तहल्का मच्चाएको निफ्राको शेयर र रंगमञ्चको नृत्य जस्तै साना लगानीकर्ताको सपना


नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण शेयर निष्काशन हुनु केही दिन अघिदेखि बैंक वित्तीय संस्था, निक्षेप सदस्य, मर्चेण्ट बैंकर र शेयर ब्रोकरका कार्यालयहरुमा लगानीकर्ताको घुईचो लागेको थियो । डिम्याट खाता खोल्ने र सिआरएन नम्बर लिनका लागि ती संस्थाहरुमा लागेको लगानीकर्ताको भीड अहिले शेयर ब्रोकरका कार्यलयहरुमा सरेको छ ।

बैंकको साधारण शेयर सूचीकरण पश्चात पछिल्लो आठ दिन यता नियमित कारोबार भईरहेको छ । यस अवधिमा उक्त बैंकको साधारण शेयरको मूल्य ७२६ रुपैंयासम्म पुगेर तल झर्दै गर्दा अनलाइन कारोबार प्रणालीबाट शेयर बिक्री गर्न चाहनेहरुको लर्को अहिले ब्रोकर कार्यालयमा देखिएको हो ।

बैंकले माघ २ गतेबाट सर्वसाधरणका लागि बिक्रीमा ल्याएको ७ करोड ५८ लाख ४४ हजार कित्ता शेयर आवेदनका आधारमा ५० र ६० कित्ताको दरमा १५ लाख बढी आवेदकले शेयर पाएका थिए । यस्तो शेयर पाउने अधिकांश नवप्रवेशी लगानीकर्ताहरु अहिले ब्रोकर कार्यालयमा लाइन लागेर शेयर बिक्री गर्ने ब्रोकर खाता अर्थात केवासी बनाउने र अनलाइन कारोबार प्रणाली टीएमएस लिनका लागि खचाखच हुँदा कोरोना संक्रमणको जोखिम बिर्सिन थालेको अनुभुती हुन्छ ।

यसै सन्दर्भमा मंगलबार नोटबजार राजधानीका विभिन्न स्थानमा रहेका ब्रोकर कार्यालयमा पुगेको छ । धेरै जनाले एकै पटक टीएमएस बनाउन आवेदन दिएका कारण आजको भोलि नै शेयर बिक्री गर्न पाउने आश उनीहरुमा नरहेको देखियो । प्रतिकित्ता १०० रुपैंयाको दरमा बैंकको ५० कित्ता शेयर पाएकाहरुको नेटवर्थ मंगलबारको अन्तिम कारोबार मूल्य ५९४ रुपैंयाका आधारमा २९ हजार ७०० रुपैंया हुन आउँछ । मंगलबार बिहान १० प्रतिशतले शेयर मूल्य बढेर ७२६ रुपैंया पुगेका बेला उनीहरुको नेटवर्थ ३६ हजार ३०० रुपैंया थियो ।

बजार निरन्तर बढिरहेका बेला उच्च विन्दुमा पुगेको बैंकको शेयर मूल्यको फाइदा भने स्मार्ट लगानीकर्ताले मात्र लिन पाएको अवस्थामा ब्रोकर कार्यालयमा तत्काल टीएमएस खाता सुचारु गराउन आवाज उठ्नु स्वभाविक हो । शेयर मूल्य बढेकै बेला ६ गूणाभन्दा बढी मूल्यमा बेचेर निश्चित रकम बनाउने सपना बोकेका धेरै साना तथा नवप्रवेशी लगानीकर्ताको सपना रंगमञ्चको गतिलो नृत्य जस्तै तब भयो, जब मंगलबार निफ्राको प्रतिकित्ता शेयर मूल्यमा १३२ रुपैंयाको अन्तर देखियो । सुनेर कारोबारको निर्णय गर्ने चलनले पनि धेरै लगानीकर्ताहरु निफ्राको शेयर मूल्य अझै बढ्नेमा आवादी देखिएका थिए । तर, मंगलबार १० प्रतिशतले बढेको शेयर मूल्य एकाएक १० प्रतिशतले नै घट्न पुग्यो । ११ दिनको अवधिमा पहिलो दिनदेखि नै ठूलो संख्यामा शेयर खरिद गरेका कारोबारीहरु हाबी हुँदा मंगलबार सामान्य लगानीकर्ताभन्दा कारोबारीहरुले निफ्राको शेयरबाट धेरै फाइदा लिए ।

