गभर्नर ज्यूको उद्घाटनले मात्र तरकारी बजारमा क्यूआर कोड भुक्तानी बढ्न सकेन

0
Shares

नेपाल राष्ट्र बैंकले ‘लेस क्यास सोसाइटी’ को परिकल्पना गर्दै पछिल्लो समयमा क्विक रेपोन्स (क्यूआर) कोड मार्फत वित्तीय कारोबार गर्ने अभ्यास अघि सारेको छ ।राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै गएर कारोबार सुभारम्भ गरेर काठमाडौ भित्रका विभिन्न तरकारी बजारमा विद्युतीय भुक्तानी (क्यूआर कोड) सुरु गरेका छन् ।

पछिल्लो समयमा गभर्नर अधिकारी उपस्थित भएर नक्साल, कालिमाटी, बल्खु तथा कुलेश्वर तरकारी बजारमा गएर औपचारिक कार्यक्रम मार्फत कारोबार सुरु गरे तर, गभर्नरले उद्घाटन गरेपनि ती तरकारी बजारमा नगदको कारोबार भने कमी आएको छैन ।

गभर्नर अधिकारीले शुभारम्भ गरेको पहिलो तरकारी बजार नक्सालमा अहिले पनि ९७ प्रतिशत भन्दा धेरै कारोबारमा नगदमा हुने गरेको अवस्था छ । नक्साल तरकारी बजारका कतिपय पसलमा क्यूआर कोड मार्फत भुक्तानी हुने माध्यम पनि छैन ।

तरकारी किन्न आउने ग्राहक तथा पसलेहरुलाई सामान्य भन्दा सामान्य जानकारी नभएका कारणले पनि नगदमै कारोबार हुने गरेको देखिन्छ । क्यूआर कोड मार्फत भूक्तानी गर्दा प्रविधिको प्रयोगमा अभ्यस्त हुनुपर्ने तथा इन्टरनेटको प्रयोग मार्फत भुक्तानी गर्नका लागि आवश्यक जनचेतनाको कमी भएकाले पनि नगद कारोबारलाइ नै प्राथमिकता दिएको देखिन्छ ।

नेपाल राष्ट्र बैंकले कोरोना भाइरसको संक्रमणको जोखिम पनि न्यूनीकरण हुने भन्दै नगदको कारोबारको सट्टामा क्यूआर कोड भुक्तानीलाई जोड दिएको देखिन्छ । बैंकहरुलाई केन्द्रीय बैंकले आफ्नो कार्यालयको नजिक पर्ने तरकारी बजारहरुमा सम्पर्क रहित कारोबार गर्न क्यूआर कोड मार्फत भूक्तानीको व्यवस्था गर्न भनेको थियो । सोही अनुसार बैंकहरुले आफ्नो कार्यालय नजिकको हाट तथा तरकारी बजारमा क्यूआर कोड मार्फतको भुक्तानीलाई सुरु गरेका छन् ।

पछिल्लो समयमा सुरु भएको नक्साल तरकारी बजारको क्यूआर कोर्ड भुक्तानीको व्यवस्थापन सानिमा बैंकले गरेको छ भने कालिमाटी तरकारी बजारको प्रभू बैंक, कुलेश्वरमा नबिल बैंक र बल्खुमा एनएमबि बैंकले व्यवस्थापन गरेको छन् ।

यसमा बैंकहरुले क्यू आर भुक्तानीका लागि आवश्यक पुर्वाधार तयार गरेपछि उद्घाटन पछि त्यसलाइ कसरी व्यवस्थित र नियमित बनाउने भन्नेमा खासै ध्यान नदिएको देखिन्छ ।

सानिमा बैंकले पुस १० गतेबाट काठमाण्डौ स्थित नक्साल तरकारी बजारमा क्यूआर कोडबाट भुक्तानी कार्यक्रम सुरु गरेको थियो । तरकारी बजारमा क्यू आर कोड मार्फतको भुक्तानीको सुरुवात नै यहिबाट भएको हो । दैनिक उपभोग गर्ने वस्तुको खरिदमा डिजिटल बैंकिङको प्रयोगलाई बढवा दिन सुरु भएको सो कार्यक्रम खासै प्रभाबकारी भने देखिदैन ।

