गर्ने र अर्कोतर्फ सम्वन्धित कम्पनीको कारोवारका हिसावले सम्वन्धित क्षेत्रको नियमन निकायले नियमन गर्ने व्यवस्थाले नेपालको पूँजीबजारमा जनविश्वास वढ्दै गई पूँजी बजारको क्षेत्र विगतको तुलनामा फराकिलो वन्दै गईरहेको छ, तर पनि पूँजी बजारको थप विकासका केही कदमहरु भने अवश्य चाल्नुपर्ने देखिन्छ ।

बोर्डको आ.व. २०७७।७८ को धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रमले नेपालको धितोपत्र बजार र वस्तु विनिमय बजारलाई विकास तथा विस्तार गर्दै स्वस्थ, पारदर्शी, प्रतिस्पर्धी र प्रभावकारी बनाई सर्वसाधारणको पहुँच बढाउन बोर्डले लिएका लक्षहरु क्रमशः

१) धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास गरी IOSCO को मापदण्ड अनुरुपको बनाउँदै लैजाने
२) बोर्डको संस्थागत तथा नियमन क्षमता अभिबृद्धि गर्ने
३) धितोपत्र बजार तथा वस्तु विनिमय बजारको प्रभावकारी नियमन, सुपरिवेक्षण तथा व्यवस्थापनका लागि आवश्यक कानुनी संरचनाको विकास तथा सुदृढीकरण गर्ने
४) बजार सुपरिवेक्षण व्यवस्थामा सुधार गर्नुका साथै अध्ययन/अनुसन्धान गर्ने
५) बजार सहभागीहरुको व्यवसायिकता तथा स्तर अभिवृद्धि र कार्य क्षेत्र विस्तार गर्ने
६) प्रदेशस्तरमा समेत धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी जनचेतना अभिवृद्धिसहित समष्टिगत वित्तीय साक्षरतालाई सुदृढ गर्दै जाने रहेको र सो लक्ष्य अनुसारको उपलब्धि हासिल भएको अवस्थामा पूँजी वजार थप सुदृढिकरण हुनेमा विश्वस्थ हुन सकिन्छ ।

पूँजी वजारको थप विकासका लागि नेपाली पूँजी बजारमा भित्रन नसकेका ठूला ठूला कम्पनीहरुलाई भित्राउन तथा त्यस्ता कम्पनीहरुलाई विशेष सुविधा सहित सर्वसाधारणमा शेयर जारी गर्ने वातावरण सृजना गर्न सकिने विशेष व्यवस्था गर्नुपर्दछ । पब्लिक लिमिटेड कम्पनीको रूपमा उद्योग व्यवसाय सञ्चालन गर्न उत्प्रेरित गर्ने उद्देश्यले प्रभावकारी कदम चाली सूचीकृत कम्पनीको संख्या बढाउन थप सुविधा दिई पूँजी बजारमा क्रियासिल गराउन सकिएको अवस्थामा पूँजी बजार थप बलियो बन्न सक्दछ ।

आर्थिक समृद्धिको निमित्त आवश्यक विकासका पूर्वाधारहरूको अपर्याप्तता नै एक प्रमुख चुनौती रहेको वर्तमान अवस्थामा पूर्वाधार निर्माणमा निजी क्षेत्रको सहभागिता र लगानी बढाउन पूँजी निर्माण एवं परिचालनका लागि पूँजी बजारको अहम् भूमिका रहने भएकाले पूँजी बजारको सम्बन्धमा नीति निर्माण तहमा रहेका व्यक्तिहरुले जनविश्वास गुम्न नदिने मनसायले विचारहरु व्यक्त गरिनुपर्दछ ।

पूँजी बजारलाई अनुत्पादक क्षेत्रका रूपमा संकुचित नजरबाट हेर्ने मानसिकताको अन्त्य गराई, विद्यार्थी, गृहणी, कर्मचारी, साना व्यवसायी आदिको साना साना बचत देशभरबाट संकलन गरी राष्ट्रिय समष्टिगत अर्थतन्त्रमै योगदान दिने खालका उद्यम, व्यवसायमा लगाउने कार्य पूँजी बजारको संयन्त्र विना सम्भव नभएकाले गैर आवासीय नेपालीलाई पूँजी बजारमा पूर्ण रुपमा लगानी गर्न दिई पूँजी बजारको क्षेत्र अझ फराकिलो बनाउन आवश्यक छ ।