यता साना तथा नवप्रवेशी लगानीकर्ताहरु भने बल्ल शेयर बिक्री गर्नका लागि ब्रोकर कार्यालय चाहारिरहेका छन् । जसका कारण ब्रोकर कार्यालयका कर्मचारीहरु यति धेरै अस्तव्यस्त बनेका छन् कि उनीहरु आफैं के गरिरहेको छु भन्ने बिर्सिन थालेका छन् । उता लगानीकर्ता पनि भोलि नै शेयर बिक्री गर्ने चहनाका साथ ब्रोकर कार्यालय पुगेकोमा चापका कारण एक साता पछि पनि शेयर बिक्री गर्न नपाउने अवस्थामा पुगेपछि आक्रोसित हुन थालेका छन् । अनामनगर क्षेत्रमा रहेका केही ब्रोकर कार्यालयमा लगानीकर्ता र ब्रोकर कार्यालयका कर्मचारीका बिचमा चलेको वादविवादले कार्यालयमा उपस्थित सबैको ध्यान तानिरहेको थियो ।

“निफ्रको शेयर बेच्नका लागि टीएमएस बनाइदिनुस भनेर यहाँ आएको, भीड यति छ कि हाम्रो काम गर्ने फुर्सद नै भएको देखिएन” स्टक ब्रोकर नम्बर ३४, भिजन सेक्युरिटिजमा एक लगानीकर्ताले गुनासो गरे ।

अर्का एक लगानीकर्ता ठुलो स्वर गर्दै ब्रोकर कार्यालयका कर्मचारीसँग कराईरहेको दृष्यले सबैको ध्यान तानिरहेको थियो । उनी भनिरहेका थिए, “मैले अनलाइनबाट आवेदन दिए पछि तपाईहरुले आज १२ बजे भित्रमा सबै विबरण इमेलमा आउँछ भनेर भन्नु भएको थियो, तर अझै मैले मेरो टीएमएसको विबरण पाएको छैन । नहुने हावादारी कुरा आश्वासन दिएर किन झुक्याएको हो ?” कर्मचारीसँग उनी आक्रोस पोखिरहेका थिए ।

त्यही भिडमा आफ्नो काम नहुने अवस्था देखे पछि अर्का एक जना ब्रोकरका बिरुद्ध आक्रोस पोखिरहेका थिए, “आफूले चिनेको अनि जानेका मान्छेलाई छिनभरमा सेवा दिने, अनि हामीजस्ता आम लगानीकर्तालाई सिष्टमको कुरा गर्ने ?”

त्यही भिडमा अर्का एक जना कराउँदै थिए, “तपाईहरु टीएमएस खोलिदिन सक्नु हुन्न भने हाम्रो फरम किन लिएको ? फिर्ता दिनुस्, मअर्को ब्रोकरकोमा जान्छु ।”

कार्यालयमा आएका सबै लगानीकर्ताहरु चर्किरहेको देखे पछि हामीले भिजनको फ्रण्ड डेस्कमा जिज्ञासा राख्यौ कि आज आवेदन दिनेले कहिले टीएमएस पाउँछ ? जवाफ आउँछ, चाप धेरै छ, इन्ट्री गरेर टीएमएस बनाउन कम्तीमा पनि २ साता लाग्छ ।

