अनलाइन सपिङका लागि प्रिपेड कार्ड, ५ सय डलरको वस्तु आयात गर्दा ५ हजारसम्मको सेवा निर्यात गर्न सकिने


नेपाल राष्ट्र बैंकले अन्तराष्ट्रिय स्तरमा अनलाइन मार्फत वस्तु तथा सेवा खरीद गर्नका लागि भनेर विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न बैंकहरुलाई अनुमति दिएको छ । केन्द्रीय बैंकले वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकले आफ्ना ग्राहकलाई यस्तो कार्ड जारी गर्न अनुमति दिएको हो ।

यसरी जारी भएको कार्डबाट ५ सय अमेरिकी डलरसम्मको वस्तु तथा सेवा खरीद गर्न सकिन्छ । तर, अनलाइन मार्फत सेवा निर्यात गर्दा यस्तो कार्ड मार्फत ५ हजार अमेरिकी डलसम्मको भुक्तानी लिन सकिने व्यवस्था केन्द्रीय बैंकले गरेको हो ।

विश्वव्यापी रुपमा बढेको इ कमर्सलाई प्रोत्साहन गर्दै केन्द्रीय बैंकले अन्तर्राष्ट्रिय स्तरबाट पनि वस्तु तथा सेवा खरीद तथा बिक्री गर्ने बाटो खुलाएको छ ।

नेपालीले विदेशी मुद्रामा कार्ड मार्फत वस्तु तथा सेवा दुबै वार्षिक ५ सय अमेरिकी डलरसम्मको खरिद गर्न गर्न सक्न भने बिक्री गर्ने सन्दर्भमा सेवा मात्र तोकिएको छ । यसरी सेवा बिक्री गर्दा पनि ५ हजार डलरसम्मको मात्र कार्ड मार्फत भुक्तानी लिन सकिन्छ । सेवा बिक्री गरेर ५ हजार डलर भन्दा धेरै आम्दानी भएको खण्डमा सो भन्दा बढी भएको रकम सम्बन्धित व्यक्ति वा संस्थाको खातामा जम्मा गर्नुपर्ने छ । केन्द्रीय बैंकका अनुसार प्रिपेड कार्ड लिन चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाको बैंक खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी त्यस्तो कार्ड लिन सक्नेछन् ।

बैंकहरुले कार्ड जारी गर्दा सम्बन्धित प्रयोगकर्ताको ग्राहक पहिचान विवरण अद्यावधिक भएको तथा सम्बन्धित प्रयोगकर्ताले स्थायी लेखा नम्बर लिएको हुनुपर्छ । नेपालको प्रचलित कानूनले प्रतिबन्ध नलगाएका विदेशी वस्तु तथा सेवा कार्ड प्रयोगकर्ताले अनलाइन मार्फत् विदेशबाट खरीद गर्न सक्नेछन् ।

कार्ड प्रयोगकर्ताले विदेशमा अनलाइन मार्फत सेवा निर्यात गरेवापत आर्जन गरेको विदेशी मुद्रा समेत कार्डमा जम्मा हुने व्यवस्था मिलाउनुपर्ने व्यवस्था कन्द्रीय बैंकले गरेको छ । यसरी विदेशी मुद्रा प्राप्त रकम कार्ड प्रयोगकर्ताको अनुरोधमा निजको स्वदेशी वा विदेशी मुद्रा खातामा जम्मा हुनसक्ने व्यवस्था समेत हुनुपर्छ ।

सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गरेका कार्ड प्रयोगकर्ताले विदेशबाट वस्तु तथा सेवा खरीद गर्दा भुक्तानीको लागि विदेशी मुद्रा सटहीको वार्षिक सीमा विदेशी मुद्रा आर्जन गरेको रकम र अमेरिकी डलर ५०० को योग बराबर हुने केन्द्रीय बैंकले जनाएको छ ।

ग्राहकले यो सुविधा एकभन्दा बढी संस्थाबाट यस्तो सुविधाको उपयोग गरे विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिम कारवाही हुने समेत निर्देशनमा उल्लेख छ । कार्डबाट कारोबार गर्दा सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ लगायतका प्रचलित कानून, नियम, निर्देशनको पूर्ण पालना गर्नु पर्नेछ । यो कार्ड मार्फत अनलाइन मार्फत् वस्तु तथा सेवा आयात वापतको भुक्तानी गर्ने प्रयोजन बाहेक पूँजीगत कारोबारको लागि खर्च गर्न पाइने छैन । साथै, यस्ता कार्ड प्रयोग गरी एटीएमबाट नगद झिक्ने, पीओएस मार्फत कारोबार गर्ने लगायतका कारोबार गर्न सकिँदैन । ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।