‘ब्ल्याकमेलिङ’ ले ठुला आयोजना अघि बढाउन लगानीकर्ता हच्किरहेका छन् – पृथ्वी पाँडे


पछिल्लो समय ठुला आयोजनाको अवधारण अघि बढिरहेका बेला त्यस्ता आयोजनामा विभिन्न किसिमका विवाद उत्पन्न गराउने क्रम पनि बढेर गएको छ । जसका कारण आफ्नो लगानी जोखिममा पर्ने त्रासले लगानीकर्ताहरु उत्साहका साथ त्यस्ता आयोजनामा लगानी गर्न सकिरहेका छैनन् । लगानी भएका सबैजसो आयोजनाहरुमा आयोजना सुरु भईसके पछि विभिन्न किसिमका विवादहरु उत्पन्न हुने गरेका छन् । यस सन्दर्भमा राधानीको मुटु ठमेलमा निर्माण सम्पन्न भएको छायाँदेवी कम्प्लेक्सका योजनाकार तथा मुख्य लगानीकर्ता पृथ्वी बहादुर पाँडे भन्छन्, “ठूला आयोजनामा विभिन्न स्वार्थ राखेर पछि विवाद निकालिन्छ, यसले लगानीकर्ता हतोत्साहित बनेका छन् ।”

७ वर्ष पहिलेसम्म ठमेलस्थित केशरमहल पछाडिको सिस्नोघारी रहेको जग्गामा बैंकर पृथ्वीबहादुर पाँडेले साढे ५ अर्बभन्दा बढी रकम लगानी गरेर ठमेल भित्रको ठमेल अवधारणामा एउटा भव्य व्यवसायिक महल निर्माण गरे ।

२०६५ सालमा अम्बिका राणा र शंकरप्रसाद शाहबाट जग्गा खरिद गरी चारै तिर महलका बिचमा रहेको सिस्नोघारीमा अत्याधुनिक सुविधा सम्पन्न महल छायाँदेवी कम्प्लेक्स निर्माण गरियो । जग्गा खरिद गरे पछि नक्सा पास, वातावरणीय प्रभाव मूल्याङ्कन लगायतका सबै काम सकेर निर्माण सुरु भएर जग बनिसके पछि केही व्यक्तिहरुले ब्लाकमेलिङ् सुरु गरेको पाँडे सम्झिन्छन् ।

भवन नबन्दासम्म कुनै प्रश्न नउठेको उक्त जग्गाको वैधानिकतालाई लिएर भवन निर्माण भईसके पछि धेरै विवाद उत्पन्न गराइएको उनको भनाई छ । अर्बौ रुपैंया लगानी गरेर तयार भएको महल रहेको जग्गा गूठीको रहेको भन्दै मुद्धा मामिलामा गएका व्यक्तिहरु वास्तविकता थाहा उापँदै गए पछि विवाद चर्काउने पक्षमा रहेनन् । केही व्यक्तिले भने विभिन्न संयन्त्रको सहयोगमा विवाद चर्काउँदै आफुलाई ब्लाकमेलिङ गरेको पाँडे बताउँछन् । आफुहरुले गैरकानुनी रुपमा भवन नबनाएका कारण नै आजका दिनमा त्यस्ता समुहहरुको सक्रियता निष्प्रभावी बनेको बताउने पाँडे अदालत र गूठीबाट समेत क्लिन चीट पाएकाले अबका दिनमा विवाद नआउने बताउँछन् ।

भएको के थियो ?

झण्डै ५ वर्ष समय खर्चिएर निर्माण पुरा भए पछि २०७५ पुस १० गतेबाट छाँयादेवी कम्प्लेक्स औपचारिक रुपमा सञ्चालनमा आएको हो ।

कम्प्लेक्स सञ्चालनमा आउनु पहिलेदेखि नै धेरैले छायाँदेवी कम्प्लेक्समा आँखा लगाएको पाँडेको अनुभव छ । जसका कारण कम्प्लेक्सको औपचारिक सुरुवात गर्ने दिनमा नै कोलाहल मच्चाउने समुहहरु जग्गाको यथार्थ नै नबुझी स्थानीय अड्डा अदालत पुगेको उनी बताउँछन् । पाँडेले जग्गा किन्नु भन्दा पहिले तत्कालीन जग्गाधनी अम्बिका राणा र सिंह सार्थ गरुड भगवान बहाल गुठीका थकालीबीच भएको मिलापत्रको विषय पुन बल्झाउन खोजिएको थियो ।

