२० औं वाणिज्य बैंकको एक दशकको यात्रा, लगानीकर्तालाई निरन्तर दोहोरो अंकको प्रतिफल


देशको २० औं वाणिज्य बैंकको रुपमा २०६४ बैशाख ७ गते स्थापना भएको सिटिजन्स बैंक इन्टरनेशनलले झण्डै १४ वर्षे यात्रा पूरा गरेको छ । ५६ करोड रुपैयाँ चुक्ता पूँजीबाट सुरु भएको सिटिजन्स बैंकको बैंकिङ कारोबार यो अवधिमा करिब १० अर्ब रुपैयाँको बनेको छ । यो अवधिमा बैंकको वित्तीय अवस्था मात्र नभई सेवा प्रवाह र बजार हिस्साको दृष्टिकोणबाट पनि बलियो र प्रतिस्पर्धी संस्थाको रुपमा स्थापित हुन सफल भएको छ ।

बैंक तथा वित्तीय संस्था खोल्ने होडबाजी नै चलेको समयमा २० औं वाणिज्य बैंकको रुपमा स्थापना भए पनि अहिले अन्य संस्थामा मर्ज वा विलय हुने भन्दा पनि साना संस्थालाई आफुमा समाहित गरेर ठूलो आकारको बैंक बन्ने योजना सहित काम गर्दै आएको बैंकका प्रमूख कार्यकारी अधिकृत गणेशराज पोख्रेल बताउँछन् । सिटिजन्स पछि पनि बजारमा करिब एक दर्जन बैंकहरु थपिए । नेपालमा वाणिज्य बैंकको संख्या नै ३२ सम्म पुगेको अवस्था थियो । सिटिजन्स बैंकसँगै सोही वर्ष अर्थात २०६४ सालमा नै सनराइज तथा प्राइम कमर्सियल बैंकले बजारमा उपस्थिति जनाएका थिए । यस दौरान हाल वाणिज्य बैंकको संख्या २७ छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष लगायत उद्योगी व्यवसायीहरुको लगानी रहेको बैंकको व्यवस्थापकीय नेतृत्व वित्तीय क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकको उच्च तहमा काम गरिसकेका राजन सिंह भण्डारीको हातमा रह्यो । बैंक स्थापनाकालदेखि अघिल्लो बर्षसम्म उनले नै बैंकको नेतृत्व सम्हालेका थिए । पेशाले चार्टर्ड एकाउन्टेन्टस् भण्डारी बैंकको प्रमुख कार्यकारी अधिकृतको भूमिकाबाट बाहिरिएपछि अहिले बैंकको अध्यक्षका रुपमा नेतृत्व सम्हालिरहेका छन् ।

बैंकका पाँच संस्थागत मूल्य र मान्यता रहेका छन । सेवाग्राही केन्द्रीत, सेवामा उत्कृष्टता, इमान्दारीता, मिजासिला र सहयोगी जनशक्ती, जवाफदेहीता र पारदर्शीता सहितको संस्थागत सुशासनका साथै देश विकासका लागि सामाजिक अभियानहरु सञ्चालन गर्ने प्रतिबद्धता सहित बैंक अघि बढिरहेको छ । यी मूल्य मान्यताले बैंकलाई प्रतिस्पर्धी र ग्राहकप्रेमी बनाउन ठूलो योगदान पुर्याएको बैंकका प्रमूख कार्यकारी अधिकृत पोख्रेलको भनाई छ ।

सञ्चालनमा रहेका अन्य बैंकहरु भन्दा फरक पहिचान बनाएको सिटिजन्स बैंकले ग्राहकलाई सम्मान सहितको सेवालाई सफलताको प्रमूख कडि मानेको देखिन्छ । अन्य बैंकको तुलनामा यो बैंकका कर्मचारीले ग्राहकलाई गर्ने सम्मानले नै बैंकिङ क्षेत्रमा सिटिजन्स बैंकको छुट्टै पहिचान बनाएको छ । बैंकमा जाने ग्राहकलाई पहिला नमस्ते त्यसपछि बैंकका तर्फबाट गरिने सेवा सुरु गर्ने प्रचलन छ ।

स्थापना भएको करिब डेढ वर्षमा ३० करोड रुपैयाँ बरावरको साधारण शेयर निष्काशन गरेर बैंकले चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुर्याएको थियो । बैंकले साधारण शेयर निष्काशनपछि हालसम्म लगानीकर्तालाई २ आर्थिक वर्षमा बाहेक हरेक आर्थिक वर्षमा दोहोरो अंकको प्रतिफल दिँदै आएको छ । बैंकले शेयरधनीलाई हालसम्मकै धेरै अर्थात २१.०५ प्रतिशतसम्मको प्रतिफल दिएको छ । यो अवधिमा बैंकले लगानीकर्तालाई दिएको थोरै प्रतिफल भनेको आर्थिक वर्ष २०७४/७५ मा ५.२७ प्रतिशत मात्र दिएको छ ।

सर्वसाधारणमा शेयर निष्काशनपछि दोस्रो बजार सूचीकृत बैंकको हालसम्म कै उच्च शेयरमूल्य करिब साढे ७०० रुपैयाँको हाराहारीमा पुगेको छ । यो अवधिमा बैंकको शेयर मूल्य न्यूनतम १३६ रुपैयाँसम्म झरेको छ । धितोपत्र बजार सूचकले हालसम्मै उच्च २५०० भन्दा माथिको बिन्दु तय गर्दै गर्दा पनि बैंकको प्रतिकित्ता शेयर मूल्य सोमबार ३१२ रुपैयाँ रहेको छ ।

