के हो इन्साइडर ट्रेडिङ ? इन्साइडर ट्रेडिङ गर्नेलाई के हुन्छ कारबाही ?

0
Shares

के हो भित्री कारोबार ?

कुनै व्यक्तिले सार्वजनिक नभएका धितोपत्रको मूल्यमा असर पार्न सक्ने भित्री सूचना वा जानकारीहरुको आधारमा आफुले धितोपत्र कारोबार गरेमा वा अरुलाई धितोपत्र कारोबार गर्न लगाएमा वा आफुलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरु कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानिनेछ।

“भित्री सूचना वा जानकारी” भन्नाले कुनै धितोपत्र जारी गर्ने संगठित संस्थाबाट सार्वजनिक नभएको कुनै खास किसिमको सूचना वा जानकारी सार्वजनिक भएमा त्यस्तो धितोपत्रको मूल्यमा असर पर्न सक्ने किसिमका सूचना वा जानकारी सम्झनु पर्छ ।

भित्री कारोबारमा संलग्न हुन सक्ने व्यक्तिः

संगठित संस्थाका सञ्चालक, कर्मचारी वा शेयरवालाको हैसियतले कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्ने व्यक्ति, सो संगठित संस्थालाई पेशागत सेवा प्रदान गर्ने नाताले कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्ने व्यक्ति भित्री कारोबारमा संलग्न हुन सक्नेछन् ।

झुट्टो कारोबारः

प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा धितोपत्र खरिद वा बिक्री भएको भए तापनि वास्तविक स्वामित्वमा फरक नपर्ने भएमा, अर्कोले खरिद वा बिक्री गर्न प्रस्ताव गरेको मूल्य थाहा पाई सोहीसँग मिल्ने गरी खरिद वा बिक्री गर्ने प्रस्ताव गरेको भएमा त्यस्ता कारोबारलाई झुट्टो कारोबारका रुपमा लिने गरिन्छ ।

मूल्यमा उतार चढावः कसैले हुँदै नभएको वा कृत्रिम वा झुट्टो कारोबार गरी गराई धितोपत्रको मूल्य स्थिर गराएमा, बढाएमा, घटाएमा वा बराबर परिवर्तन गराएमा मूल्यको उतार चढाव गराएको मानिनेछ ।

धितोपत्र बजारलाई प्रभावित पारेमाः

कसैले धितोपत्र कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैले वा अरुसँग मिली देहायका कुनै काम गरेमा धितोपत्र बजारलाई प्रभावित गरेको मानिनेछ । कसैलाई धितोपत्र किन्न वा बेच्न उत्साहित गराउने उद्देश्यले वा धितोपत्र खरिद वा बिक्री नगरोस् भन्ने उद्देश्यले कुनै कम्पनीले जारी गरेको धितोपत्रको बजार मूल्य बढाउने,कसैलाई धितोपत्र किन्न वा बेच्न उत्साहित गराउने उद्देश्यले वा धितोपत्र खरिद वा बिक्री नगरोस् भन्ने उद्देश्यले कुनै कम्पनीले जारी गरेको धितोपत्रको बजार मूल्य घटाउने,कसैलाई धितोपत्र किन्न वा बेच्न उत्साहित गराउने उद्देश्यले वा धितोपत्र खरिद वा बिक्री नगरोस् भन्ने उद्देश्यले कुनै कम्पनीले जारी गरेको धितोपत्रको बजार मूल्यलाई स्थिर बनाउने ।

झुक्याउने विवरणहरु दिनेः

कसैले कसैलाई धितोपत्र खरिद बिक्री गर्न उक्साउने उद्देश्यले देहायका काम गरेमा झुक्याउने काम गरेको मानिनेछ । झुट्टो, भ्रामक वा गलत हो भनी जानीजानी कुनै विवरण वा पूर्व अनुमान सम्बन्धी विवरण बनाउने वा प्रकाशित गर्ने, बदनीयत साथ कुनै तथ्य वा जानकारी लुकाउने,बदनीयत साथ झुट्टा वा भ्रामक विवरण, प्रतिज्ञा वा पूर्व अनुमान बनाउने वा प्रकाशित गर्ने ।

जालसाजीयुक्त कारोबारः

कसैले कसैसँग धितोपत्र खरिद बिक्री वा विनिमय गर्ने उद्देश्य लिई देहायका कारोबार गरेमा जालसाजी गरेको मानिनेछ । कसैलाई झुक्याउन कुनै प्रविधि, योजना वा काम गरेमा, वा कसैलाई झुक्यानमा पारी कुनै काम गराएमा वा काममा लगाएमा जालसाजीयुक्त कारोबार मानिने कानूनी व्यवस्था छ ।

भित्री कारोबार र धितोपत्र कारोबार सम्बन्धी कसुर तथा दण्ड सजायको व्यवस्था

धितोपत्र सम्बन्धी ऐन २०६३ को परिच्छेद ९–मा ‘धितोपत्रको भित्री कारोबार र धितोपत्र कारोबार सम्बन्धी कसुर तथा दण्ड सजायको व्यवस्था’ गरिएको छ ।
सरकारले धितोपत्र सम्बन्धि ऐन, २०६३ को दफा १०१ लाई संशोधन गरेर धितोपत्र बजारमा भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गर्ने माथि कठोर सजायको व्यवस्था सहितको विधेयक प्रतिनिधि सभामा दर्ता गराएको छ । तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले सो विध्येक संसदमा दर्ता गराएका थिए । उक्त विधयेक संसदबाट पारित भएको छैन् ।