नेपालमा साना साना कम्पनी सुरु गरेर उद्यमशीलता विकास गर्न चाहने युवा उद्यमीहरूको निमित्त लक्षित गरी लघु प्राथमिक शेयर निष्कासनको सुविधा दिन आवश्यक पहलको खाँचो छ । १ अर्बभन्दा बढीको पूँजीमा स्थापित सबै उत्पादनमूलक कम्पनीलाई पब्लिक कम्पनीमा रूपान्तरण हुन प्रोत्साहन दिने नीति ल्याइएको भए तापनि त्यस्ता उद्योगहरू पूँजी बजारमा अझै भित्रन नसकेकाले उचित संवोधन हुनु जरुरी छ ।

मुलुकको पूँजी बजारमा भौतिक पूर्वाधार, सूचना प्रविधिको थप विकास, संस्थागत सुशासन कार्यान्वयनमा देखिएका समस्याहरुको तत्काल समाधान आदिको आवश्यकता छ । पूँजी बजारमा भर्खरै ल्याइएका भेञ्चर क्यापिटल, हेज फण्ड र प्राइभेट इक्वीटी जस्ता उपकरणहरूको पूर्ण कार्यान्वयनका लागि थप प्रयास आवश्यक देखिन्छ ।

दोस्रो वजारमा हुने कारोवारलाई देशको कुना कुनाबाट गर्न सकिने वातावरण सृजना गर्नुपर्ने, अनलाइन ट्रेडिङ्गलाई थप व्यवस्थित गराउनुपर्ने, ब्रोकरको भुमिका तथा सेवालाई थप फराकिलो बनाई पूँजी वजारको विकास गर्नुपर्ने देखिन्छ । पूँजी बजारलाई समेटिने गरी पूँजी बजार सम्वन्धि जनचेतना जनमानसमा जति हुनुपर्नेहो भएको देखिदैन । तसर्थ नयाँ नयाँ क्षेत्रका लगानीकर्ताहरु पूँजी वजारमा भित्राउन देशव्यापी रुपमा विभन्न क्षेत्रका मानिसहरुलाई सहभागी गराई पूँजी वजार सम्वन्धी चेतनामूलक कार्यक्रमहरु संचालन गरिनुपर्दछ ।

पूँजी बजार र यसमा विद्यार्थीहरुको सहभागिताले विद्यार्थी जीवन देखिनै विद्यार्थीहरुमाझ लगानीको सोच अभिवृद्धि गर्नुको साथसाथै वचत गर्ने र अनुत्पादक क्षेत्रमा खर्च नगर्ने बानिको विकास हुने भएकाले ‘स्कुल लेभल’ देखिकै पाठ्यपुस्तकहरुमा पूँजी बजार सम्वन्धि विषय समेत समावेश गरी पठन पाठन गराउनुपर्दछ । साथै, समय समयमा स्कुल लेभल देखी नै पूँजी बजार सम्वन्धि वक्तृत्वकला, वादविवाद, निवन्ध लेखन लयातका विभिन्न विधामा प्रतियोगितात्मक कार्यक्रम गरेर पूँजी वजार सम्बन्धमा विद्यार्थीहरुमाझ जनचेतना विस्तार गर्न सकिन्छ ।

पूँजी वजार विकासको महत्पूर्ण पक्ष भनेको पूँजी वजारमा सहभागी संस्थाहरुको सेवा प्रवाह र उक्त संस्थाहरुको संस्थागत सुशासन भएकाले समय तथा वजारको आवश्यकता अनुसार नियमन निकायहरुले सेवा प्रवाह हुने विषय सँग सम्वन्धित कानून तथा संस्थागत सुशासन कायम गर्ने सम्वन्धि कानून संशोधन एवं परिमार्जन गरी समय सापेक्ष वनाउँदै लैजानुपर्नेहुन्छ । नियमन निकायहरुको नियमन तथा स्थलगत तथा गैरस्थलगत सुपरीवेक्षणका आधारमा समेत उक्त पूँजी वजारमा आवद्ध संस्थाहरुको संस्थागत विकास भै त्यसले सेवा प्रवाहमा सुधार ल्याउनुका साथै आम लगानीकर्ताहरु माझ पूँजी वजार प्रति विश्वासको वातावरण सृजना गर्ने हुनाले यस तर्फ नियमन निकायहरु समेत सचेत हुनु जरुरी छ ।

शेयर निष्काशनमा बुक विल्डिङ्ग मार्फत शेयर निष्काशन सम्वन्धि प्रकृयालाई छिटो भन्दा छिटो टुङ्गाइ संस्थागत लगानीकर्तालाई पूँजी बजारमा सक्रिय सहभागी बनाइएको अवस्थामा आम सर्वसाधारण लगानीकर्ताहरुको संरक्षण हुने र पूँजी वजारको समेत विकास हुने कुरामा विश्वस्थ हुन सकिन्छ । पूँजी बजारमा रहेका कम्पनीहरुको अध्ययनका आधारमा पूँजी बजारमा गरिएको लगानीले उपयुक्त प्रतिफल दिन्छ भने विना अध्ययन लहडका भरमा गरिने लगानीले लगानीकर्तालाई नोक्सान समेत पु¥याउदछ । पूँजी बजारमा सँधै नाफा मात्रै हुन्छ भन्ने होइन । हतारमा, विना अध्ययन, अरुको पछि लागेर यदि पूजी वजारमा लगानी गरिन्छ भने त्यसले मानिसलाई धेरै नोक्सान समेत पु¥याउन सक्दछ । तसर्थ पूँजी वजारमा लगानी गर्ने जो सुकैले पनि आफूले लगानी गर्ने कम्पनीको विश्लेषण सहितको अध्ययन गरेर अगाडी वढ्दा त्यसले पूँँजीवजारको विकासलाई स्थायित्व तर्फ लैजान मद्दत पुग्दछ ।

आर्थिक विकासका लागि पूँजी संकलन तथा परिचालन गर्ने उपयुक्त र महत्वपूर्ण माध्यम नै पूँजी बजार हो । सर्वसाधारणमा साधारण शेयर निष्काशन, हकप्रद शेयर निष्काशन, ऋणपत्र निष्काशन, थप सार्वजनिक निष्काशन, सामूहिक लगानी कोष अन्तर्गतका इकाइहरु सर्वसाधारणमा निष्काशन आदिका माध्यम मार्फत पूँजी वजारमा सम्वन्धित कम्पनीहरुले रकम संकलन गर्दछन् र लगानीकर्ताहरुलाई सो वापत शेयर, डिवेन्चर, सामुहिक लगानीकोष इकाई आदिको वितरण गर्दछन् । यसरी एकातिर संकलन गरिएको रकमको विभिन्न क्षेत्रमा लगानी भई पूँजी वजारमा नै भित्रिने र अर्कोतर्फ वितरण गरिएको शेयर, डिवेन्चर, इकाई आदिको कारोवार पूँजी वजार अन्तर्गतको दोस्रो वजारमा भई त्यसले समेत पूँजी वजारमा पूँजीको परिचालन गराई देश विकासमा प्रभावकारी भूमिका खेल्दछ ।

पूँजी वजारमा आवद्ध सम्पूर्ण संस्थाहरुको संस्थागत विकास तथा ती संस्थाहरुबाट प्रवाह हुने सेवाले पूँजी वजारको महत्व दर्शाउनुका साथै लगानीकर्ताहरु माफ पूँजी वजारमा आवद्ध संस्थाहरुप्रति विश्वासको वातावरण समेत सृजना गरी पूँजी वजारको दिर्घकालीन विकास गराउँदछ । तसर्थ, पूँजी वजारमा सेवा प्रवाह र संस्थागत सुशासन एक आपसमा परिपुरक रहेका छन् । जहाँ पूँजी वजारको विकासको सोच राखिएको हुन्छ त्यहाँ अवश्यपनि सेवा प्रवाह र संस्थागत सुशासनमा ध्यान पु¥याउनुपर्दछ र संस्थागत सुशासनले सेवा प्रवाहमा र सहि सेवा प्रवाहले संस्थागत सुशासन कायम राख्न मद्दत गरिरहेको हुन्छ । नेपालको पूँजी बजारमा आवद्ध संस्थाहरुको संस्थागत सुशासन तथा सेवा प्रवाहका लागि नेपाल धितोपत्र बोर्डले प्रभावकारी भूमिका निर्वाह गरिरहेको छ ।