तरकारी बजारमा सुरु भएको त्यस प्रकारको कारोबारले खुद्रा पैसाको झन्झट नहुने, कारोबार सरल र सुरक्षित हुने भनिएता पनि त्यो हुन सकेन । तरकारी बजार प्रबेश गर्ने वित्तिकै पसलमा झुन्डिएका क्यूआर कोडका कार्ड हावाले हल्लाएको देखिन्छ । तर कारोबार भुक्तानी भने ९७ प्रतिशत नगदबाट नै हुने व्यापारीहरुको भनाई छ ।

नक्साल तरकारी बजारमा व्यवसाय सञ्चालन गर्दै आएका प्रकाश श्रेष्ठको पसल अघिपनि क्यू आर कोर्ड अंकित बोर्ड छ । श्रेष्ठलाई नगद कारोबार भन्दा पनि क्यू आर मार्फत भुक्तानी लिन-दिन ठिक लाग्छ । तर उनको आउने ३–४ जना ग्राहकले मात्र क्यूआरबाट भुक्तानी दिने गरेको उनी बताउँछन् । “कहिले काँही त त्यही पनि हुँदैन,” उनले भने । नक्साल तरकारी बजारमा क्यूआर कोर्ड मार्फतको भुक्तानी सुरु भएको एक महिना भन्दा धेरै भइसक्दा पनि प्रयोगकर्ताको संख्या भने बढ्न नसकेको उनको भनाई छ ।

त्यस्तै कालिमाटीका एक ब्यापारीले क्यू आर कोर्ड प्रयोग गर्ने ग्राहक खासै नआउने बताए ।

दिनमा एक–दुई जना माथिल्लो वर्गका व्यक्तिले मात्र यसको प्रयोग गर्छन । तरकारी बजारमा आउने अधिकासं गृहणी भएकाले पनि क्यूआर कोडको भुक्तानी बढाउनका लागि जनचेतना पनि आवश्यक रहेको उनले बताए ।

मोबाइल, इन्टरेनट, क्यूआर कोड लगायतका पुर्वाधार तयार गरेर मात्र भन्दा पनि तरकारी बजारमा आउने ग्राहकलाइ यस्तो प्रविधिमैत्री बनाउने सोच्नु पर्ने उनी सुझाउँछन् ।

त्यसैगरी नेटबजारसँग कुराकानी गर्दैगर्दा नक्साल तरकारी बजारमा आएका ग्राहक बुद्धि तामाङले तरकारी किनेपछि नगद नै तिरे । जसलाई क्यू आर भनेको के हो र यसबाट कसरी भुक्तानी गर्ने भन्ने बारे थाहा नै थिएन । बुद्धि तामाङ जस्तै सुस्मिता कँडेल, अशोक शाह, तोयानाथ घिमिरे, लक्ष्मीमाया श्रेष्ठ लगायत धेरै जनालाई क्यू आर कोर्ड ठाउँ ठाउँमा राखिएका विज्ञापन जस्तै भएका छन् ।

नक्साल तरकारी बजारको मात्र कुरा गर्दा ७० वटा पसल छन् । जसमध्य ध्रुवराज खतिवडा, नविना लामा, पूर्णिमा लामा, आस्था तामाङ र धनमाया थापाको पसलमा क्यू आर कोड समेत छैन । उनीहरु आफैँ जानकार नभएपछि त्यसलाई प्रयोग गर्ने बारे सोच्दा पनि सोचेनन् ।

तसर्थ नेपाल राष्ट्र बैंकको जोडबलमा बैंकहरुले सुरु गरेको क्यूआर भुक्तानी प्रचार प्रसारको माध्यम मात्र बन्ने देखिन्छ । यसमा नेपाल राष्ट्र बैंक तथा सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरु पनि उत्तिकै जिम्मेवार भएर लेस क्यास सोसाइटीको राष्ट्र बैंकको योजना सफल बनाउन ती क्षेत्रमा हुने खुद्रा कारोबारलाई विद्युतीय माध्यममा ल्याउन आवश्यक जनचेतनामा पनि ध्यान दिन जरुरी छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

 

प्रकाशित मिति: १८ माघ २०७७, आइतबार  १७ : ३३ बजे