बीमा कम्पनीहरुको लाभांशः कसले कति घोषणा गरे, कुन-कुनको बाँकी छ ?

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १८ निर्जीवन र ९ जीवन बीमा गरी २७ वटा बीमा कम्पनीहरु सूचीकृत छन् ।  सूचीकृत २७ बीमा कम्पनीमध्ये १२ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् । सूचीकृत ९ जीवन बीमामध्ये ५ र १८ निर्जीवनमध्ये ७ वटा कम्पनीहरुले लाभांश घोषणा गरेका छन् ।

आव २०७५/७६ बाट ७ निर्जीवन बीमा र ५ जीवन बीमा गरी १२ कम्पनी तथा आज २०७६/७७ बाट ३ निर्जीवन बीमा कम्पनीले लाभांश घोषणा गरेका हुन् । जसमध्ये नेपाल इन्स्योरेन्सले दुबै आर्थिक वर्षमा लाभांश वितरण गरेको छ भने आव २०७५/७६ मा लाभांश वितरण नगरेका शिखर र प्रिमियर इन्स्योरेन्सले गत आव २०७६/७७ बाट लाभांश घोषणा गरेका हुन् ।

  • सात निर्जीवन बीमा कम्पनीको लाभांश घोषणा

निर्जीवन बीमा कम्पनीतर्फ नयाँ निर्जीवन बीमा कम्पनी अजोड, सानिमा इन्स्योरेन्स र जनरल इन्स्योरेन्स तथा सूचीकृत १५ पूराना सहित १८ वटा कम्पनी सूचीकृत रहेका छन् ।

सूचीकृत १५ पूराना कम्पनीमध्ये ७ वटा कम्पनीले आर्थिक वर्ष २०७५/७६ बाट लाभांश घोषणा गरी साधारण सभा पनि सम्पन्न गरिसकेका छन् । आठ कम्पनीले आर्थिक वर्ष २०७५/७६ बाट लाभांश वितरण गरेका छैनन् ।

आर्थिक वर्ष २०७५/७६ बाट लाभांश घोषाणा गरेका कम्पनीहरुमा हिमालयन जनरल, आईएमई जनरल, लुम्बिनी जनरल, नेपाल इन्स्यारेन्स, एनएलजी, नेको र प्रभु इन्स्योरेन्स रहेका छन् । यी सबै कम्पनीले आर्थिक वर्ष २०७५/७६ को साधारण सभा समेत सम्पन्न गरेका छन् ।

आर्थिक वर्ष २०७५/७६ बाट हिमालयन जनरलले ४ प्रतिशत बोनस र ३.७५ प्रतिशत नगद गरि कुल ७.७५ प्रतिशत, आईएमई जनरलले ६ प्रतिशत बोनस र ०.३१ प्रतिशत गरी कुल ६.३१ प्रतिशत, लुम्बिनी जनरलले ८.१२५ प्रतिश बोनस र ०.४०६ प्रतिशत नगद गरि कुल ८.५३१ प्रतिशत, नेकोले ८ प्रतिशत नगद लाभांश, नेपाल इन्स्योरेन्सले ५ प्रतिशत बोनस र २.८९ प्रतिशत नगद गरि कुल ७.८९ प्रतिशत, एनएलजी इन्स्योरेन्सले ७ प्रतिशत बोनस र ०.३७ प्रतिशत नगद गरि कुल ७.३७ प्रतिशत, र प्रभु इन्स्योरेन्सले ५ प्रतिशत बोनस र ११.३२ प्रतिशत नगद गरि कुल १६.३२ प्रतिशत लाभांश घोषणा गरी साधारण सभाबाट पारित गरेका हुन् । कतिपय कम्पनीले साधारण सभाबाट पारित लाभांश वितरण समेत गरिसकेका छन् ।

आर्थिक वर्ष २०७५/७६ बाट लाभांश घोषणा नगरेका युनाईटेड इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले पनि साधारण सभा सम्पन्न गरि सकेका छन् । नयाँ कम्पनीहरु अजोड, सानिमा जनरल र जनरल इनस्योरेन्सले पनि आव २०७५/७६ बाट लाभांश वितरण गर्न सकेनन् ।

सगरमाथा इन्स्योरेन्सले विना लाभांश साधारण सभा सम्पन्न गरिसकेको छ । एनएफआरएसमा बाँडफाँडका लागि योग्य रकम ऋणात्मक रहेकाले कुनै पनि लाभांश वितरण गर्ने निर्णय भएको थियो । कम्पनीले २०७४/७५ बाट भने ८६ प्रतिशत लाभांश वितरण गरेको थियो । यसैगरी यूनाईटेड इन्स्योरेन्सले पनि लाभांश विना नै साधारण सभा सम्पन्न गरिसकेको छ ।

  • राष्ट्रिय बीमा कम्पनी हालत सधैं उस्तै, ८ आवको लेखापरीक्षण र साधारण सभा गर्न बाँकी

सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले २०७५ असोज १९ गते एकैपटक आर्थिक वर्ष २०६३/६४ देखि २०६७/६८ सम्मको पाँच वर्षको (३० औं) साधारण सभा सम्पन्न गरेपछि लाभांश घोषणा तथा साधारण सभा गर्न सकेको छैन । लामो समय वित्तीय विवरण र साधारण सभा गर्न नसकेपछि कम्पनीको शेयर कारोबार समेत नेप्सेले रोक्का राखेको छ ।

