धितोपत्र बजारमा ऋणपत्र बिक्रीको ओइरो लाग्दैः २१ अर्बको आवेदन बोर्डको पाइपलाइनमा

0
Shares

पछिल्लो समय बैंकहरुको ऋणपत्र बिक्री गर्ने क्रम ह्वात्तै बढेको छ । एकपछि अर्को गर्दै बैंकहरुले ऋणपत्र बिक्रीका लागि नियामक निकाय धितोपत्र बोर्डसँग अनुमति मागिरहेका छन् ।

नेपाल राष्ट्र बैंकले कुनै बेला बैंकिङ्ग प्रणालीमा लगानीयोग्य तरलता अभावका कारण स्रोत परिचालनका लागि ऋणपत्र बिक्री गर्न मौद्रिक नीति मार्फत बाध्यकारी व्यवस्था गर्नुपरेको थियो । जस अन्तर्गत वाणिज्य बैंकलाई चुक्ता पूँजीको अनिवार्य २५ प्रतिशत ऋणपत्र जारी गर्नेपर्ने बाध्यत्मक व्यवस्था मौद्रिक नीति मार्फत गरियो । तर तिनै बैंकहरु अहिले भने एउटा ऋणपत्र बिक्री गर्न नपाउँदै अर्को बिक्रीका लागि आतुर देखिएका छन् ।

नेपाल धितोपत्र बोर्डले उपलब्ध गराएको चैत ६ गतेसम्मको तथ्याङ्कलाई आधार मान्ने हो भने नै नेपाल धितोपत्र बोर्डमा ऋणपत्र जारी गर्न ८ वाणिज्य बैंकले २० अर्ब ९५ करोड रुपैयाँ बराबरको २ करोड ९ लाख ५० हजार कित्ता इकाई बिक्रीका लागि अनुमति मागेका छन् ।
ऋणपत्र जारी आवेदन दिने बैंकहरुमा प्रभु बैंक, नैपाल बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, सेञ्चुरी बैंक, एनएमबि बैंक, ज्योति विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंक रहेका छन् ।

बोर्डका अनुसार ७५ करोड रुपैयाँदेखि ४ अर्ब रुपैयाँसम्मको ऋणपत्र जारी गर्दै अनुमति मागेका छन् । प्रभु बैंकले सबैभन्दा धेरै ४ अर्बको ऋणपत्र जारी गर्न अनुमति मागेको छ भने सांग्रिला डेभलपमेन्ट बैंकले सबैभन्दा कम ७५ करोडको ऋणपत्र बिक्री गर्न अनुमति मागेको छ ।

बोर्डमा आवेदन दिएका बैंकहरुले न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ९ प्रतिशतसम्म ब्याजदर दिने जनाएका छन् । एनएमबि बैंकले उर्जा ऋणपत्रमा ४ प्रतिशत, एनएमबि र नबिल बैंक गरी दुईले समान ८ प्रतिशत, प्रभु, आरबिबि र नेपाल गरी तीन बैंकले समान ८.५० प्रतिशत तथा ३ बैंकहरु सेञ्चुरी बैंक, ज्योति र सांग्रिला डेभलपमेन्ट बैंकले समान ९ प्रतिशत ब्याज दिने जनाएका छन् ।

बैंकहरुले अनुमति मागेका ऋणपत्रको अवधि ६ वर्षदेखि १५ वर्ष अवधिको बीचमा रहेको छ । जसमध्ये पाँच बैंकले दश वर्ष अवधिको, एक बैंकले ६ वर्ष अवधिको, दुई बैंकले ७ वर्ष अवधिको र एक बैंकले १५ वर्ष अवधिको ऋणपत्र बिक्री गर्ने जनाएको छ । एनएमबि बैंकले भने दुई प्रकारको ऋणपत्र बिक्री गर्न आवेदन दिएको छ ।

  • कुन बैंकको ऋणपत्र कस्तो ?

