ज्योति लाइफको आईपीओमा तीन दिनमा १२ लाख आवेदन

0
Shares

ज्योति लाइफ इन्स्योरेन्स (JLICL) को आईपीओमा उच्च आकर्षण देखिएको छ ।

फागुन २१ गते शुक्रबारदेखि निष्काशन भएको कम्पनीको शेयरमा तीन दिनमा अर्थात आइतबार साँझ ५ बजेसम्ममा ११ लाख ९९ हजार वटा आवेदन परेको हो ।

कम्पनीले सर्वसाधारणबाट ५९ लाख ४० हजार कित्ताका लागि आवेदन माग गरेकोमा आजसम्म नै त्यसको ४.४५ गुणा धेरै अर्थात २ अर्ब ६४ करोड ३३ लाख ९८ हजार मूल्य बराबरको २ करोड ६४ लाख ३३ हजार ९८० कित्ताका लागि माग परेको छ ।

फागुन २४ गते सोमबार नारी दिवसको सार्वजनिक विदा रहेका कारण आईपीओमा फागुन २६ गते बुधबारसम्मसम्म आईपीओमा आवेदन दिन पाइन्छ । यसअनुसार कम्पनीको शेयरमा १८ लाख आवेदन पुग्ने आंकलन गरिएको छ । यस आईपीओमा लगानीकर्ताले धितोपत्र बोर्डबाट सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय र सिडिएससीको मेरोशेयरको वेवसाइट तथा मोबाइल एप मार्फत आवेदन दिन सक्नेछन् ।

ज्योति लाइफले कुल ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्काशन गरेकोमा ३ लाख ३० हजार कित्ता र त्यतिनै म्युचुअल फण्डहरुलाई छुट्याइएर ५९ लाख ४० हजार कित्ता सर्वसाधारणमा बिक्रीमा ल्याइएको थियो ।

आईपीओमा न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने व्यवस्था गरिएको छ । यद्यपी आईपीओमा १८ लाखले आवेदन गर्ने र ५ लाख ९४ हजार आवेदकले मात्र गोलाप्रथाबाट १० कित्ता पाउने अवस्थामा रहने भएकाले १० कित्ताका लागि १ हजार रुपैयाँको लागि मात्र आवेदन गर्नु श्रेयकर देखिन्छ । शेयर पाउन गोलाप्रथाबाट भाग्यशाली बन्नुपर्ने र धेरै रकमको आवेदन गर्दा चाँही पाउने सम्भावना नहुने भएकाले धेरै रकमको आवेदन गरेर मात्र शेयर नपाउने भएकाले धेरै आवेदन गर्नु भनेको खातामा रहेको मौज्दात रकम रोक्का राख्नु मात्र हो ।

इन्स्योरेन्सको उक्त आईपीओलाई क्रेडिट रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले ‘केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । उक्त रेटिङले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्दछ ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब ५४ करोड रुपैयाँ छ। आईपीओ बाँडफाँडपछि इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीको आईपीओमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।