मंगलबार १५ अर्बको ट्रेजरी बिल निष्काशन हुँदै, ब्याजदर कति पाइएला ?

0
Shares

सरकारलाई पूँजी आवश्यक भएपछि मंगलबार १५ अर्ब रुपैयाँ भन्दा धेरैको ट्रेजरी बिल निष्काशन गर्ने भएको छ । पछिल्लो समयमा वित्तीय प्रणालीमा अधिक तरलता रहेको हुनाले घटेको ब्याजदरको फाइदा उठाउदै सरकारले आन्तरिक ऋण उठाउन लागेको हो ।

सरकारलाई पैसा आवश्यक परेको अवस्थामा नेपाल राष्ट्र बैंक मार्फत आन्तरिक ऋण उठाउने गर्छ । सरकारले अल्पकालिन र दीर्घकाीलन दुबै प्रकृतिका ऋण लिने गर्छ । ट्रेजरी बिललाई अल्पकालिन ऋणका लागि प्रयोग गरिने औजारको रुपमा लिइन्छ । केन्द्रीय बैंक मार्फत उठाइने आन्तरिक ऋण ट्रेजरी बिल बिक्री गरेर पैसा उठाइन्छ । सो ट्रेजरी बैंक तथा वित्तीय संस्थाहरुले खरिद गर्छन ।

पछिल्लो समयमा सरकार ट्रेजरी बिल जारी गर्न केही आक्रामक देखिएको छ । वित्तीय प्रणालीको सस्तो ब्याजदरका कारण पनि सरकारले आन्तरिक ऋणलाई विगतका वर्षमा भन्दा यो वर्ष धेरै प्रयोग गरेको देखिन्छ ।

राष्ट्र बैंकले सोमबार बोलपत्र आह्वान गरेको १५ अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल मंगलबार निष्काशन हुनेछ । यसभन्दा अघि चैत १ गते ९१ दिने र १८२ दिने गरी २ प्रकारका कुल ६ अर्ब रुपैयाँ बराबरको निष्काशन गरेको थियो । यो ट्रेजरी बिलमा तय भएको ब्याजदर भने पछिल्लो १० महिना यताकै उच्च थियो।

सोमबार बोलकबोल भएको ट्रेजरी बिलहरुमा ९१ दिने, १८२ दिने र ३६४ दिने गरी तीन प्रकारका रहेका छन् । केन्द्रीय बैंकले ९ अर्ब २ करोड रुपैयाँ बरावरको ९१ दिने, ४ अर्ब ३० करोड रुपैयाँ बरावरको १८२ दिने र २ अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गरेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार ९१ दिने ट्रेजरीको औसत ब्याजदर २.६९३६ प्रतिशत कायम रहेको छ । त्यसैगरी १८२ दिनेको औसत ब्याजदर ३.२८०३ प्रतिशतले कायम भएको छ । त्यसैगरी ३६४ दिनेको औसत ब्याजदर ३.१००० प्रतिशत कायम भएको छ । मंगलबार निष्काशन हुने ट्रेजरी बिलको ब्याजदर यो भन्दा पनि माथि जाने अनुमान बैंकरहरुको छ । वित्तीय प्रणालीमा तरलता कसीलो अवस्थामा रहेको हुनाले ट्रेजरी बिलको रेट बढ्ने अुनमान गरिएको हो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।