१. “प्रभु बैंक डिभेन्चर २०८७”

प्रभु बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरमा ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र बिक्रीको अनुमति माग्दै माघ २५ गते स्वीकृतका लागि बोर्डमा आवेदन दिएको छ ।

बैंकले वार्षिक ८.५ प्रतिशत व्याजदमा १० वर्षका लागि “प्रभु बैंक डिभेन्चर २०८७” को बिक्री अनुमति मागेको हो । बैंकले जारी गर्ने ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात १६ लाख कित्ता सर्वसाधारलाई र २४ लाख कित्ता बैंकले व्यक्तिगत रुपमा अन्य विभिन्न संघ संस्थालाई बिक्री गर्नेछ ।
ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल रहेको छ ।

२. “नेपाल बैंक ऋणपत्र २०८७ ”

नेपाल बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको बराबरको ३५ लाख कित्ता डिबेन्चर निष्कासन गर्ने भएको छ । जसका लागि बैंकले नियामक निकाय धितोपत्र बोर्डसँग माघ १९ गते आवेदन दिएको हो ।

बैंकले बिक्री गर्ने “नेपाल बैंक ऋणपत्र २०८७” मा लगानीकर्ताले वार्षिक ८.५० प्रतिशत व्याजदर पाउनेछन् । दश १० वर्ष अवधिका लागि बिक्रीमा ल्याइन लागिएको उक्त ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात १४ लाख कित्ता सर्वसाधारणमा र २१ लाख कित्ता व्यक्तिगत रुपमा अन्य संघ संस्थालाई बिक्री हुनेछ ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंग रहेको छ ।

३. “नबिल डिबेन्चर २०८५”

नबिल बैंकले ३ अर्ब रुपैयाँ बराबरका ३० लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो । बैंकले धितोपत्र बोर्डसँग माघ ६ गते अनुमति माग्दै आवेदन दिएको हो ।

निष्काशित कुल ३० लाख कित्ता ऋणपत्रमध्ये बैंकले ४० प्रतिशत अर्थात १२ लाख कित्ता सर्वसाधारणमा र १८ लाख कित्ता व्यक्तिगत रुपमा अन्य संघ संस्थालाई बिक्री गर्नेछ ।

सात वर्ष अवधिको लागि व्याजदरमा जारी हुने “नबिल डिबेन्चर २०८५” मा लगानी गर्ने लगानीकर्ताले वार्षिक आठ प्रतिशत ब्याजदर पाउनेछन् ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।

४. “आरविविएल डिबेन्चर, २०८३”

राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र बिक्री गर्ने अनुमति माग्दै पुस १२ गते धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

बैंकले जारी गर्ने ऋणपत्रको नाम “आरविविएल डिबेन्चर, २०८३” रहेको छ । ६ वर्ष अवधिका लागि ८.५० प्रतिशत व्याजदरमा बैंकले ऋणपत्र जारी गर्न अनुमति मागेको हो ।

बैंकले जारी गर्ने कुल २५ लाख ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात १० लाख कित्ता सर्वसाधरणका लागि र ६० प्रतिशत अर्थात १५ लाख कित्ता बैंकले व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई बिक्री गर्नेछ ।

यस डिबेन्चरको निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

५. सेञ्चुरी बैंक

वणिज्य बैंकमध्ये कान्छौं बैंक सेञ्चुरी कमर्सियल बैंकले २ अर्ब २० करोड रुपैयाँ बराबरको २२ लाख ऋणपत्रका जारी गर्नका लागि असोज २२ गते नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

बैंकले सर्वसाधारण लागि ८ लाख ८० हजार कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १३ लाख २० हजार कित्ता बिक्री गर्नेछ ।
१० वर्षका लागि जारी हुने सेञ्चुरी डिबेन्चर २०८७ नामको ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ९ प्रतिशतका दरले व्याजदर पाउनेछन्।

उक्त ऋणपत्र निष्काशन एवं बिक्री प्रबन्धकको जिम्मा ग्लोबल आइएमई क्यापिटलले लिएको छ ।

. “एनएमबि ऋणपत्र ८ प्रतिशत २०८४/८५”

एनएमबि बैंकले २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ताका “एनएमबि ऋणपत्र ८ प्रतिशत २०८४।८५” बिक्रीका लागि मंसिर २३ गते धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

बैंंकले जारी गर्ने ७ वर्ष अवधिको उक्त ऋणपत्रमा लगानीकर्ताले ८ प्रतिशत व्याजदर पाउनेछन् ।

जारी हुने २० लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि ८ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १२ लाख कित्ता बिक्री गर्नेछ ।

यस डिबेन्चरको निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

७. “ज्योति विकास बैंक बोन्ड २०८७”

