इन्भेष्टमेन्ट बैंकको ३५ वर्षे यात्राः ३ करोडमा खुलेको बैंकको ५० अर्बको लक्ष्य

0
Shares

वि.सं २०४२ साल फागुन १४ गते ३ करोड रुपैयाँ चुक्ता पूँजीमा स्थापना भएको नेपाल इन्भेष्टमेन्ट बैंकले ३५ वर्ष पूरा गरेको छ ।

पञ्चायती शासन नसकिँदै स्थापना भएको बैंकमा अन्तर्राष्ट्रिय लगानीकर्ता समेत सहभागि थिए । बैंक स्थापना हुँदा नै फ्रान्सको क्रेडिट एग्रिकोल इण्डोस्वेजको ५० प्रतिशत लगानी रहेको थियो । यो कम्पनी विश्वभर फैलिएको ठूलो बैंकिङ समुहको सहायक कम्पनी हो । बैंक स्थापना हुँदा बैंकको नाम नेपाल इण्डोस्वेज बैंक रहेको थियो ।

सन् २००२ मा फ्रेन्च लगानीकर्ताले लगानी फिर्ता लैजान खोजेपछि नेपाली लगानीकर्ता पृथ्वी बहादुर पाँडे लगायतको समुहले फ्रेञ्च लगानीकर्ताको होल्डिङ खरीद गर्यो । बैंकको नेतृत्व पनि पाँडे कै हातमा रह्यो । नेपाली लगानीकर्ताको हातमा बैंक आएपछि नाम पनि परिवर्तन भएर नेपाल इन्भेष्टमेन्ट रह्यो । लामो समयमा बैंकको कार्यकारी अध्यक्ष रहेका पाँडे हाल बैंकको अध्यक्ष छन् । नेपाल राष्ट्र बैंकले कार्यकारी अध्यक्ष अभ्यासलाई अन्त्य गरेपछि पाँडे बैंकको अध्यक्षको रुपमा रहँदै आएका हुन् ।

नेपाल इन्भेष्टमेन्ट बैंक नेपालमा स्थापना भएको निजी क्षेत्रको दोस्रो बैंक हो । निजी क्षेत्रबाट स्थापना भएको तत्कालीन नेपाल अरब बैंक (नबिल बैंक) पछि इन्भेष्टमेन्ट बैंक स्थापना भएको थियो । यो भन्दा अघि सरकारी लगानीमा सञ्चालनमा रहेको नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक सञ्चालनमा थिए । हालको इन्भेष्टमेन्ट बैंकको स्थापना भएको एक वर्षमा नै बेलायती बैंकको स्ट्याण्डर्ड चार्टर्ड बैंकको सहायक कम्पनी स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको स्थापना भयो ।

अन्तर्राष्ट्रिय लगानीका तीन बैंक स्थापना भएपनि त्यसपछि भने वाणिज्य बैंकहरु थपिनका लागि समय लाग्यो । विसं २०४७ सालमा आएको राजनीतिक परिवर्तनपछि देशको अर्थव्यवस्थाले खुला बजार अर्थतन्त्रलाई अंगिकार गर्यो । त्यसपछि निजी क्षेत्रबाट बैंक स्थापना हुने क्रम बढ्यो ।

सन् १९९० को दशकमा हिमालयन बैंक, नेपाल एसबिआई बैंक, नेपाल बंगलादेश बैंक, एभरेष्ट बैंक तथा नेपाल क्रेडिट एण्ड कमर्स बैंकको स्थापना भए । त्यसपछि वाणिज्य बैंक थपिने क्रम झनै बढ्दै गयो ।

नेपाली लगानीकर्ताको हातमा नेपाल इन्भेष्टमेन्ट बैंक आएपछि सबैभन्दा धेरै पूँजी भएको र वित्तीय आधारमा सबैभन्दा बलियो बैंकको रुपमा स्थापित भयो । तर, पछिल्लो समयमा निवर्तमान गर्भनर डा. चिरञ्जिवी नेपालले वाणिज्य बैंकको चुक्ता पूँजी न्यूनतम ८ अर्ब पुर्याउने नीति लिएपछि वित्तीय आधारमा यस बैंकलाई पछि पार्ने अन्य बैंकहरु देखिए । वि.स. २०७० को दशकभन्दा अघि बैंकले आफ्ना समकालिन बैंकहरुमा आफुलाई बलियो र अन्य भन्दा फरक संस्थाको रुपमा स्थापना गर्न सफल भएको थियो ।

