जीवन बीमा कम्पनीमध्ये नयाँ कम्पनीको व्यवसाय वृद्धिदर धेरै, ६ महिनामा ६२ अर्ब बीमाशुल्क संकलन

0
Shares

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा जीवन बीमा कम्पनीतर्फ नयाँ जीवन बीमा कम्पनीहरु पुराना कम्पनी भन्दा अगाडि देखिएका छन् । बीमा समितिले उपलब्ध गराएको चालु आवको ६ महिनाको तथ्याङ्कलाई गत आवको यसै अवधिमा तुलना गरेर हेर्दा द्रुत बीमा शुल्क वृद्धि गर्नेमा नयाँ कम्पनी अगाडि देखिएका हुन् ।

गत आव २०७६/७७ को पुस मसान्तसम्मको तथ्याङ्कलाई चालु आवको यसै अवधिको तथ्याङ्कसँग तुलना गरेर हेर्दा व्यवसाय विस्तार गर्ने सूचीको शीर्ष पाँच कम्पनीभित्र ४ नयाँ कम्पनी रहेका छ भने एक मात्र पुरानो कम्पनी समेटिएको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीले ६२ अर्ब ८५ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । गत आवको सोही अवधिमा ४६ अर्ब ८८ करोड रुपैयाँ कुल बीमा शुल्क उठाएका कम्पनीहरुले बीमाशुल्क संकलनलाई ३४ प्रतिशतले वृद्धि गरेका हुन् ।

हरेक आर्थिक वर्षको अर्धवार्षिक अवधिलाई समीक्षा अवधिको रुपमा समेत हेर्ने गरिन्छ । कम्पनीहरुले यस अवधिमा कमाएको नाफा एवं अन्य शुल्कको आधारमा नै एक आर्थिक वर्षका लागि लिएको लक्ष्य पूरा हुन्छ वा हुन्न भन्ने पनि अनुमान गर्ने गरिन्छ ।

  • पाँच कम्पनी शतप्रतिशत भन्दा बढी व्यवसाय बढाउन सफल

चालु आवको पुस मसान्तसम्ममा ५ जीवन बीमा कम्पनीले शतप्रतिशले व्यवसाय बढाउन सफल भएका छन् । रिलायन्स, सानिमा, गुराँस, प्रभु र सिटिजन लाइफले शतप्रतिशत व्यवसाय बढाउन सफल भएका हुन् । जस अन्तर्गत गुराँसलाइफ पुरानो कम्पनी रहेको छ भने गुराँसपछि अरु सबै नयाँ जीवन बीमा कम्पनी रहेका छन् ।

तथ्याङ्क अनुसार गत आवको पुसको तुलनामा रिलायन्स लाइफ इन्स्योरेन्स सबैभन्दा बढी व्यवासाय वृद्धि गर्न सफल भएको छ । चालु आर्थिक वर्षको पुस महिनासम्ममा पुराना तथा नयाँ सबै कम्पनीलाई पछि पार्दै रिलायन्स पहिलो नम्बरमा छ ।  रिलायन्स लाइफसँगै अन्य नयाँ बीमा कम्पनी समेत व्यवसाय वृद्धिका आधारमा अघि देखिएका छन् । रिलायन्सपछि सानिमा, प्रभु र सिटिजन लाइफ समेत व्यवसाय वृद्धि गर्न आक्रमक देखिएका छन् । यी कम्पनीहरुले शतप्रतिशतभन्दा धेरैले व्यवसाय वृद्धि गर्दै कुल बीमाशुल्क आर्जन बढाएका हुन् ।

बीमा समितिका अनुसार गत आवको पुसको तुलनामा चालु आवको यसै अवधिमा रिलायन्स लाइफले १७२.०९ प्रतिशतले व्ययवसाय बढाएको हो । चालु आवको पुस मसान्तसम्ममा रिलायन्सले एक अर्ब १७ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । गत आवको सोहि अवधिमा ४३ करोड रुपैयाँ मात्रै कुल बीमा शुल्क संकलन गरेको यस इन्स्योरेन्सले एक वर्ष अवधिमा ७४ करोड रुपैयाँले कुल बीमा शुल्क संकलन वृद्धि गरेको हो ।

यसैगरी सानिमाले १४२.५० प्रतिशत, गुराँसले १२६.६० प्रतिशत, प्रभुले ११० प्रतिशत र सिटिजन लाइफले १०२.८२ प्रतिशतले बीमाशुल्क बढाएका छन् । पुरानो जीवन बीमा कम्पनी गुराँस लाइफले पनि गत पुसको तुलनामा १२६ प्रतिशत अर्थात १.१९ अर्बले कुल बीमाशुल्क संकलन वृद्धि गरेको छ ।

त्यस्तै, ४ कम्पनीले गत आवको पुस मसान्तको तुलनामा चालु आवको पुस मसान्तमा ५० प्रतिशत भन्दा बढीले व्यवसाय वृद्धि भएको छ । त्यस्तै, अन्य १० कम्पनीले गत आवको पुस मसान्तको तुलनामा चालु आवको पुस मसान्तमा ५० प्रतिशत भन्दा कम प्रतिशतले व्यवसाय वृद्धि गरेका छन् ।