यस आधारमा हेर्दा सिटिजन्स बैंकको १०० कित्ता शेयरमा १० हजार रुपैंया लगानी गर्नेसँग अहिले विभिन्न आर्थिक वर्षमा बितरण भएको बोनस र १०० रुपैंया प्रतिकित्ताको दरमा निष्काशन भएका हकप्रद समेत गर्दा कम्तीमा ८६१ कित्ता शेयर जम्मा भएको छ । पछिल्ला दिनको बैंकको प्रतिकित्ता शेयर मूल्यका आधारमा हेर्दा उक्त लगानी अहिले २ लाख ६८ हजार रुपैंयाभन्दा माथि छ । यस क्रममा बैंकले ३ पटक हकप्रद शेयर निष्काशन गरेको छ । यस अवधिमा लगानीकर्ताले आकर्षक नगद लाभांश पनि पाएका छन् ।

यो अवधिमा बैंकको प्रति शेयर आम्दानी १० रुपैयाँ भन्दा तल आएको अवस्था छैन । चालु आर्थिक वर्षको पुससम्ममा बैंकको प्रतिशेयर आम्दानी १७.८३ रुपैयाँ रहेको छ । हाल बैंकको प्रति शेयर किताबी मूल्य १४३.४५ रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको पुससम्ममा बैंकको खराब कर्जाको अंश २.४२ प्रतिशत रहेको छ । पछिल्लो एक दशकमा बैंकको सबैभन्दा धेरै खराब कर्जाको अंश आर्थिक वर्ष २०७० ७१ मा ३.४० प्रतिशत रहेको थियो ।

५६ करोड रुपैयाँ चुक्ता पूँजीमा स्थापना भएको बैंकले हाल ९ अर्ब ८१ करोड ७० लाख रुपैयाँ पुर्याएको छ । यो अवधिमा बैंकले विभिन्न विकास बैंक तथा फाइनान्स कम्पनीलाई खरिद गरेको छ भने कायम रहेका शेयरधनीलाई हकप्रद शेयर निष्काशन गर्ने र बोनस शेयर वितरण गरेर उक्त चुक्ता पुँजी पुर्याएको छ । बैंकले यो अवधिमा नेपाल हाउजिङ एण्ड मर्चेन्ट फाइनान्स, पिपुल फाइनान्स, प्रिमियर फाइनान्स, सहयोगी विकास बैंक र तिनाउ डेभलमेन्ट बैंकलाई खरिद गरेको छ । त्यसैगरी पछिल्लो समयमा सृजना फाइनान्सलाई पनि खरिद गर्ने प्रारम्भिक सम्झौता गरिसकेको छ ।

बैंक स्थापना भएको वर्ष समाप्तीमा एक अर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ४ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । आर्थिक वर्ष २०७७/७८ को पुसमसान्तसम्ममा बैंकको कुल निक्षेप एक खर्ब ५ अर्ब रुपैयाँ रहेको छ भने ८७ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सर्वोत्कृष्ट सेवाका लागि परिचित अग्रपंक्तिको बैंकका रुपमा स्थापित हुने लक्ष्य लिएको बैंकले स्थापना हुँदा ४४ जना कर्मचारीबाट बैंकिङ सेवा प्रदान गरेको थियो । तर, हाल बैंकले १ हजार ९१ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।

पछिल्लो एक दशकको अवधिमा बैंकको नाफामा समेत उच्च दरमा वृद्धि देखिएको छ । आजभन्दा १० वर्ष अघि १९ करोड ८० लाख रुपैयाँमा सीमित रहेको बैंकको नाफा पछिल्ला ५ वर्ष निरन्तर एक अर्ब भन्दा माथि रहँदै आएको छ । गत आर्थिक वर्षमा मात्र एक अर्ब १९ करोड रुपैयाँ खुद नाफा गरेको बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८७ करोड रुपैयाँ नाफा गरेको छ ।

बैंकले हाल देशभर १०९ वटा शाखा, ९८ वटा एटिएम र १०७ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट करिब सात लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलका अनुसार आगामी असार मसान्तसम्ममा शाखा संख्या १८८ पुर्याउँदै १३५ अर्बको निक्षेप तथा १२० अर्बको कर्जा परिचालन गरेर सिटिजन्स बैंक उत्कृट १० वाणिज्य बैंकभित्र पर्ने लक्ष्यका साथ अघि बढिरहेको छ । यस क्रममा थप विलयका लागि पहल पनि भइरहेको उनको भनाई छ ।

यसबाट बैंकका लगानीकर्तालाई बितरण गरिने प्रतिफलको दरमा आकर्षक सुधार गरी आगामी वर्षहरुमा दोहोरो अंक कायम गरिरहने योजना बैंकले बनाएको छ । यसका साथै बैंकले विदेशी रणनीतिक साझेदारलाई भित्र्याउने सम्बन्धमा पनि आवश्यक गृहकार्य र तयारीहरु गरिरहेको छ । यसले बैंकलाई थप सबल अनि सुदृढ बनाउने विश्वास बैंक व्यवस्थापनले लिएको छ ।

तीन वर्षमा उत्कृष्ट १० वाणिज्य बैंक भित्र पर्ने सिटिजन्स बैंकको लक्ष्य, दोहोरो अंकको लाभांश वितरण गर्ने

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।