पूँजी वृद्धि तथा बिग मर्जरले इन्भेष्टमेन्ट भन्दा धेरै पूँजी आधार भएका बैंकहरु पनि आइसकेको हुनाले पछिल्लो समयमा बैंकका अध्यक्षले बिग मर्जर मार्फत ५० अर्बको पूँजी सहितको बलियो संस्थाको परिकल्पना गर्न थालेका छन् ।

केही वर्ष अघिसम्म सञ्चालनमा रहेका अन्य बैंकहरु भन्दा फरक पहिचान बनाएको इन्भेष्टमेन्ट बैंक पूँजी, निक्षेप तथा कर्जाको हिसाबले अन्य बैंक भन्दा धेरै अघि थियो । हाल बैंकको पूँजी संरचना ६९ प्रतिशत संस्थापक र ३१ प्रतिशत सर्वसाधारणको रहेको छ ।

‘राष्ट्र बैंकका बाध्यात्मक नीतिले बैंकहरु समस्यामा पर्न सक्छन्’ पृथ्वी पाँडेको अन्तरवार्ता

बैंकले साधारण शेयर निष्काशनपछि हालसम्म लगानीकर्तालाई २० प्रतिशतभन्दा माथिको लाभांश दिँदै आएको छ । अघिल्लो र गत वर्ष मात्र बैंकले लगानीकर्तालाई १९ र १८.५ प्रतिशत प्रतिफल दिएको छ । यो अवधिमा पूँजी बढाउनुपर्ने तथा बढेको पूँजी अनुपातमा लगानीका अवसरहरु नभएको तथा उच्च प्रतिस्पर्धाका कारण लाभांशमा कमी आएको बैंकले जनाएको छ ।

बैंकले पछिल्लो दश वर्षमा शेयरधनीलाई औषतमा ३४.८२ प्रतिशत लाभांश वितरण गरेको हो ।  पछिल्लो दश वर्षको अवधिमा बैंकले शेयरधनीलाई २०६७/६८ मा सबैभन्दा धेरै ५० प्रतिशत लाभांश दिएको थियो ।


सर्वसाधारणमा शेयर निष्काशनपछि दोस्रो बजार सूचीकृत बैंकको शेयरमूल्य हालसम्म कै उच्च भनेको २ हजार ४५० रुपैयाँसम्म पुगेको छ । यो अवधिमा बैंकको शेयरमूल्य न्यूनतम ४०० रुपैयाँ हाराहारीसम्म झरेको छ । धितोपत्र बजार सूचकले हालसम्मै उच्च २ हजार ५०० भन्दा माथिको बिन्दु तय गर्दै गर्दा पनि बैंकको प्रतिकित्ता शेयरमूल्य ४७३ रुपैयाँ रहेको छ । जुन बैंकको सबै साख लगानीको प्रतिफलको हिसाबले न्यून हो ।

पछिल्लो पाँच वर्षको बैंकको प्रतिशेयर आम्दानी २६ रुपैयाँ भन्दा तल आएको अवस्था छैन । तर, गत आवमा मात्र बैंकको प्रतिशेयर आम्दानी घटेर १७ रुपैयाँमा सीमित भएको छ । चालु आवको पुससम्ममा बैंकको प्रतिशेयर आम्दानी २२.२७ रुपैयाँ रहेको छ । हाल बैंकको प्रतिशेयर किताबी मूल्य २०७.३९ रुपैयाँ रहेको छ । चालु आवको पुससम्ममा बैंकको खराब कर्जाको अंश २.७५ प्रतिशत रहेको छ । पछिल्लो ५ वर्षमा बैंकको सबैभन्दा धेरै खराब कर्जाको अंश आर्थिक वर्ष २०७६।७७ मा २.९१ प्रतिशत रहेको छ । अन्य वर्षहरुमा बैंकले आफ्नो खराब कर्जा अनुपातलाई नियन्त्रणमा नै राखेको देखिन्छ ।

स्थापनाको समयमा ३ करोड रुपैयाँ चुक्ता पूँजीमा स्थापना भएको बैंकले हाल १४ अर्ब २४ करोड ८९ लाख ७० हजार रुपैयाँ पुर्याएको छ । यो अवधिमा बैंकले विभिन्न केही साना संस्थालाई खरीद गरेको छ ।

बैंकले पछिल्लो समयमा सिटी एक्सप्रेस फाइनान्सलाई खरीद गरी एकीकृत कारोबार थालेको हो । अब भने बैंक साना संस्था खरीद गर्ने भन्दा पनि बिग मर्जरमा ध्यान दिएको बैंकका अध्यक्ष पृथ्वि बहादुर पाँडेको भनाइ छ ।

