उपत्यकाको भान्छामा पाक्छ ३८ प्रतिशत विदेशी तरकारी

0
Shares

काठमाण्डौं उपत्यकाका भान्छामा हरेक छाक (बिहान-बेलुका) पाक्ने तरकारीमध्ये ३८ प्रतिशत आयातमा निरर्भर रहेको तथ्याङ्क पाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमै उत्पादन हुने वस्तु पनि आयात गर्ने प्रवृत्ति अन्त्य गर्नेगरी स्वदेशी उत्पादन बढाउन उद्योग व्यवसायीहरुलाई सोमबार मात्रै आग्रह गरिरहँदा अझै पनि करिब ४० प्रतिशत तरकारीमा मुलक आयातमा निरर्भर रहनुपरेको तथ्याङ्क उजागर भएको हो ।

देशकै प्रमुख तरकारी बजारको रुपमा रहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उपलब्ध गराएको ११ महिनाको तथ्याङ्कलाई आधार मान्दा स्वदेशी उत्पादनले ६२ प्रतिशत मागलाई धान्ने गरेको छ ।

यस अवधिमा कालिमाटी तरकारी तथा फलफूल बजारमा कुल १९ करोड ६१ हजार ९२९ केजी तरकारी तथा फलफूलजन्य वस्तु आयात भएकोमा ७ करोड २२ लाख १ हजार ६९२ केजी तरकारी विदेशबाट आयात भएको छ भने ११ करोड ७८ लाख ६० हजार २३७ केजी तरकारी भने स्वदेशी उत्पादनबाटै काठमाण्डौं भित्रिएको छ ।

कालिमाटी तरकारी तथा फलफूल बजारमा बैशाखदेखि फाागुन २५ गतेसम्ममा प्रमुख रुपमा ९० वटा तरकारी तथा फलफूल भित्रिएको छ । जसमा २६ वटा तरकारी तथा फलफूलको आयात स्वदेशी उत्पादनले नै धान्ने गरेको छ । यी तरकारीहरुको विदेशी आयात एक प्रतिशतभन्दा कम रहेको छ । तथ्याङ्क अनुसार १६ तरकारी तथा फलफूलको विदेशी आयात एकदेखि दश प्रतिशतको बीचमा मात्र रहेको छ ।

यस अवधिमा सुकेको माछा, क्लाइभ ग्रीन, किवी, लप्सी, नासपाति, मौसम, गुन्द्रुक, तामा, मकै, सलगम, धनियाँ, सलाद खाने साग, निउरो, कुरिलो, मेथीको साग, चिचिण्डो, हरियो भटमासको विदेशी आयात शुन्य रहेको छ । यसैगरी पालुङ्गोको साग, चम्सुर, रायोको साग, घिरौलो, काउली (स्थानीय), लिची (स्थानीय), ब्रोकाउली, मुला सेतो (स्थानीय), र बकुल्लाको विदेशी आयात पनि १ प्रतिशतभन्दा कम रहेको छ ।

तथ्याङ्क अनुसार २८ वटा तरकारी तथा फलफूलको विदेशबाट १० देखि ५० प्रतिशतको बीचमा आयात हुने गरेको छ । १३ प्रकारका तरकारी तथा फलफूलहरुको विदेशी आयात ५० देखि ८० प्रतिशतको बीचमा रहेको बजारमा आठ प्रकारका तरकारीको आयात विदेशी आयातले नै धान्ने गरेको छ । आठ प्रकारका तरकारी तथा फलफूल ९० प्रतिशतभन्दा धेरै आयात हुने गरेकोमा तीन वटा तरकारी पूर्ण रुपमा (शतप्रतिशत) विदेशी आयातबाट धानिने गरेको छ ।

एघार महिना अवधिमा कालिमाटीमा भित्रिएको तरकारीमध्ये मिठो चुकंदर, इमली, सुन्तला (चाइनिज) शतप्रतिशत विदेबाट आयात भएको छ । प्याज सुकेको (भारतीय), अनार, कागती, स्याउ (झोली), सुकेको लसुन (चिनियाँ) को आयात ९० प्रतिशतभन्दा धेरै रहेको छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ फागुन २०७७, मंगलबार  १९ : ०५ बजे