उता अनामनगरमा रहेको स्टक ब्रोकर नम्बर ५७, आर्यतारा इन्भेष्टमेण्ट एण्ड सेक्यूरिटिजमा ओखलढुङ्गाका कौशल तिमलसिनाले केवाइ सी फारम भरेको तिन दिन बिते पनि टीएमएस नबनाइदिएको गुनासो गरे । “भिड धेरै भएर होला मेरो केवाई विबरणका आधारमा टीएमएसको लगइन कहिले गर्न पाउँछु भन्ने मलाई नै थाहा छैन । अब निफ्राको शेयर अहिलेको मूल्यमा बेच्न नपाईएला जस्तो छ” उनले भने ।
निफ्राको शेयर मूल्यमा भएको चलखेलमा शेयर ब्रोकर पनि हात रहेको आरोप लगाउँदै अर्का एक लगानीकर्ता आक्रोसित बनिरहेका थिए । “सँधै कम्पनीहरुको शेयरमा कर्नरिङ गर्दै बस्दा लगानीकर्ताको चाहना पुरा गराउन ब्रोकरको ध्यान नपुगेको हो । निफ्राको शेयर पनि दिने ब्रोकरहरुले लाखौं कित्ता सस्तोमा किने, अहिले महंगोमा बेच्न थाल्दा हामीले बजार मूल्यमा बेच्न नपाएका हौं । यस्तो बेला अझै हाम्रो टीएमएस बनाउन १० लाग्छ भन्दै झारो टार्न खोज्ने ?”

नोटबजारले कार्यालयका कर्मचारीसँग लगानीकर्ताको चापको बारेमा जिज्ञासा राख्यो । उताबाट जवाफ आयो, “चाप यति धेरै छ कि, हामीले सबै आवेदनहरु इन्ट्री नै गर्न सकिरहेका छैनौं । शनिबार पनि काम गर्दा बल्ल एक साता अघिका आवेदकहरुको टीएमएस बनाइएको छ । अहिले झनै चाप बढेकाले इन्ट्रीको काम नै एक साता भन्दा बढी समय पछि मा पुरा हुन्छ । त्यस पछि फेरी टीएमएस खाता एक्टिभेट गरिदिने हो । यस अर्थमा नयाँ टीएमएस बनाइदिन हामीलाई अझै १० दिनभन्दा बढी समय लाग्न सक्छ” फ्रण्ट डेस्कमा रहेकी एक कर्मचारीले भनिन् ।

दुवै ब्रोकर कार्यालयका कर्मचारीका अनुसार अनलाइनबाट आवेदन दिनेभन्दा कागजी आवेदन लिएर आउनेको संख्या धेरै छ । जसका कारण कागजी फारमका तथ्यांक प्रविष्ट गर्न समय लागेको हो । अनलाइनबाट आवेदन गर्नेहरुको हकमा भने केही छिटो टीएमएस तयार हुने उनीहरुले नोटबजारलाई बताए । साथै लगानीकर्तालाई ब्रोकर कार्यालय आउन भन्दा अनलाइनबाट आवेदन गरी अन्तिममा हस्ताक्षरण प्रमाणीकरणका लागि उपस्थित हुन उनीहरुले आग्रह गरेका छन् ।

आम लगानीकर्ताको कोलाहलका कारण धेरै समय काम गर्न नसक्ने अवस्थामा पुग्ने गरेको ब्रोकर कार्यालयका कर्मचारीको गुनासो छ । सबैलाई एकनासको व्यवहार गर्दा पनि विभिन्न किसिमका गाली गलौज सुनेर हैरान हुने गरेको उनीहरुको अनुभव छ । लगानीकर्ताहरु अन्तिम समयमा मात्र टीएमएस बनाउन आउने गरेकाले चाप परेको उनीहरु बताउँछन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार फागुन ९ गते आइतबारसम्ममा दोस्रो बजारमा अनलाइन कारोबारका लागि टीएमएसको युजर आइडी तथा पासवर्ड लिने लगानीकर्ताको संख्या ५ लाख ५० हजार ४०९ पुगेको छ । जसमध्ये १ लाख ९५ हजार ९८९ जना अनलाइन मार्फत सक्रिय कारोबारमा संलग्न हुने गरेको नेप्सेले जनाएको छ । यो तथ्यांक निफ्राका शेयर आवेदकको कुल संख्याको ३३ प्रतिशत हाराहारी मात्र हो । निफ्राको शेयर बिक्री गर्न सबैजसो आवेदकहरु ब्रोकर कार्यालय धाउँदा अबका दिनमा अनलाइन प्रणालीको युजर तथा पासवर्ड लिनेको संख्या तिब्र गतिमा बढ्ने देखिन्छ ।

नेप्सेका अनुसार अहिले शेयर बजारमा अनलाइन तथा अफलाइन मार्फत ३ लाख ७६ हजार २६१ जना सक्रिय लगानीकर्ताले शेयर कारोबार गर्दै आएका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।