पाँडेले उक्त जग्गा खरिद गर्नु पहिले नै २०६२ असार १६ गते काठमाडौं जिल्ला अदालतका न्यायधीशको रोहबरमा दुई पक्षबीच मिलापत्र भएको थियो । त्यति बेला जग्गाकी मोही राणाले गुठीयारलाई एक करोड ५० लाख नगदी र चार आना जग्गा दिने गरी भएको मिलापत्र र विगतमा भएका नामसारी लगायतका आधारमा आफुहरुले जग्गा किनेको उनी सम्झिन्छन् । त्यसभन्दा पहिले पनि सर्वोच्च अदालतका न्यायधीश प्रकाश बहादुर के.सी र विश्वनाथ उपाध्ययको आदेशमा यी जग्गा धनी र गुठीयारका बीचमा मिलापत्र भएको थियो । सर्वोच्च अदालत डिभिजन बेञ्चले कोट फि ऐन २०१७ बमोजिम बिगो स्वरुप ३६ हजार रुपैयाँ तिराएर त्यतिबेला मिलापत्र गराएको थियो ।

रैतानी भइसकेको जग्गाको विषयलाई लिएर गुठी संस्थानले २०४७ माघ १८ गतेको आफ्नै निर्णयको बर्खिलाप हुने गरी २०४७ चैत ४ गते अर्को निर्णय गरेको थियो । उक्त निर्णयको बिरुद्धमा जग्गा धनी अम्बिका राणाले पाटन पुनरावेदन अदालतमा दर्ता गरेको मुद्दामा अदालतले गुठीको पहिलो निर्णयलाई नै सदर हुने गरी पछिल्लो निर्णयलाई २०५३ जेठ २५ गते बदर गरिदियो ।

गुठी संस्थानको निर्णय बदर हुने गरी गरिएको उक्त निर्णय प्रति सिंहसार्थ वाहु गरुड भगवान गुठीका गुठीयार थकालीहरूले जग्गा धनी राणा विरुद्ध काठमाडौं जिल्ला अदालतमा छुट्टै मुद्दा दायरा गरे । यस क्रममा पछिल्लो पटक २०६२ साल असार १६ गते काठमाडौं जिल्ला अदालतका न्यायधीसको रोहबरमा मिलापत्र भएको हो ।

केशर शमशेर जबराकी बुहारी तथा केयुर शम्शेर जबराकी पत्नी हुन् अम्बिका राणा । केशर महलसहित हाल छाँयादेवी कम्प्लेक्स बनेको जग्गा त्यति बेला केशर शम्शेरको नाममा थियो । पछि उनको मृत्युपछि जग्गाको स्वामित्व केयुर शमशेरमा सर्यो । केयुर शम्शेरको पनि मृत्यु पश्चात उनकी श्रीमती अम्बिका राणालगायतबाट पाँडेले सो जग्गा खरिद गरेका हुन् ।

छायाँदेवी कम्प्लेक्सका लागि अन्यत्रै ४ रोपनी जग्गा खरिद गर्ने र क्रमिक रुपमा क्षेत्रफल बढाउने तयारीमा रहेका पाँडेले ठमेलको हालको जग्गामा कुनै विवाद नआउने निक्यौल भए पछि जग्गा खरिद गरेका थिए । यस क्रममा गूठी र गूठीयारको सहयोग हुँदा हुँदै उत्पन्न गरिएका सबै विवादका सम्बन्धमा छायाँदेवी कम्प्लेक्सले क्लिन चीट पाएको छ । पछिल्लो पटक सिंहसार्थ वाहु गरुड भगवान गुठीले छाँयादेवी कम्प्लेक्सलाई २०७७ असोज २७ गते क्लिन चिट दिएको छ ।

छायाँदेवी कम्प्लेक्सको जग्गाले पायो ‘क्लिन चिट’, गूठी भन्छः कुनै विवाद छैन

आफुहरुले गलत काम नगरेका कारण नै क्लिन चीट पाएको बताउने पाँडे विगतमा भएका सम्झौता र कारोबारको विषय जोडेर अहिलेका लगानीकर्तालाई तर्साउन खोजिएको बताउँछन् । “अहिले स्थानीयले वास्तविकता बुझेकाले कुनै किसिमको बिरोध आएको छैन । म आफैं संस्कृति र सम्पदाको जगेर्ना र संरक्षण गर्न लागिरहेको मानिस कसरी विवादित काममा अघि सरुँला ?”