कम्पनीको आर्थिक वर्ष २०६८/६९ देखिको अझै ८ वर्ष अवधिको साधारण सभा तथा लाभांश घोषणा गर्न बाँकी छ । कम्पनीले २०७४ बैशाख २२ गते आर्थिक वर्ष २०६०/६१ देखि २०६२/६३ सम्मको गरि तीन आर्थिक वर्षको साधारण सभा सम्पन्न गरि ११४.२७ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद वितरण गरेको थियो । सो पश्चात कम्पनीले १२० प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेपनि बीमा समितिले प्रस्तावित लाभांश वितरणका लागि स्वीकृति नदिँदा सो लाभांश वितरण हुन सकेन ।

शिखर इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स र नेपाल इन्स्योरेन्स गरी तीन कम्पनीले आर्थिक वर्ष २०७६/७७ बाट लाभांश घोषणा गरेका हुन् । शिखर र प्रिमियर इन्स्योरेन्सले २०७५/०७६ का बाट शेयरधनीलाई कुनैपनि लाभांश वितरण गरेका थिएनन् ।

  • पाँच जीवन बीमा कम्पनीले घोषणा गरे लाभांश

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ९ जीवन बीमा कम्पनी छन् । सूचीकृतमध्ये ५ जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०७५÷७६ बाट लाभांश घोषणा गरेका हुन् ।

जीवन बीमा कम्पनीहरुको एक्चुअरी भ्यालुएसनका कारण अन्य कम्पनीको तुलनामा एक वर्ष ढिला साधारण सभा हुँदै आएको छ ।

दक्ष जदशक्तिको अभावका कारण एक्चुअरी भ्यालुएसन र वित्तीय विवरणको लेखापरीक्षणमा छिटो हुन नसक्दा जीवन बीमा कम्पनीहरुको लाभांश घोषणा र साधारण सभामा ढिलाई हुँदै आइरहेको छ । जीवन बीमा कम्पनीहरुले बल्ल आव २०७५÷७६ बाट लाभांश घोषणा र साधारण सभा सम्पन्न गर्न थालेका छन् ।

जीवन बीमा कम्पनी तर्फ नेप्सेमा नयाँ कम्पनीको रुपमा स्थापित रिलायन्स र प्रभु लाइफ सहित ९ कम्पनी सूचीकृत छन् । पुराना ७ सूचीकृत जीवन बीमा कम्पनीमध्ये अघिल्लो आव २०७५/७६ बाट हालसम्म ५ वटाले लाभांश घोषणा गरेका छन् । दुई कम्पनीको लाभांश घोषणा हुन बाँकी छ ।

जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफ, एलआईसी, नेशनल लाइफ, प्राइम लाइफ, सूर्या लाइफले लाभांश घोषणा गरेका हुन् । गुराँस र एशियन लाइफ इन्स्योरेन्सको आव २०७५/७६ बाट लाभांश घोषणा हुन बाँकी छ ।

यस्तै नयाँ जीवन बीमा कम्पनी रिलायन्सले २०७७ असार २८ गते नै आव २०७५/७६ को साधारण सभा सम्पन्न गरिसकेको छ । कम्पनीले सो आवबाट कुनै लाभांश वितरण गरेको छैन । आव २०७५/७६ बाट लाभांश घोषणा गरेका पुराना जीवन बीमा कम्पनीमध्ये प्राइम लाइफले पुस २७ गते, सूर्या लाइफले माघ ५ गते, नेशनल लाइफले माघ १५ गते र नेपाल लाइफले माघ २८ गते साधारण सभा सम्पन्न गरिसकेको छ् । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) ले फागुन २५ गते सभा बोलाएको छ ।

  • नेपाल लाइफले सबैभन्दा बढी लाभांश घोषणा

आव २०७५/७६ बाट लाभांश घोषणा गरेका जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफले सबैभन्दा बढी लाभाशं वितरण गर्ने प्रस्ताव आजै मात्र पारित गरेको छ । इन्स्योरेन्सले २०७५/०७६ को मुनाफाबाट ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश गरी कुल ५१ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

प्राइमले ७ प्रतिशत बोनस र ८ प्रतिशत नगद गरि कुल १५ प्रतिशत, नेशनलले १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद गरि कुल १०.५३ प्रतिशत, सूर्याले ५ प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश पारित गरेका हुन् ।

लाइफ इन्स्योरेन्स कर्पोरेशनको सबैभन्दा कम १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारण सभा फागुन २५ गते आह्वान गरिएको छ ।

लाभांश घोषणा गर्न बाँकी कम्पनीमध्ये एशियन लाइफले आर्थिक वर्ष २०७३/७४ देखि लाभांश वितरण गरेको छैन । एशियन लाइफले आर्थिक वर्ष २०७३/७४ बाट इन्स्योरेन्सले ४ प्रतिशत बोनश शेयर वितरण गरेको थियो । यस कम्पनीले दुई आर्थिक वर्षको साधारण सभा सम्पन्न गर्न बाँकी छ । गुराँस लाइफले २०७४/७५ मा ५.२५ प्रतिशत लाभांश वितरण गरेको थियो भने आव २०७५/७६ को लाभांश घोषणा हुन बाँकी छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।