नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ कसलाई कति कित्ता पर्यो ?

0
Shares

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको कार्यालयमा आज बाँडफाँड भएको छ ।

क्यापिटलका अनुसार निफ्राको आईपीओ १४ लाख ७५ हजार ८ जनाले प्राप्त गरेका छन् । १० देखि ५० कित्ता शेयर माग गर्नेलाई माग अनुसार नै शेयर वितरण गरिने भएको छ । यस्तै ६० कित्तादेखि २ लाख कित्तासम्म माग गर्नेलाई ५० कित्ता अनिवार्य र थप १० कित्ता शेयर बाँडफाँड गरिएको छ । क्यापिटलका अनुसार ४९ लाख २० हजार ७२० कित्ता शेयर गोलाप्रथाबाट बाँडफाँड गरिएको हो।

यसअनुसार ४ लाख ९२ हजार ७२ जनाले गोलाप्रथाबाट थप १० कित्ता सहित ६० कित्ता शेयर पाउने भएका छन् । आईपीओमा आवेदन गरेकामध्ये १४ लाख ७५ हजार ८ वटा आवेदन योग्य बनेको छ । आवेदन दिएकामध्ये ६ हजार २७६ वटा आवेदन रद्ध भएको छ ।

क्यापिटलका अनुसार ३४ हजार ३० जनाले १० कित्ता, २९ हजार ८५४ जनाले २० कित्ता, २० हजार २४८ जनाले ३० कित्ता, १६ हजार ९३४ जनाले ४० कित्ता र ५० कित्ताका लागि मात्र आवेदन गर्ने १ लाख ७९ हजार ९३८ जनाले ५० कित्ताका दरले शेयर पाएका छन् ।  ६० कित्ता बढी शेयर आवेदन गर्नेले ११ लाख ९४ हजार ४ जनाले ५० कित्ताका दरले अनिवार्य रुपमा शेयर पाएका छन् भने ४ लाख ९२ हजार ७२ जनाले थप १० कित्ता शेयर पाएका छन् ।

बैंंकले सर्वसाधारणमा ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर निष्काशन गरेको हो । कुल ८ करोड कित्ता शेयर निष्काशनमा ल्याएकोमा ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ ।

आईपीओमा माघ २ देखि ६ गतेसम्म नेपाल धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय तथा मेरो शेयरको मोबाइल एप तथा वेवसाइट मार्फत भर्न सकिने व्यवस्था गरिएको थियो ।

बैंंकको आईपीओ हालसम्मकै ठूलो साधारण शेयर (आईपीओ) हो । जारी पूँजी २० अर्ब रहेको बैंकले जारी पूँजीको ४० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । यो नै हालसम्मकै ठूलो सार्वजनिक निष्काशन हो । यसअघि एचआईडीसिएलले सर्वसाधारणमा २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर जारी गरेको थियो ।

पूर्वाधार क्षेत्र (जलविद्युत, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य) हरुमा लगानी गर्ने मूल उद्देश्य लिई स्थापित बैंकले नेपाल राष्ट्र बैंकबाट २०७५ माघ २८ गते राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा कार्य गर्न स्वीकृति पाएको थियो। सो लगत्तै २०७५ फागुन २२ गतेदेखि नै आफ्नो औपचारिक बैंकिङ्ग कारोबार सुरु गरेको थियो ।

बैंकको अधिकृत पूँजी ४० अर्ब र संस्थापकहरुबाट चुक्ता पूँजी १२ अर्ब छ । सर्वसाधारणहरुलाई शेयर निष्काशनपछि बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्नेछ । नेपाल सरकारको समेत लगानी रहेको बैंक नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।