स्टक डिलरले ३९ मध्ये कुन कम्पनीको कति कित्ता शेयर किन्न पाउँछ ?

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले लागू गरेको धितोपत्र ब्यापारी स्टक डिलर कार्य संचालन कार्यविधि २०७७ अनुसार स्टक डिलर कम्पनीले एक पटकमा एक हजार कित्ताभन्दा कम शेयर खरीद बिक्री गर्न नपाउने व्यवस्था रहेको छ ।

नेप्से संचालक समितिको निर्णय अनुसार उक्त कार्यविधि गत भदौ १ गतेदेखि कार्यन्वयनमा आएको हो । जस अनुसार स्टक डिलर कम्पनीले कारोबार योग्य सूचीमा परेका जुनसुकै कम्पनीको पनि एक पटकमा एक हजार कित्ताभन्दा कम परिमाणको शेयर खरिद वा बिक्री आदेश गर्न नपाउने व्यवस्था रहेको छ ।

यस्तै स्टक डिलरले एक दिनभन्दा बढी बहाल रहने गरी प्रणालीमा खरीद बिक्री आदेश प्रविष्ट गर्न नपाइने व्यवस्था पनि कार्यविधिले गरको छ । उक्त कार्यविधिमा स्टक डिलरले ८ अर्ब रुपैयाँ वा सोभन्दा बढी चुक्ता पूँजी भएका कम्पनीहरुको ५० हजार कित्तासम्म शेयर खरीद पाउने व्यवस्था छ ।

यस्तै ५ अर्बदेखि ८ अर्ब रुपैयाँभन्दा कम चुक्ता पूँजी भएको कम्पनीको ४० हजार, २ अर्ब रुपैयाँभन्दा बढी र ५ अर्बसम्म चुक्ता पूँजी भएको कम्पनीको ३० हजार र १ अर्ब रुपैयाँदेखि २ अर्ब रुपैयाँसम्म चुक्ता पूँजी भएको कम्पनीको एक पटकमा २५ हजार कित्तासम्म शेयर खरिद गर्न सक्ने व्यवस्था गरेको छ ।

यसैगरी ५० करोडदेखि एक अर्ब रुपैयाँसम्म चुक्ता पूँजी भएका कम्पनीको २० हजार कित्ता, २० करोड रुपैयाँभन्दा बढी र ५० करोडभन्दा कम चुक्ता पूँजी भएको कम्पनीको एक पटकमा १० हजार कित्तासम्म मात्र शेयर खरीद गर्न पाउने व्यवस्था कार्यविधिमा छ। २० करोड रुपैयाँभन्दा कम चुक्ता पूँजी भएको कम्पनीलाई नियमति कारोबारमा संलग्न गर्न नपाउने व्यवस्था छ ।

धितोपत्र व्यापारी कार्यसंचालन सम्बन्धी कार्यविधि २०७७ अनुसार स्टक डिलर कम्पनीले विगत ३ वर्षदेखि नाफामा रहेको, लगानीकर्ताको संख्या कम्तिमा १० हजार नाघेको, चुक्ता पूँजी २० करोड रुपैयाँ भन्दा बढी भएको हुनुपर्ने व्यवस्था रहेको उनले जानकारी दिए । त्यस्तै विगत एक वर्षको कारोबार दिनमध्ये कम्तिमा ८० प्रतिशत दिनमा कारोबार भएका कम्पनीहरुको मात्र शेयर किनबेच गर्न पाउनेछन् । यस्ता कम्पनीको संख्या ३९ मात्र छ ।

स्टक डिलर कम्पनीले एक दिनमा आफ्नो नेटवर्थको अधिकतम ६० प्रतिशत रकम सीमासम्म मात्र कारोबार गर्न पाउने व्यवस्था छ । स्टक डिलर कम्पनीले दैनिक रुपमा आफ्नो नेटवर्थको ६० प्रतिशतभन्दा धेरै रकमको शेयर किनबेच गर्न पाउने छैन् ।

धितोपत्र ब्यापारीले सूचीकृत धितोपत्रको कारोबार गर्न गराउन नेप्सेमा कम्तीमा ५० लाख नगद वा बैंक ग्यारेन्टी राख्नुपर्ने व्यवस्था छ । धितोपत्र ब्यापारीले धरौटी राखेको रकमवाट २५ गुणासम्मको सीमाभित्र रही कारोबार गर्न पाउने व्यवस्था कार्यविधिले गरेको छ ।

स्टक डिलर कम्पनीले नेप्से तथा बोर्डको स्वीकृति वेगर कारोबार बन्द गर्न पाउदैन ।त्यसैगरी नेप्सेलाई झुटा वा भ्रामक सूचना वा विवरण दिने, नेप्सेको स्वीकृति नलिई आफ्नो कारोबारको सार्वजनिक रुपमा विज्ञापन गर्ने, बजार सञ्चालनका लागि बाधा पुग्ने कार्य गर्न नपाउने व्यवस्था कार्यविधिमा छ ।

नेप्सेको प्रणालीभन्दा बाहिर गएर धितोपत्र बिक्री गर्ने तथा रोक्का धितोपत्रको कारोबार गर्न समेत धितोपत्र व्यापारीले पाउँदैनन् । झुठ्ठा कारोबार गर्ने तथा भित्रि सूचनामा आधारित रहेर कारोबार गर्न पनि बन्देज लगाईएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।