सात महिनामा २५ अर्बको नयाँ जीवन बीमा व्यवसाय विस्तार, माघमा मात्रै ४ अर्बले बढ्यो

0
Shares

जीवन बीमा कम्पनीले चालु आवको सात महिनामा २५ अर्ब रुपैयाँको नयाँ व्यवसाय विस्तार गरेका छन् ।

सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीले माघ मसान्तसम्ममा २५ अर्ब ४० करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका हुन् । जसमध्ये जीवन बीमा कम्पनीहरुले माघ महिनामा मात्रै ४ अर्ब ३६ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका छन् ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार प्रथम बीमा शुल्क संकलनमा पनि नेपाल लाइफ इन्स्योरेन्स प्रथम स्थानमा छ । कुल बीमाशुल्क संकलनमा पनि अगाडि रहेको कम्पनीले प्रथम बीमा शुल्क पनि सबैभन्दा धेरै संकलन गरेको हो । कम्पनीले ७ महिनामा ५ अर्ब ५४ करोड रुपैयाँ प्रथम बीमा शुल्क उठाएको हो । कम्पनीले माघ महिनामा मात्रै १ अर्ब १० करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

नेपाल लाइफपछि लाइफ इन्स्योरेन्स, नेशनल, यूनियन, सूर्या, एशियन, रिलायबल, गुराँस, प्राइम र ज्योति लाइफले अर्ब भन्दा धेरैको नयाँ व्यवसाय गरेका छन् ।

  • २ अर्ब भन्दा धेरैको नयाँ व्यवसाय गर्ने नेपाल लाइफ, एलआइसी र नेशनल लाइफ

चालु आवको माघ महिनासम्ममा ३ जीवन बीमा कम्पनीहरुले २ अर्ब भन्दा धेरैको नयाँ व्यवसाय गर्न सफल भएका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार नेपाल लाइफले ५ अर्ब ५४ करोड, लाइफ इन्स्योरेन्सले २ अर्ब २६ करोड, नेशनलले २ अर्ब २९ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका हुन् ।

  • दश कम्पनीको एक अर्ब भन्दा धेरै नयाँ व्यवसाय विस्तार

चालु आवको माघ महिनासम्ममा १० जीवन बीमा कम्पनीले एक अर्ब रुपैयाँभन्दा माथि नयाँ व्यवसाय विस्तार गर्न सफल भएका छन् । नेपाल लाइफले ५ अर्ब ५४ करोड, लाइफ इन्स्योरेन्सले २ अर्ब २६ करोड, नेशनलले २ अर्ब २९ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका छन् ।

यस्तै यूनियनले १ अर्ब ९९ करोड, सूर्या लाइफले १ अर्ब ४३ करोड, एशियनले १ अर्ब ३३ करोड, रिलायबलले १ अर्ब २० करोड, गुराँसले १ अर्ब १४ करोड, प्राइमले १ अर्ब १० करोड र ज्योति लाइफले १ अर्ब भन्दा धेरैको नयाँ व्यवसाय विस्तार गरेका छन् ।

  • माघ महिनामा ४ अर्ब ३६ करोड नयाँ व्यवसाय विस्तार

चालु आवको माघ महिनामा १९ जीवन बीमा कम्पनीले ४ अर्ब ३६ करोड रुपैयाँको नयाँ व्यवसाय विस्तार गरेका छन् ।

समितिले उपलब्ध गराएको तथ्यांक अनुसार यस अवधिमा नेपाल लाइफले सबैभन्दा धेरै प्रथम बीमा शुल्क संकलन गरेको छ । यस अवधिमा कम्पनीले १ अर्ब १० करोड रुपैयाँ बीमा शुल्क उठाएको छ । नेपाल लाइफ बाहेक अन्य कम्पनीले अर्ब भन्दा कमको नयाँ व्यवसाय विस्तार गरेका छन् । अठार कम्पनीले माघमा महिनामा एक अर्ब भन्दा कम बीमा शुल्क संकलन गरेका छन् ।

नेशनल लाइफ, प्राइम, सूर्या, लाइफ इन्स्योरेन्स, यूनियन र रिलायन्स लाइफले माघ महिनामा २० करोडदेखि ४१ करोडसम्म प्रथम बीमाशुल्क संकलन गरेका छन् । अन्य सबै जीवन बीमा कम्पनीले २० करोड भन्दा कम प्रथम बीमा शुल्क संकलन गरेका छन् ।

नौ कम्पनीले अर्ब भन्दा कमको नयाँ व्यवसाय विस्तार गरेका छन् । ती कम्पनीहरुमा सिटिजन, रिलायन्स, मेट लाइफ, आईएमई, सानिमा, सन नेपाल, राष्ट्रिय बीमा संस्थान, प्रभु र महालक्ष्मी लाइफ रहेका छन् ।

  • प्रथम बीमाशुल्क भनेको के हो ?

प्रथम बीमाशुल्क भनेको कम्पनीहरुले नयाँ ग्राहकहरुबाट संकलन गर्ने पहिलो प्रिमियम (एफपिआर) रकम हो । यसरी बीमा कम्पनीहरुले बिक्री गरेको सुरुवातको किस्ता वापत प्राप्त हुने रकम नै प्रथम बीमशुल्क हो ।

बीमा कम्पनीहरुमा ग्राहकले बीमालेख खरीद गर्दा सुरुमा पहिलो किस्ता वापतको प्रिमियम तिर्छन् भने थप प्रिमियम भने १ महिना ३ महिना, ६ महिना वा १ वर्षमा तिर्ने गरी खरीद गरेका हुन्छन् । बीमा कम्पनीहरुले दोस्रो वा सो भन्दा पछि संकलन गर्ने बीमाशुल्कलाई भने नबिकरण बीमाशुल्क भनिन्छ ।

यसरी पहिलो किस्ता (प्रथम बीमाशुल्क) वापत संकलन हुने प्रिमियम र नविबरण बीमा वापत प्राप्त हुने प्रिमियम शुल्कलाई जीवन बीमा कम्पनीहरुको वित्तीय विवरणमा देखाउने तरिका फरक/फरक हुन्छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।