पूँजी वजारमा आवद्ध संस्थाहरु जस्तै नेपाल स्टक एक्सचेन्ज, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड, सामुहिक लगानी कोष, क्रेडिट रेटिङ्ग कम्पनि, मर्चेण्ट बैंकर, योजना व्यवस्थापक तथा डिपोजिटरी, धितोपत्र दलाल व्यवसायी, निक्षेप सदस्य, सूचीकृत हुन योग्य तथा सुचिकृत भएका कम्पनी तथा आस्वा/सिआस्वा सदस्यहरुलाई लाइसेन्स प्रदान तथा दर्ता गराएर पूँजी वजारमा क्रियासिल गराउने, ती कम्पनीहरुबाट प्रवाह हुने सेवाका सन्दर्भमा अनुगमन गर्ने, गुनासोहरुको संवोधन गर्ने, कम्पनीहरुको खराव आचरण देखिएमा कारवाही गर्ने, सेवा प्रवाहलाई समय सापेक्ष वनाउन सेवा प्रवाह सम्वन्धिका व्यवस्थाहरु सुधार गराउँदै जाने, संस्थाहरुलाई आफ्नो कार्य प्रति उत्तरदायी र जवाफदेही वनाउन भूमिका निर्वाह गर्ने, संस्थागत सुशासनका लागि अनुगमन तथा सुपरिवेक्षण गर्ने र आवश्यकता अनुसार संस्थागत सुशासन तथा सेवा प्रवाह सम्वन्धि विषयमा सुधारका लागी कानूनहरुको संशोधन गर्ने, विभिन्न कार्यका लागि संवन्धित कम्पनीहरुलाई इजाजत दिने, उक्त दिइएका इजाजतहरुको नविकरण गर्ने लगायतका कार्यहरु नेपाल धितोपत्र बोर्डले गर्दछ जुन कार्यले पूँजी वजारको विकासमा प्रभावकारी भूमिका खेलेको हुन्छ ।

पूँजी वजार आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको र नेपाल संस्थागत स्वरूपमा विकासका मार्गमा लागेको जम्मा अढाई दशक मात्र भएकोले नेपालमा पूँजी बजारको विकास र विस्तारको सम्भावना प्रशस्त देखिएकाले यसको विकास तथा विस्तारका लागि राज्यले पूँजी बजारको विकासलाई प्राथमिकतामा राखि सोही अनुसारको योजनाहरु सार्वजनिक गरिनुपर्दछ र पूँजी वजारको क्षेत्रलाई फराकिलो बनाउँदै लग्नुपर्दछ । पूँजी बजारको मेरुदण्डको रुपमा रहेको संस्थागत सुशासन र सेवा प्रवाहलाई पूँजी वजारमा आवद्ध सम्पूर्ण निकायहरुले महत्वका साथ ध्यानमा राखेर सेवा सञ्चालन गर्नुपर्दछ । आफ्नो कम्पनीले सर्वसाधारणलाई प्रवाह गर्ने सेवामा सुधार ल्याई आफ्नो सेवाबाट कसरी सेवाग्राही लाभांवित हुन सक्छन् भन्ने सोच सम्पूर्ण सेवा प्रदायक संस्थाहरुले राख्ने र आफ्नो कम्पनीमा संस्थागत सुशासनमा कमी आउन नदिई स्वच्छ तथा पारदर्शी ढंगले व्यक्तिगत वित्तीय स्वार्थ नराखी संस्थागत सुशासन मूल धर्म ठानी सेवा प्रवाह अगाडी वढ्दै गएको अवस्थामा पूँजी बजारले छिट्टै सगरमाथाको शिखर चुम्ने कुरामा विस्वस्त हुन सकिन्छ ।

– नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनद्धारा आयोजित पहिलो पूँजी बजार सम्बन्धि निबन्ध प्रतियोगितामा विधागत आधारमा उत्कृष्ट भएको निबन्धका लेखक अधिकारी हाल सांग्रिला डेभलपमेण्ट बैंकमा ‘लिगल हेड’ तथा कम्पनी सचिवको रुपमा कार्यरत छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।