ज्योति विकास बैंकले १ अर्ब ५० करोड बराबरको १५ लाख कित्ता ऋणपत्र बिक्रीका लाग फागुन ११ गते बोर्डमा आवेदन माग गरेको छ ।
जसमध्ये ४० प्रतिशतले हुन आउने ६ लाख कित्ता बैंकले सर्वसाधारणका लागि निष्काशन खुला गर्नेछ भने ६० प्रतिशतले हुन आउने ९ लाख कित्ता व्यक्तिगत रुपमा बैंकले विभिन्न संघ संस्थालाई बिक्री गर्नेछ ।

ज्योति विकास बैंकले जारी गर्ने उक्त १० वर्ष अवधिको ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ९ प्रतिशत व्याजदर पशाउनेछन् ।

ज्योति विकास बैंक बोन्ड २०८७ को निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ ।

८. “एनएमबि उर्जा ऋणपत्र (इन्र्जी वोन्ड) २०९२-९३”

एनएमबि बैंकले “एनएमबि उर्जा ऋणपत्र (इन्र्जी वोन्ड) २०९२ -९३” नामको ऋणपत्र जारी गर्न २०७७ पुस ८ गते धितोपत्र बोर्डमा निवेदन पेश गरेको हो । बैंकले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र बिक्रीको अनुमति मागेको हो ।

बैंकले जारी गर्ने ऋणपत्रमध्ये ४० प्रतिशतले हुन आउने ६ लाख कित्ता बैंकले सर्वसाधारणका लागि निष्काशन खुला गर्नेछ भने ६० प्रतिशतले हुन आउने ९ लाख कित्ता व्यक्तिगत रुपमा बैंकले विभिन्न संघ संस्थालाई बिक्री गर्नेछ ।

जलविद्युत क्षेत्रमा दीर्घकालीन लगानी गर्ने उदेश्यले बैंकले ४ प्रतिशत व्याजदरमा १५ वर्षका लागि उक्त ऋणपत्र जारी गर्न लागेको हो ।
यस ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ ।

९. सांग्रिला डेभलपमेन्ट बैंक

सांग्रिला डेभलपमेन्ट बैंकले ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र बिक्रीको लागि अनुमति मागेको छ । ऋणपत्र जारी गर्न बैंकले माघ ७ गते अनुमति मागेको बोर्डले जनाएको छ ।

बैंकले जारी गर्ने ७ लाख ५० हजार कित्तामध्ये ४० प्रतिशतले हुन आउने ३ लाख कित्ता बैंकले सर्वसाधारणका लागि निष्काशन खुला गर्नेछ भने ६० प्रतिशतले हुन आउने ४ लाख ५० हजार कित्ता व्यक्तिगत रुपमा बैंकले विभिन्न संघ संस्थालाई बिक्री गर्नेछ ।

बैंकले १० वर्ष अवधिका लागि जारी गर्ने उक्त ऋणपत्रमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत व्याजदर पाउनेछन् । 

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ ।

  • सहज कारोबार व्यवस्थाले सर्वसाधारणको लगानी पनि बढ्दै

सुरुसुरुमा सर्वसाधारणबाट ऋणपत्रमा साखै लगानी पर्देनथ्यो । तर पछिल्लो समय नेपाल स्टक एक्सचेञ्जले ऋणपत्रको कारोबार पनि अन्य स्टक सरह धितोपत्रको दोस्रो बजारमा सहज रुपमा खरीद बिक्री हुने व्यवस्था गरेपछि भने विस्तारै आम लगानीकर्ताले ऋणपत्रमा लगानी बढाउँदै गइरहेका छन् ।

ऋणपत्रको लगानीको महत्व बुझ्न थालेपछि पनि लगानी गर्ने क्रम बढ्दो छ । साधारण शेयरको तुलनामा ऋणपत्रमा गरिने लगानीमा हुने जोखिम अत्यन्तै कम हुने गर्दछ । ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाहरुबाट आवश्यक परेको बेला सहजै कर्जा समेत लिन सकिन्छ । यस्तो कारण पनि ऋणपत्र बिक्री र लगानी क्रम बढ्दो क्रममा देखिएको हो ।

ऋणपत्र बिक्रीको शतप्रतिशत रकम कर्जा प्रवाह गर्न पाउने व्यवस्थाले पनि बैंकहरुको आकर्षण ऋणपत्रमा पर्न थालेको हो । अर्कोतर्फ ऋणपत्रबाट प्राप्त हुने निक्षेप रकम निश्चित ब्याजदरमा तोकिएको अवधिका लागि लगानी गर्न पाउने हुनाले पनि बैंकहरुलाई स्रोत परिचालनको भरपर्दो माध्यम ऋणपत्र बन्न पुगेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।