धितोपत्रको दोस्रो बजारमा हुन सक्ने भित्री कारोबारलाई रोक्न तथा त्यस्ता कारोबारहरु भएको देखिएमा कारवाही प्रकृयालाई व्यवस्थीत गर्ने उद्देश्यले तयार गरिएको धितोपत्रको भित्री कारोवार निषेध सम्बन्धी नियमावली, २०७६ स्वीकृतिका लागि धितोपत्र बोर्डले डेढ वर्ष अगाडि अर्थमन्त्रालयमा पठाएको भएपनि अझै लागू हुन सकेको छैन् ।

धितोपत्र सम्बन्धी ऐन २०६३ को परिच्छेद ९–मा भित्री कारोबारमा संलग्न हुन सक्ने व्यक्तिको पहिचान गरेको छ । जसमा संगठित संस्थाको सञ्चालक, कर्मचारी वा सेयरवाला हैसियतले कुनै सूचना वा जानकारी प्राप्त गर्ने व्यक्ति, संस्थालाई पेशागत सेवा प्रदान गर्ने नाताले कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्ने व्यक्तिलाई जनाएको छ ।

… अजोड इन्स्योरेन्सको सूचना चुहाएर गराइयो भित्री कारोबार, नेप्सेले छानबिन गर्ने …

मुल ऐनमा इन्साइडर ट्रेडिङ गर्नेलाई बिगो बराबरको जरिवाना वा एक वर्षसम्म कैद वा दुबै सजाय हुने व्यवस्था गरेकोमा संशोधनका लागि प्रस्तावित विधेयकमा बिगो नखुलेमा एक लाखको ठाउँमा १० लाख र एक वर्ष दण्ड सजायको ठाउँमा तीन वर्ष तोकिएको छ । तर बिगो खुलेको अवस्थामा भने बिगो बमोजिमको जरिवाना र तीन वर्षसम्म कैद वा दुबै सजाय हुने प्रस्ताव गरिएको छ ।

मूल्यमा उतार चढाव, धितोपत्र बजारलाई प्रभावित पारेमा र जालसाजीयुक्त कारोबार गरेमा ५० हजार रुपैयाँदेखि एक लाख पचास हजार रुपैयाँ जरिवाना वा एक वर्ष कैद वा दुबै सजायको सट्टामा बिगो नखुलेमा एक लाख ५० हजार रुपैयाँदेखि चार लाख ५० हजार रुपैयाँसम्म जरिवाना वा तीन वर्ष कैद वा दुबै सजाय हुने व्यवस्था गरिएको छ । यदि बिगो खुलेको अवस्थामा भने बिगो भराई बिगो बमोजिमको जरिवाना वा तीन वर्ष कैद वा दुबै सजाय प्रस्ताव गरिएको छ ।

उक्त संशोधित विधयेकमा झुक्याउने विवरणहरू दिने, जालसाजीयुक्त कारोबार, जालसाज गरी वा झुक्यान पारी धितोपत्र कारोबार गरेमा वा लिखत विवरण वा अभिलेख नष्ट गरेमा वा लुकाएमा एक लाख रुपैयाँदेखि तीनलाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुबै सजायको व्यवस्था गरेको छ भने बिगो नखुलेमा तीन लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म जरिवाना र ६ वर्षसम्म कैद वा दुबै सजायको प्रस्ताव गरिएको छ ।

कसैले जानीजानी वा यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम वा विनियम वा यस ऐन अन्तर्गत जारी गरिएको आदेश वा निर्देशनको बर्खिलाप काम गरी कुनै संगठित संस्था, धितोपत्र बजार, धितोपत्र व्यवसायी वा लगानीकर्तालाई हानी नोक्सानी गरे,गराएमा ५ लाख रुपैयाँदेखि १५ लाख रुपैयाँ जरिवान गर्ने विधयेकमा उल्लेख छ ।

त्यसैगरी प्रस्तावित विधेयकमा ऐन अनुसार रित नपुर्याई धितोपत्र निष्काशन गरेमा, धितोपत्र बजार वा धितोपत्र व्यवसायीको हैसियतले धितोपत्र कारोबार सञ्चालन गरे गराएमा वा अनुमति नलिई केन्द्रिय निक्षेप सेवा वा विशिष्टिकृत लगानी कोष सञ्चालन र ट्रष्टी नियुक्ति गरे गराएमा ५० हजार रुपैयाँदेखि ४ लाख रुपैयाँसम्म जरीवाना गर्न सक्ने व्यवस्था गरेको छ ।

भित्री सूचना सार्वजनिक गरी झुठो कारोबार गरेमा, मूल्यमा उतार चढाव भएमा, धितोपत्र बजारलाई प्रभावित पारेमा ५० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरिवाना हुने र एक वर्ष कैद वा दुवै कारबाही हुने व्यवस्था ऐनमा छ ।

ऐन अनुसार कुनै सञ्चालक, महाप्रबन्धक वा सो सरहको पद धारण गरेको कुनै पनि व्यक्तिले ऐनमा भएको कुनै सजाय पाएमा त्यस्तो सजाए पाएको मितिले १० वर्ष अवधि पुरा नभएसम्म त्यो व्यक्ति कुनै पनि पब्लिक लिमिटेड कम्पनी वा संस्थाको सञ्चलाक, महाप्रबन्धक वा सो सरहको पदमा बहाल हुन योग्य नहरने व्यवस्था समेत गरेको छ ।

अहिलेसम्म भित्री रुपमा कारोबार गरेको भन्दै नियामक निकायले कसैलाई पनि कारबाही गरेको छैन । शेयर लगानिकर्ताहरुले भने बेलाबेलामा भित्री कारोबार हुने गरेको भन्दै कारबाहीको माग गर्दै आएका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।