रिलायन्स लाइफ इन्स्योरेन्सले ६३ करोडको आईपीओ निष्काशन गर्ने

0
Shares

रिलायन्स लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि शेयर (आईपीओ) निष्काशनको प्रस्ताव राखेर दोस्रो बार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले यहि साउन ३१ गते शुक्रबार र्याडिसन होटल लाजिम्पाट काठमाडौंमा बिहान एघार बजे साधारण सभा गर्ने भएको हो ।

इन्स्योरेन्सको अधिकृत पूँजी ३ अर्ब र जारी पूँजी २ अर्ब १० करोड रूपैयाँ छ । इन्स्योरेन्सले हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ६३ करोड रूपैयाँ बराबरको ६३ लाख कित्ता आईपीओ निष्काशन गर्ने प्रस्ताव साधारणसभा बाट पारित गर्नेछ ।

कम्पनीले संस्थापक शेयरधनीबाट एक अर्ब ४७ करोड रूपैयाँ चुक्ता पूँजी कायम गरिसकेको छ । ६३ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेपछि कम्पनीको चुक्ता पूँजी बीमा समितिले तोके बमोजिम दुई अर्ब रुपैयाँ पुग्नेछ ।

आईपीओ निष्काशन गर्न इन्स्योरेन्सले निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा सानिमा क्यापिटललाई दिएको छ।

सिद्धार्थ बैँक लिमिटेड लगायत नेपालका केही प्रतिष्ठित घरानाहरूद्वारा प्रर्व्द्धित रिलायन्स लाइफ इन्स्योरेन्सले २०७४ मंसिर १ गतेदेखि विधिवत् रूपमा कारोबार शुरू गरेको थियो ।