बैंकिङ क्षेत्रको उच्च व्यवस्थापनमा पुरुष एकाधिकार तोडिँदै

0
Shares

नेपाली बैंकिङ क्षेत्रका अधिकांश संस्थाहरुको उच्च नेतृत्वमा पुरुषहरुको एकाधिकार तोडिँदै जान थालेको छ । बैंक तथा वित्तीय संस्थाको बाक्लो उपस्थिति र उच्च प्रतिस्पर्धाले सिर्जना गरेको अवसरले वित्तीय संस्थाको उच्च तहमा महिला सहभागिता बढेको हो ।

बैंक वित्तीय संस्थाको संख्या बढेसँगै सो क्षेत्रले नयाँ जनशक्ती उत्पादन गर्ने क्रममा महिलाको सहभागिता बढ्न थाल्यो । त्यति मात्र नभई राजनैतिक परिवर्तनले महिलालाई घर भित्र नै सीमित राख्नुपर्ने सामाजिक सोचलाई समेत परिवर्तन गरेपछि महिलाहरु उच्च शिक्षा तथा रोजगारका लागि बाहिर आउन थाले ।

नेपालको बैंकिङ इतिहासमा पहिलो महिला प्रमूख कार्यकारी अधिकृतको रुपमा मेगा बैंकले अनुपमा खुन्जेलीलाई जिम्मेवारी प्रदान गर्यो । उनी नेपालको ८३ बर्षको बैंकिङ इतिहासमा वाणिज्य बैंकको पहिलो महिला प्रमूख कार्यकारी अधिकृत हुन् । त्यतिमात्र नभई बैंकिङ क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरसम्म पनि अहिलेसम्म महिला पुग्न सकेका छैनन् ।

तर, पछिल्ला दिनहरुमा महिलाका लागि आकर्षक रोजगारको क्षेत्रको रुपमा स्थापना भएको बैंकिङ क्षेत्रले सक्षम तथा दक्ष महिला जनशक्तीको उत्पादन पनि बढाउँदै गएको छ । पछिल्लो एक दशकको अवधिमा एक वाणिज्य बैंकले महिला प्रमूख कार्यकारी पायो भने उच्च व्यवस्थापनमा पनि उत्साहजनक सहभागिता देखिएको छ ।

जोखिम बहन गर्ने र उच्च व्यवस्थापनको जिम्मा पुरुषको मात्र होईन भन्ने सोचको विकास गर्दै महिलाले पछिल्लो समयमा जोखिम रहितको उच्च जिम्मेवारी बहन गरेको देखिन्छ । त्यतिमात्र नभई नव प्रवेशीको सन्दर्भमा बैंक वित्तीय संस्थाले पुरुष भन्दा महिला जिम्मेवार भएर काम गर्ने भन्दै महिलालाई नै प्राथमिकतामा राख्ने गरेको देखिन्छ ।

बैंकिङ क्षेत्रको विकास विस्तार र त्यसबाट सिर्जना भएका अवसरहरुले शैक्षिक रुपमा व्यवस्थापन अध्ययन गर्नेको संख्या समेत महिला सहभागिता धेरै हुँदै आएको छ । आर्थिक उदारीकरणपछि अर्थात २०४६ साल पछि सुरु भएको निजी क्षेत्रको सक्रियताले महिलालाई पनि घर भित्रबाट बाहिर निकालेको छ ।

पछिल्लो ३ दशकको अवधिमा १५ वाणिज्य बैंकका उच्च व्यवस्थापकीय तहमा महिला पुगेका छन् । तर, अझै पनि १२ वाणिज्य बैंकको हकमा भने महिला उच्च व्यवस्थापनमा पुग्न सकेका छैनन् ।अझै पनि कति ठाउँहरुमा त शिक्षा र रोजगारी जस्ता क्षेत्रबाट पनि महिलालाई बञ्चित गरिन्छ । हिजोका दिनमा चुलो, चौको, घाँस दाउरा अनि मेलापातमा मात्रै सीमित रहने महिलाहरुले अहिले धेरै संघ संस्थाहरु सम्हालेका छन् ।

अहिले देशमा २७ वटा वाणिज्य बैंकहरु सञ्चालनमा रहेका छन् । जसमध्ये १५ बैंकका उच्च व्यवस्थापन तहमा महिला पुगेका छन् । मेगा बैंकमा उप प्रमुख कार्यकारी अधिकृतमा रविना देशराज श्रेष्ठ छिन् । प्रमुख कार्यकारी अधिकृत, उप प्रमुख कार्यकारी अधिकृत मात्र होइन यस बैंकका उच्चपदमा १७ जना महिला कर्मचारी कार्यरत छन् ।

अवसर पाए महिलाले जे जस्तो ठाउँमा पनि पुरुष सो सरह काम गर्न सक्छन् भन्ने पुष्टि मेगा बैंकको उदाहरणबाट पनि हेर्न सकिन्छ ।

त्यसैगरि सेन्चुरी बैंकमा अनुपमा श्रेष्ठ चिफ रिक्स अफिसर छिन् । यसले पनि महिला सँग जोखिम मोल्ने र व्यवस्थापन गर्ने क्षमता रहेको स्पष्ट हुन्छ । त्यस्तै सिटिजन्स बैंक, ग्लोबल आइएमई बैक, लक्ष्मी बैंकमा १-१ जना महिला उच्च व्यवस्थापनमा कार्यरत छन् ।

नविल बैंकमा १० जना, नेपाल वंगलादेश बैंकमा १ जना, नेपाल बैंकमा ६ जना, नेपाल इन्भेष्टमेन्ट बैंकमा ५ जना, एनएमबि बैंकमा १ जना, प्रभु बैंकमा १ जना, सानिमा बैंकमा ४ जना, सिद्धार्थ बैंकमा १ जना, स्ट्याण्डर्ड चार्टर्ड बैंकमा २ जना, सनराइज बैंकमा १ जनागरि जम्मा ५१ जना महिला कर्मचारी बैंकका उच्च व्यवस्थापकीय तहमा कार्यरत छन् ।

हाम्रो समाजमा पितृसत्तात्मक, परम्परागत सोच, जात, धर्म, वर्णका आधारमा महिलालाई अझै पनि हेपिन्छ । विवाहका लागि शिक्षित र सक्षम महिलाको खोज गरिन्छ । तर, विवाह पछि महिलाको शिक्षा र क्षमताको मूल्याङ्कन नगर्ने उदाहरण पनि हामी कहाँ यथावत छ । यि सबै भनाई सोच बदल्दै आफ्नो खुबी दर्शाउँदै उच्च पदमा पुगेका यी महिलाहरुलाई सफल कार्यकालको शुभकामना !!!

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।