नयाँ कम्पनीहरुको कुल बीमशुल्क संकलन वृद्धि भएपनि सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानको बीमाशुल्क भने गत पुसभन्दा २ करोडले घटेको छ । संस्थानले पुससम्म ५ अर्ब ८१ करोड मात्र कुल बीमाशुल्क संकलन गरेको हो ।

  • १९ जीवन बीमा कम्पनीद्धारा ६२ अर्ब ८५ करोड कुल बीमा शुल्क संकलन

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीले ६२ अर्ब ८५ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । गत आवको सोही अवधिमा ४६ अर्ब ८८ करोड रुपैयाँ कुल बीमा शुल्क उठाएका कम्पनीहरुले बीमाशुल्क संकलनलाई ३४ प्रतिशतले वृद्धि गरेका हुन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ का बावजुत पनि जीवन बीमा कम्पनीहरुले ३४ प्रतिशतले बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

यस अवधिमा १९ मध्ये १४ कम्पनीले एक अर्ब रुपैयाँ बढी बीमा शुल्क संकलन गर्न सफल देखिएका छन् । जसअन्तर्गत नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल), राष्ट्रिय बीमा कम्पनी, नेशनल, यूनियन, एशियन, सूर्या, प्राइम, मेट लाइफ र रिलायबल नेपाल लाइफले अर्ब भन्दा बढी बीमा शुल्क संकलन गरेका हुन् ।

यस अवधिमा नेपाल लाइफले सबैभन्दा बढी १७ अर्ब ६२ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गर्न सफल भएको छ । गत आवको पुससम्ममा १३ अर्ब ९६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको यस कम्पनीले एक वर्ष अवधिमा ३ अर्ब ६६ करोड रुपैयाँले बीमाशुल्क संकलन बढाएको हो ।

त्यस्तै, एलआइसी नेपालले ९ अर्ब ६१ करोड, राष्ट्रिय बीमा संस्थानले ५ अर्ब ८१ करोड र नेशनल लाइफले ५ अर्ब ५४ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।

एक अर्ब माथि बीमाशुल्क संकलन गर्ने १४ कम्पनीमध्ये रिलायन्स लाइफले सबैभन्दा कम एक अर्ब १७ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । पाँच कम्पनीले एक अर्बभन्दा कम बीमाशुल्क संकलन गरेका छन् ।

  • पाँच कम्पनीको बीमाशुल्क संकलन एक अर्ब भन्दा कम

चालु आवको ६ महिना अवधिमा ५ कम्पनीले एक अर्ब भन्दा कम बीमा शुल्क संकलन गरेका छन् । सन नेपाल, सानिमा, आईएमई, प्रभु लाइफ, र महालक्ष्मी लाइफ इन्स्योरेन्सले एक अर्बभन्दा कम बीमाशुल्क संकलन गरेका हुन् ।

तीमध्ये पनि महालक्ष्मी लाइफले २०७७ पुससम्ममा सबैभन्दा कम ४६ करोड रुपैयाँ मात्र कुल बीमाशुल्क संकलन गरेको छ । प्रभु लाइफले ६३ करोड तथा आइएमई लाइफले ८८ करोड कुल बीमाशुल्क संकलन गर्दा सन नेपाल, सानिमा लाइफको अर्ब नजिक रहेको छ । सन नेपालले ९९ करोड, सानिमाले ९७ करोड रुपैयाँ कुल बीमा शुल संकलन गरेका हुन् ।

  • जीवन बीमा इन्डष्ट्रिमा नेपाल लाइफको मात्रै २८ प्रतिशत योगदान

चालु आर्थिक वर्षको ६ महिनामा जीवन बीमा कम्पनीहरुले गरेको कुल व्यवसायमा नेपाल लाइफको मात्रै २८ प्रतिशत योगदान रहेको देखिएको छ ।

जीवन बीमा कम्पनीहरुले २०७७ पुससम्ममा ६२ अर्ब ८५ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । जसमध्ये नेपाल लाइफले १७ अर्ब ६२ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । यो कुल बीमा शुल्कको २८.०४ प्रतिशत हुन आउँछ ।

धेरै बीमाशुल्क संकलन गर्ने पाँच कम्पनीको हिस्सा ६६.६५ प्रतिशत रहेको छ । कुल बीमाशुल्कका आधारमा शीर्ष संकलन गर्ने पाँच कम्पनीले ४१ अर्ब ८९ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।

नेपाल लाइफपछि धेरै बीमा शुल्क संकलन गर्ने कम्पनीमा लाइफ इन्स्योरेन्स कर्पोरेशन, राष्ट्रिय बीमा कम्पनी, नेशनल लाइफ र युनियन लाइफ इन्स्योरेन्स रहेको छन् । यी कम्पनीहरुले ३ अर्ब ३० करोड रुपैयाँदेखि ९ अर्ब ६१ करोड रुपैयाँसम्म बीमाशशुल्क उठाएका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।