नेप्सेमा सूचीकृत अधिकांश कम्पनी ‘स्टक मार्केट नम्स’ भित्र छैनन्

0
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका अधिकांश कम्पनीले पूँजी बजार सम्बन्धी नियमको पालन नगर्ने गरेको देखिन्छ । सर्वसाधारणबाट पूँजी संकलन गर्ने विषयमा जानकार भएका कम्पनीहरु दोस्रो बजारको ‘नम्स एण्ड भ्यालु’ लाई स्विकार गर्न सकिरहेका छैनन् ।

धितोपत्रको दोस्रो बजारमा लगानी गर्दा कम्पनीका सकारात्मक/नकारात्मक सूचना, कम्पनीको साख, संस्थागत सुशासन, नियामकीय परिपालना, कम्पनीले दिने लाभांश लगायतका पक्षलाई विश्लेषण गरेर नै हो । तर, सूचीकृत कम्पनीहरुले यी विषयहरुलाई संवेदनशील रुपमा लिने गरेका छैनन् । साच्चिकै भन्नु पर्दा सूचीकृत अधिकासं कम्पनी धितोपत्र बजार प्रति अनुशासीत तथा लगानीकर्ता प्रति इमान्दार हुनै चाहेनन् ।

पछिल्लो समयमा नागरिक लगानीकोषको सहायक कम्पनी नागरिक स्टक डिलरले धितोपत्र किनबेच गर्न सक्ने कम्पनीको छनोट गर्दा २१८ वटा सूचीकृत कम्पनीमा ३९ मात्र परेका छन् । त्यसैगरी केही समय अघि मार्जिन कारोबारका लागि योग्य कम्पनी छनोट हुँदा पनि ३१ कम्पनी मात्र परे । यसले धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताका लागि योग्य कम्पनी वा पूँजी बजार प्रति इमान्दार भनिएका कम्पनी ५० पनि नभएको स्पष्ट हुन्छ ।

यी ५० कम्पनीको धितोपत्र स्टक डिलर र मार्जिन ट्रेडिङ लागि योग्य हुनु भनेको अन्य कम्पनी धितोपत्र बजारमा कारोबार हुनका लागि अयोग्य भन्ने बुझ्दा पनि फरक पर्दैन् । तर, बजारका केही ‘ब्लु चिप’ कम्पनीको रुपमा चिनिएका कम्पनीहरु समेत यी दुबै वर्गका पर्दैनन् ।

बजार विश्लेषणका लागि साधन स्रोत सम्पन्न संस्थागत लगानीकर्ताले छनोट गर्ने कम्पनी नै ४० मात्र छन् भने सर्वसाधारण लगानीकर्ताले के गर्ने भन्ने प्रश्न जन्मिनु स्वभावीक हो । सर्वसाधारण लगानीकर्ताले बजार, कम्पनी र समग्र आर्थिक अवस्थालाई विश्लेषण गरेर लगानी गर्दा पनि जोखिम उच्च हुने देखिन्छ । नेप्सेमा सूचीकृत अधिकासं कम्पनीको शेयर लगानी गर्दा कम्पनीकै कारणले पनि जोखिम झनै बढेको स्पष्ट हुन्छ ।

सूचीकृत कम्पनीले धितोपत्र बोर्ड तथा नेप्सेले मागेका सूचना तथा कागजातहरु समयमा दिन आनाकानी गर्ने, सूचनाको आन्तरिक रुपमा प्रयोग गरी शेयर खरिद बिक्री गर्ने, समयमा साधारण सभा नगर्ने तथा कम्पनीको वित्तीय अवस्थामा समेत सर्वसाधारणलाई जानकारी दिन हिचकिचाउने गरेको देखिन्छ ।

यो भनेको शेयर बजारको अनुशासन भन्दा बाहिरको कुरा रहेको लगानीकर्ता बताउँछन् । “सर्वसाधारणमा शेयर बिक्री गर्नु भनेको पारदर्शि बन्नु तथा नीति नियमको पुर्ण पालना गर्नु हो,” एक लगानीकर्ताले भने,“मैले लगानी गरेको कम्पनीको नियमसंगत पाउनु पर्ने सूचना तथा जानकारी पनि समयमा पाउन सक्दिन भने त्यस्ता कम्पनीलाई कारबाही किन गरिदैन ?” सर्वसाधारणमा शेयर जारी गरेर पूँजी उठाउने अनि लगानीकर्ता प्रति जिम्मेबार हुनु नपर्ने उनले थप पश्न गरे । यसका लागि धितोपत्र बोर्ड र नेप्सेले नियमनलाई प्रभावकारी बनाई लगानीकर्ताको हितमा काम गर्नुपर्नेमा उनले जोड दिए ।

ट्रान्सपरेन्सी, डिसिपिलिन, डिस्क्लोजर, जिक्यूडीटी र गभर्नेन्सका कुराहरुलाई विश्लेषण गरेर कम्पनीहरु छनोट गरिने नेप्सेका एक अधिकारीले बताए । “यसलाई आधार बनाएर सूचीकृत कम्पनीहरुको विश्लेषण गर्दा धेरै कम्पनी पूँजी बजारको नम्र्स र भ्यालु अनुसार अयोग्य देखिए,” ति अधिकारीले भने, “नेप्सेले मापदण्ड बनाउँदा नै यी सबै कुरालाई हेरेर बनाएको हुनाले सोही अनुसार मार्जिन कारोबारका लागि र स्टक डिलरका लागि कम्पनी छनौट गरिएको हो ।” धेरै कम्पनी पब्लिकमा आउने र सूचीकरण गर्ने तर बजारको नम्र्स र भ्यालुलाई पालना नगर्दा लगानीकर्तालाई थप जोखिम बढेको उनको भनाई छ । सूचीकृत कम्पनीले धितोपत्र बोर्ड तथा नप्सेले ताकेता गर्दा पनि यस्ता नियामकीय निर्देशनको पालना नगरेको समेत उनले बताए ।

स्टक डिलर सञ्चालन सम्बन्धी कार्यविधि २०७७ अनुसार विगत ३ वर्षदखि नाफामा रहेको, लगानीकर्ताहरुको संख्या १० हजार रहेको, चुक्ता पुँजी २० करोड रुपैयाँ भन्दा धेरै रहेको, विगत एक वर्षको कारोबार दिनमध्यै कम्तिमा ८० प्रतिशत कारोबार भएको कम्पनीको शेयर स्टक डिलरले खरिद गर्न सक्ने व्यवस्था छ । सोही अनुसार नेप्सेले कम्पनीहरुलाई विश्लेषण गर्दा ३९ कम्पनी मात्र योग्य भएका हुन ।

त्यसैगरी मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०७५ अनुसार कम्तिमा १० हजार शेयरधनी भएको, कम्पनीको खुद सम्पत्ति चुक्ता पूँजी भन्दा कम नरहेको, पछिल्लो दुई आर्थिक वर्षमा कम्तिमा दश प्रतिशत लाभांश वितरण गरेको, दोस्रो बजारमा अघिल्लो आर्थिक वर्षभर कम्तिमा असी प्रतिशत कारोबार दिनमा शेयर कारोबार भएको र आर्थिक वर्षको प्रथम ६ महिनाभित्रै वार्षिक साधारण सभा सम्पन्न गरेको कम्पनीको शेयरमा मर्जिन कारोबार गर्न सकिने व्यवस्था छ । यसरी सुरक्षीत कारोबारका लागि छनोट गरिएका कम्पनीको सूची हेर्दा अधिकासं कम्पनीको लगानी आफैमा उच्च जोखिम रहेको देखिन्छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।