विभिन्न ठाउँमा मठमन्दिर बनाउनेदेखि सम्पदा संरक्षणमा पाँडेको परिवारले धेरै काम गर्दै आएको उनी बताउँछन् । सम्पदा संरक्षणमा काम गर्दै गर्दा आफुलाई नै सम्पदा मासेको आरोप लगायँदा दुख लागेको उनको भनाई छ । “गुठीको नाममा रहेको जग्गा मैले खरिद गरेको होइन । वरिष्ठ वकिलहरुसँग छलफल गरेर रैतानी जग्गा अप्ठ्यारो पर्दैन भनेपछि मात्र खरिद गरिएको हो ।”

अदालतले पटक पटक जग्गा रैतानी भनेर प्रमाणित गरिदिएको जग्गा गूठी वा सरकारको भएको भए हामीलाई किन बिक्री गरियो ? पाँडेले प्रश्न गरेका छन् ।

पाँडेको भनाई भिडियोमा

२०७० वैशाख २० गते काठमाडौं जिल्ला अदालतबाट रोक्का राख्न नमिल्ने भनी विपक्षहरूको नाममा आदेश भएका यस प्रकरणमा २०७१ असार २० र २०७१ कार्तिक २ गते सर्वोच्च अदालतबाट जग्गा रोक्का राख्न नमिल्ने भनि विपक्षको नाममा अर्को आदेश जारी भएको थियो । २०७१ मंसिर २५ गते काठमाडौं जिल्ला अदालतबाट छाँयादेवी कम्पेक्सको पक्षमा फैसला भएको थियो भने २०७२ फागुन १० गते पुनरावेदन अदालत पाटनबाट पनि छाँयादेवी कम्पेक्सको नाममा फैसला भएको थियो । २०६९ असोज ११ गते छाँयादेवी कम्प्लेक्स निर्माणको लागि डीपीसीसम्मको नक्सा पास भएकोमा २०७१ असोज ३१ गते छाँयादेवी कम्प्लेक्स प्रालिलाई काठमाडौं महानगरपालिकाले स्थायी नक्सा पास गरिदिएको थियो । २०७२ चैत १७ गते छाँयादेवी कम्प्लेक्सलाई तल्ला थपको नक्सा पास गरिदिएको महानगरापलिकाले २०७५ कार्तिक ८ गते भवन निर्माण सम्पन्नको प्रमाणपत्र दिएको थियो ।

ठमेल भित्रको ठमेल: ‘छायाँ सेन्टर’

नेपालको प्रमुख पर्यटकीय केन्द्र मध्य एक हो ठमेल । ठमेल आउने पर्यटकका लागि सबै किसिमका सेवा उपलब्ध हुने एक मात्र गन्तब्य बनेको छ ‘छायाँदेवी कम्प्लेक्स’ अर्थात छाँया सेन्टर । जसलाई ‘ठमेलभित्रको सानो ठमेल’ अर्थात ‘मिनी ठमेल’ को संज्ञा दिन सकिन्छ । ठमेलमा उपलब्ध अधिकांस वस्तु तथा सेवालाई एकै छाना मुनी समेट्ने क्रममा छाँया सेन्टरलाई ठमेल भित्रको ठमेलका रुपमा प्रबद्र्धन गरिएको हो ।

ठमेलस्थित कर्मचारी सञ्चयकोष र मल्ल होटलको मध्य भागमा करिब १५ रोपनी क्षेत्रमा बनेको मुलुककै सुविधा सम्पन्न र भव्य कम्प्लेक्स छायाँ सेन्टरले पर्यटन प्रवद्र्धन मात्र नभई समग्र अर्थतन्त्रमा टेवा पुर्याउने लक्ष्य लिएको छ ।

आफ्नै आँगनमा तयार भएको भव्य व्यवसायिक प्रतिष्ठानले ठमेलबासीमा उत्साह थपेको काठमाण्डौं महानगरपालिका वडा नम्बर २६ का पुर्व अध्यक्ष विश्वम्भर लाल प्रधान बताउँछन् । “छाँया सेन्टर एउटा बिजनेस हाउस हो, अलपत्र अवस्थामा रहेको जग्गामा अर्बौ रुपैंया लगानी गरेर तयार पारिएको कम्प्लेक्स ठमेलका लागि आर्थिक रुपमा कोशे ढुंगा हुन्छ भन्ने कुरामा दुईमत रहँदैन” प्रधानले भने ।

ठमेलमा बनेको यो भव्य संरचना, अनि यसले बिस्तार गरेको व्यवसाय, स्थानीयसँगको समन्वय लगायत कारणले स्थानीयबासी पनि छाँया सेन्टरप्रति आशावादी छन् । समग्र ठमेलको विकासका साथै आर्थिक कृयाकलापमा छाँया सेन्टरको भुमिका महत्वपुर्ण हुने बुझाई ठमेलबासीमा छ । स्थानीयबासी बालगोपाल कपाली भन्छन् “यत्रो लगानी गरिसक्नु भयो उहाँहरुले । हामीलाई हानी भएको छैन । यसो हेर्दा फाईदा नै भएको छ । धेरैले रोजगारी पाएका छन्, चहलपहलले आर्थिक कृयाकलाप बढ्नु पक्कै पनि राम्रो कुरा हो ।”

