कुल ग्राहस्र्थ उत्पादनको आधारमा धितोपत्रको दोस्रो बजारको अवस्था ओभर भ्यालुड तर्फ उन्मूख छ । पछिल्लो समयमा आएको निरन्तरको सुधार तथा बजारमा थपिएका ठुला आकारका कम्पनीका कारण शेयर बजार ओभर भ्यालुतर्फ देखिएको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार भएको कारोबारका आधारमा शेयर बजार कुल बजार पूँजीकरण ३५ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ । यो बजार पूँजीकरण देशको कुल ग्राहस्र्थ उत्पादनको ९५.५२ प्रतिशत हो । अहिले देशको अर्थतन्त्रको आकार ३७ खर्ब ६७ अर्ब रहेको छ ।
धितोपत्र बजारको कुल बजार पूँजीकरण कुल ग्राहस्थ उत्पादनको १०० देखि ११५ प्रतिशतसम्म छ भने त्यो ओभर भ्यालुड भएको मानिन्छ । त्यसैगरी ७५ देखि ९० प्रतिशतसम्म हुँदा धितोपत्र बजार सन्तुलित अवस्थामा रहेको बुझिन्छ । साथै धितोपत्र बजार बजार पूँजीकरण कुल ग्राहस्र्थ उत्पादनको ५० देखि ७५ प्रतिशतसम्म छ भने धितोपत्र बजार ‘अण्डर भ्यालुड’ रहेको बुझिन्छ ।
नेपालको मात्र नभई अन्तराष्ट्रिय पूँजीबजारहरु पनि निरन्तर सुधारको गतिमा देखिन्छन् । त्यतिमात्र नभई अधिकासं शेयर बजार सूचकले हालसम्म कै उच्च विन्दु तय गरेको अवस्था छ । कोरोना भाइरसका कारण आम सर्वसाधारणको खर्च गर्ने शैलि परिवर्तन भएको र लगानी तथा बचत बढेको हुनाले शेयर बजारमा लगानी बढ्न गएको छ । त्यसका साथै लगानीका क्षेत्र समेत सिमित भएपछि शेयर बजारमा लगानी बढ्न जादाँ विश्व भरका शेयर बजारमा सुधार आएको हो ।
अर्थतन्त्रको विपरित गतिमा भएपनि निरन्तर बढीरहेको धितोपत्र बजार हालसम्मकै ठूलो भएको छ । सार्वजनिक निष्काशनमा धितोपत्र बोर्डको १० कित्ते नीतिले शेयर बजारको विस्तार तथा जनचेतना अभिवृद्धि गरेको छ । त्यसले गर्दा पनि बजारको आकार बढ्नमा थप मद्दत गरेको छ । हाल धितोपत्र बजारको आकार ३५ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ । नेप्से परिसूचक पनि २६११.४५ अंकमा पुगेको छ ।
धितोपत्र बजारको बजार पूँजीकरण बढ्नु लगानीकर्ताका लागि पनि सकारात्मक हो । नेप्से परिसूचक बढेपछि बजार पूँजीकरण पनि स्वभाविक रुपमा बढ्छ । नेप्सेको बजार पूँजीकरण गणना गर्दा सूचीकृत कम्पनीको शेयर मूल्यको महत्वपूर्ण भूमीका हुन्छ । बजार पूँजीकरण भनेको शेयर बजारमा रहेको सम्पत्तिको आकार हो ।
नेप्सेमा सूचीकृत शेयरहरुको कूलबजार मूल्य अर्थात सम्पूर्ण सूचीकृत कम्पनीको शेयर मूल्य र शेयर संख्याको गुणनफल नै बजार पूँजीकरण हो । बजार पूँजीकरणले समग्र बजारको अवस्थालाई समेत देखाउने भएकाले लगानीकर्ताको आम्दानी तथा नोक्सानीलाई प्रत्यक्ष मूल्याङकन गर्न सकिन्छ ।
यो साता मात्र नेप्सेको कुल बजार पूँजीकरण करिब ३ खर्बले बढेको हो । यो साता नेप्सेमा नेपाल इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंकको शेयर कारोबार भई शेयर मूल्य पनि करिब ५ सयको हाराहारीमा पुगेपछि बजार पूँजीकरण बढेको हो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया