बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा समितिलाई नियन्त्रक नबनाउन बीमकहरुलाई घुमाउरो तरिकाले चेतावनी दिएका छन् । शुक्रबार समितिमा आफ्नो अध्यक्षको कार्यभार सम्हाल्दै सिलवालले बीमा कम्पनीहरु तथा अन्य सरोकारवालाहरु सबै आफैँ ऐन नियम भित्र रहेर काम गरे समितिले कारवाही गर्नुपर्ने अवस्था नै नआउने बताए ।
बीमकहरुले अहिले पनि ठूला व्यक्ति र व्यवसायमा केन्द्रित रहेर नाफामुखी रहेको भन्दै उनले दुई छाक जोहो गर्न नसक्नेहरु कहाँ बीमा पुग्नुपर्ने बताए । बीमा क्षेत्रमा लगानी गरेर मुनाफा कमाउनेको नाफा वैधानिक हुनुपर्ने उनको भनाई थियो ।
बिहीबार अर्थ मन्त्रालयबाट नियूक्ती बुझेका नवनियुक्त अध्यक्ष सिलवालले शुक्रबार समितिमा कार्यभार सम्हाल्दै बीमा कम्पनीलाई कानूनको उल्लंघन गरेर अख्तियारसम्मको बाटोमा नपुग्न सुझाव दिए ।
आफ्नो मन्तव्यको क्रममा बीमा व्यवसायलाई अझै व्यवस्थित गर्न आवश्यक रहेको औंल्याएका नवनियुक्त अध्यक्ष सिलवालले बीमासँग सम्बन्धीत सबै निकाय मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । समन्यायको सिद्धान्तबाट सबै जना अगाडि बढ्नुपर्ने सिलवालले बताए ।
बीमा क्षेत्रलाई कसरी अघि बढाउन सकिन्छ भन्ने कुरामा बीमा सम्बन्धी सबै निकाय मिलेर जानुपर्ने बताउँदै उनले भने:- ‘बीमा समितिलाई नियन्त्रक बनाईनु भनेको काम बिगार्नु हो । बीमा समिति नियन्त्रक बनेर काम गर्दा काम झन् बिग्रिने भएकाले सबै मिलेर समन्यायको सिद्धान्तमा बीमा व्यवसायलाई अघि बढाईनुपर्छ । ’
आज पनि बीमालाई नजिकबाट नियाल्ने र बीमा बुझ्ने जनसंख्या हातमा गन्न सकिने मात्रै रहेको उनको भनाई थियो । उनले भर्ने आज पनि गाउँमा बीमा सम्बन्धी जानकार रहेको जनसंख्या न्यून छ, त्यस्ता व्यक्तिमा बीमाको पहुँच पुग्न जरुरी छ ।’
बैंकिङ्गको तुलनामा बीमाको पहुँच अझै कम रहेको बताउँदै बीमा कम्पनीहरु अहिले पनि ठूला व्यक्ति र व्यवसायमा केन्द्रित रहेकोमा अब बीमाको पहुँच दुई छाक जोहो गर्न नसक्नेहरुका लागि हुनुपर्ने बताए । यस्तो क्षेत्रमा बीमा गर्न सबैैले सहयोग आवश्यक हुने उनको भनाई थियो ।
उनले भने ‘झुपडीमा बस्ने मान्छेसँग घरको बीमा गर्नका लागि १० हजार रुपैयाँ हुँदैन । यस्ता व्यक्तिको बीमा गर्नु पूण्यको काम हो । त्यस्ता व्यक्तिसम्म पुगे हामीलाई सबैले चिन्छन् ।’ आज पनि गाँउ घरमा बीमा बुझेको जनसंख्या थोरै रहेको बताउँदै एउटा गाउँमा बीमा बुझेका टाठो बाठो ९/१० प्रतिशत व्यक्ति पाउन पनि कठिन हुने बताए ।
बीमा क्षेत्र समस्या नै समस्याको पहाडले जेलिएको क्षेत्र रहेकाले समस्या समाधानका लागि के के उपाय छन्, बीमा कम्पनीले दिएको सुझावलाई स्वीकार गर्न आफु तयार रहको उनको भनाई थियो । इकोनोमिक क्षेत्रमा अरु क्षेत्र जसरी बीमा क्षेत्र अघि बढ्नुपर्ने थियो, त्यसरी अघि बढ्न नसेकको बताउँदै बीमा क्षेत्र फस्टाउन बाधा पुर्याउने कुराको खोजी गर्नुपर्ने बेला आएको उनले बताए ।
बीमा क्षेत्रका सबै पक्ष आफुले नजान्ने भएपनि के के गर्दा बीमाको दायरा बढाउन सकिन्छ त्यस क्षेत्रको विस्तारका लागि आफूले सक्ने सहयोग गर्ने उनले प्रतिबद्धता जनाए । बैंकिङ पहुँच ६० प्रतिशत पुगिसक्दा बीमाको पहुँच ३० प्रतिशत मात्र रहेकाले अब बीमाको विकास र विस्तारमा सबैको साथ आवश्यक रहेको अध्यक्ष सिलवालले बताए ।
बीमा क्षेत्रमा नयाँ भएपनि आफूले अर्थतन्त्र राम्रोसँग बुझेको बताएका उनले बीमा क्षेत्रका विभिन्न ट्रम बुझ्न समय लागेपनि यस क्षेत्रको विकासका लागि सक्दो प्रयास गर्ने उनको भनाई थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।
प्रतिक्रिया