ठमेलको बजारलाई अन्तराष्ट्रियस्तरमा बजारीकरण गर्दै बढीभन्दा बढी पर्यटक भित्र्याउने योजनालाई केन्द्रमा राखेको छ । छाँया सेन्टरको यो अभियान पर्यटन क्षेत्रको विकासमा कोशेढुंगा सावित हुनेमा पर्यटन व्यवसायी आशावादी छन् । टानका पुर्व अध्यक्ष चन्द्र रिजाल भन्छन् “ठमेल अलिकति अव्यवस्थित छ, हामीले देखेका छौं । आधुनिक युगका विचार र सोचको आधारमा छाँया सेन्टर बनेको छ । मिनि ठमेलको रुपमा बनेको छ । यसले वरपरको स्थान र ठमेललाई पनि हरेक तवरबाट विकसित बनाउन मद्दत गर्छ । यो कम्प्लेक्स ठमेल मात्र नभई नेपालकै नमुनाको रुपमा स्थापित हनेमा विश्वस्त छु । यो एउटा नमुना र आदर्श व्यवसायको रुपमा पर्यटकिय क्षेत्र बन्छ भन्ने विस्वास छ ।”

स्थानीय जनप्रतिनिधि पनि पर्यटकीय नगरी ठमेल र ठमेलभित्रकै अर्को ठमेल छाँया सेन्टरले पर्यटन प्रवद्र्धनका साथै समग्रमा ठमेलको विकास र सम्पदा संरक्षणमा पनि राम्रो भुमिका खेल्ने अपेक्षा गर्छन् । काठमाण्डौं महानगरपालिका २६ नम्बर वडाका अध्यक्ष खेम तिवारी ठमेल र ठमेल भित्रकै अर्को ठमेल छाँया सेन्टर बनेको बताउँछन् । “यसले समग्रमा ठमेलको विकास र सम्पदा संरक्षणमा पनि राम्रो भुमिका खेल्छ भन्ने अपेक्षा राख्दछु” तिवारी भन्छन् ।

स्वदेशी लगानीमा बनेका पुर्वाधार तथा आयोजनामा केही व्यक्तिको स्वार्थले आक्रमणको प्रयास हुन थाले पछि स्वदेशी लगानीकर्ता लगानी असुरक्षित भएको महसुस गरिरहेका बेला स्वयम भगवानबहाल गुठीका साथै पर्यटन क्षेत्रका अन्य सरोकारवालाहरु पनि चिन्तित छन् । भगवानबहाल गुठीका प्रमुख रहेन्द्रप्रसाद प्रधान कम्प्लेक्सका सम्बन्धमा उठेका विवाद गलत भएको बताउँछन् । “समय अनुसार कानुन अनुसार सबै भएको हो । गुठि ऐन आएपछि अम्बिका राणाले त्यसलाई आफ्नो जग्गा बनाएर यो जग्गा छाँया सेन्टरलाई बेच्नु भएको हो । छाँया सेन्टरलाई बेचेपछि त्यो छाँया सेन्टरको जग्गा भयो । छाँया सेन्टरले पोखरी किनेको होईन, जग्गा किनेको हो । आफूले किनेको जग्गामा छाँया सेन्टरले कम्प्लेक्स बनायो । त्यसमा मेरो हिसाबमा विवाद गर्नु उपयुक्त होईन । विवाद गर्ने हो भने गोरख शमसेरसँग विवाद गर्नु पर्यो” प्रधानले भने ।

विभिन्न स्वार्थ केन्द्रहरुबाट नकारात्मक प्रचारबाजीले लगानीकर्ताको मनबोल खस्काउने प्रयत्नहरु निरुत्साहित गरिनुपर्ने कम्प्लेक्सका लगानीकर्ताहरुको भनाई छ । अहिले छाँया सेन्टरको विषयमा इतिहासका पन्नाहरुलाई आधार बनाएर तत्कालिन कानूनी व्यवस्थाहरुलाई नै गलत सावित गराउन खेजिनु दुखद भएको छाँया सेन्टरका प्रबन्ध निर्देशक महेश्वर श्रेष्ठको भनाई छ ।

अर्बौ रुपैयाँ लगानी गरेर सुरु गरिएको व्यवसायमा बाधा पुर्याउँदा अहिले स्थानीयहरु नै अभियानको विरुद्धमा उत्रिएको कम्प्लेक्सका सञ्चालक सुमन बिक्रम पाण्डेको भनाई छ । “केही समय हामीलाई बदनाम गराउन खोजिए पनि अहिले राम्रो हुँदै गएको छ ।” पाण्डेले भने ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।