पछिल्लो ५ वर्षमा बैंकको निक्षेप पनि १०८ अर्बबाट बढेर १६९ अर्ब पुगेको छ । ग्राहकहरुको विश्वास र साथको कारण बैंक निक्षेप परिचालन तथा कर्जा लगानीका हिसाबले समेत शीर्ष पाँच बैंकभित्र रहँदै आएको छ ।

चालु आर्थिक वर्षको पुससम्ममा बैंकले १६६ अर्ब रुपैयाँ ग्राहकबाट निक्षप संकलन गरेको छ भने १३८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंकले १६९ अर्बको निक्षेप संकलन तथा रु १५५ अर्ब रुपैयाँको कर्जाको पोर्टफोलियो कायम गर्दै विपन्न वर्ग तथा राष्ट्रिय प्राथमिकताका क्षेत्रहरूमा बैंकिङ सुविधा उपलब्ध गराइ राष्ट्रिय अर्थतन्त्रको उत्थानमा योगदान पु¥याउँदै आएको छ । 

अन्तर्राष्ट्रिय लगानीकर्ताबाट स्वदेशी लगानीकर्ताको हातमा बैंकको लगानी तथा नेतृत्व आउँदा पनि बैंकले झनै राम्रो कार्यसम्पादन गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय तथा राष्ट्रिय लगानीकर्ताद्धारा प्रवद्र्धित बैंकहरुसँग प्रतिस्पर्धा गर्दै आज बैंकले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । स्थापना हुँदा ४४ जना कर्मचारीबाट सेवा सुरु गरेको बैंकले हाल १ हजार ४३७ जना कर्मचारी मार्फत सेवा प्रदान गर्दै आएको छ ।

पछिल्लो ५ वर्षको अवधिमा बैंकको नाफामा भने उतार-चढाव आएको देखिन्छ । आजभन्दा पाँच वर्षअघि २ अर्ब ५५ करोड रुपैयाँ नाफा गरेको बैंकले गत आर्थिक वर्षमा २ अर्ब ४८ करोड रुपैयाँ खुद नाफा गरेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अर्थात पुससम्म आइपुग्दा बैंकले एक अर्ब ५८ करोड रुपैयाँ नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

इन्भेष्टमेण्ट बैंकका अध्यक्ष पृथ्वी पाँडेको बुझाईमा नेपालको शेयर बजार ‘लेट्स प्ले स्टक मार्केट’

बैंक स्थापनाको ३५ औं वर्षको कोशेढुंगा पार गर्दै गर्दा बैंकले देशका सातै प्रदेशहरूमा फैलिएका ८७ शाखा, ३० एक्सटेन्सन काउन्टर, ५९ शाखारहित बैंकिङ केन्द्र र १३० एटीएममार्फत गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ । 

विगत ३५ वर्षको अवधिमा २९ अर्ब रुपैयाँको पूँजीगत आधारका साथमा संगठित क्षेत्र (कर्पोरेट), साना तथा मझौला उद्यम (एसएमई) र व्यक्तिगत ग्राहकहरू गरी १२ लाखभन्दा अधिक ग्राहकहरूलाई सेवा पु¥याइ सकेको छ ।

बैंकले ५ अर्ब भन्दा बढीको देशभरि वित्तीय आवश्यता बढी रहेका ३० हजार भन्दा बढी व्यक्तिलाई सीधै लघु कर्जा उपलब्ध गराएको छ । ऋणा सीधा हजार भन्दा बढी व्यक्तिको लागि प्रदान गरेको छ जुन खाँचोमा परेका देशका लागि र बैंकको ३५ औं वार्षिकोत्सवको यस शुभ अवसरमा, बैंक कोभिड–१९ को विश्वव्यापी महामारीका समयमा स्वास्थ्यकर्मी र अग्र स्थानमा रहेर काम गर्ने श्रमिकहरूप्रति एक्येबद्धता प्रकट गर्नका लागि “सम्मान ¥याली”को आयोजना ग¥यो । यसबाहेक, बैंकले स्वास्थ्यकर्मीहरूको लागि उचित ब्याजदरा प्रबर्धनात्मक कर्जा योजना पनि सुरुवात गरेको छ ।

बैंकले डेबिट कार्ड, ईएमआइसहित क्रेडिट कार्ड, लकर, ई कमर्श (ई–कम) /अनलाइन भुक्तानी र एसएमई/ खुद्रा कर्जा आदि बैंकिङ सेवाहरूमा ६५ प्रतिशतको विशेष छुट प्रदान गर्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।