नगद नबोकी तरकारी किन्न सकिने काठमाण्डौंका पाँच बजार

0
Shares

नेपाल राष्ट्र बैंकले कोरोना भाइरस संक्रमण पश्चात नगद रहित कारोबारलाई प्रोत्साहन गर्ने नीति कार्यान्वयमाल लगेपछि काठमाडौंका लगभग आधा दर्जन तरकारी बजारमा नगद नबोकी विद्युतीय (डिजिटल) माध्यमबाटै तरकारी किन्न सकिने अवस्था आएको छ ।

राष्ट्र बैंकको निर्देशन पश्चात विभिन्न वाणिज्य बैंकहरुले आफ्नो नजिक पर्ने तरकारी बजारमा डिजिटल भुक्तानी सेवा क्वीक रिपोन्स (क्यूआर) कोड सञ्चालनमा ल्याएपछि तरकारी किन्न जाँदा नगद बोक्नुपर्ने झन्झट हटेको हो ।  डिजिटल वित्तीय प्रणालीको विकास तथा प्रवद्र्धन गर्न नेपाल राष्ट्र बैंकको पहल र बैंक तथा तरकारी बजारको समन्वयमा तरकारी खरीद बिक्रीमा क्यूआर कोड मार्फत बाट भुक्तानी गर्न सम्भव भएको हो ।

नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीबाट लगभग डेढ महिना अघि मात्र काठमाण्डौंमा रहेको नक्साल तरकारी बजारबाट सुरु

भएको क्यूआर अहिले राजधानीका पाँच वटा तरकारी बजारमा विस्तार भैसकेको छ । खासगरी व्यापार र कार्यालयीय प्रयोजनमा धेरै अघिदेखि क्यूआर कोडको प्रयोग हुँदै आएको भएपनि नेपाल राष्ट्र बैंकले दैनिक प्रयोगमा आउने तरकारी बजारमा नै यसको प्रयोलाई बढवा दिन थालेपछि यसप्रति आम जनमानसमा चासो समेत ह्वात्तै बढेको छ ।

  • कुन-कुन तराकारी बजारमा सकिन्छ डिजिटल माध्यमबाट तरककारी किन्न ?

हाल राजधानीका नक्साल, कालीमाटी, बल्खु, कुलेश्वर, र तिनकुने तरकारी बजारमा ग्राहकहरुले आफ्नो बैंक खाताबाटै सोझै बिक्रेताको बैंक खातामा क्यूआर कोड मार्फत विद्युतीय माध्यमबाट भुक्तानी गर्न सक्नेछन् ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप डिजिटलमा केन्द्रित रही सानीमा बैंकले नक्साल तरकारी बजारमा, प्रभु बैंकले कालीमाटी तरकारी बजारमा, एनएमबी बैंकले बल्खु तरकारी बजारमा, नबिल बैंकले कुलेश्वर तरकारी बजारमा र माछापुछ्रे बैंकले तिनकुने तरकारी बजारमा क्यू आर सेवा विस्तार गरेको छ । अन्य तरकारी बजारमा पनि क्रमशः विस्तार गर्दै जाने सोच केन्द्रीय बैंकको छ ।

माथिका तरकारी बजारका सबैजसो पसलमा पसलैपिच्छै क्यूआर कोड राखिएका छन् । उक्त कोडमा स्क्यान गरेर विद्युतीय माध्यमबाट तरकारी खरीदको भुक्तानी गर्न सकिन्छ । ग्राहकहरुको सुविधाका लागि यी बजारहरुमा निःशुल्क इन्टरनेट सेवा (वाइफाई) उपलब्ध गराइएको छ ।

कारोना महामारीपछि नगद रहित भुक्तानीले क्यू आरको महत्व अझै बढ्दै गएको छ ।

  • के हो क्यू आर कोड ? कसरी गर्ने भुक्तानी ?

छोटकरीमा भन्नु पर्दा मोबाइलबाट स्कान गरेर भुक्तानी गर्न सकिने एक प्रकारको विद्युतीय माध्यम नै क्यूआर हो । जसलाई ‘क्वीक रेस्पोन्स’ पनि भनिन्छ ।

क्यू आर प्रयोग गर्न बैंक संग प्रतक्ष्य रुपमा जोडिनु पर्छ । कुनै बैंकमा आफ्नो बैंक खाता र साथमा स्मार्ट फोन नभएको खण्डमा क्यूआर प्रयोग गर्न सकिँदैन ।

कालो र सेतो धर्का अथवा पजलजस्तो देखिने क्यूआर कोडमा कुनै कम्पनी अथवा ग्राहहको बैंकको विस्तृत विवरण राखिएको हुन्छ । जसलाई स्क्यान गरेपछि भुक्तानी गर्नेले भुक्तानी गर्नुपर्ने रकम हालेर आफ्नो पिन नम्बर हालेर आफ्नो बैंक खाताबाट अर्को बैंक खातामा सोझै रकम भुक्तानी गर्न सकिन्छ ।

विद्युतीय माध्यमबाट हुने भुक्तानीलाई बढावा दिन सकेको खण्डमा नेपाल राष्ट्र बैंकले हरेक वर्ष नोट छपाइमा खर्च गर्ने अबौं रकम विदेशीनबाट जोगिनेछ । यसको प्रयोगलाई बढाउन उद्घाटन गर्ने अनि छाड्ने भन्दा त्यसको निरनतर फलोअप र आम जनतामा यसको प्रयोग गर्ने तरिका र फाइदाका बारेमा बुझाउन सकेको खण्डमा मात्र डिजिटल नेपालको नारालाई समेत साथ मिल्ने देखिन्छ । सुरुवातका दिनहरुमा नगद भन्दा विद्युतीय माध्यमबाट गरिने भुक्तानीमा छुट सुविधा दिन सकेको खण्डमा समेत यसप्रति आम मानिसको आकर्षण बढ्नसक्ने जानकारहरु बताउँछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २४ माघ २०७७, शनिबार  १६ : २२ बजे