कहिले हट्ला बीमा क्षेत्रमा कागजी प्रक्रिया ?

0
Shares

२१ औँ शताब्दी प्रविधिको युग हो । संसारको जुनसुकै कुनामा भईरहेका घट्ना सम्बन्धी जानकारी तथा सूचना प्रविधि कै माध्यमबाट हेर्न र सुन्न सकिन्छ। विकसीत मुलुकको तुलनामा विकासोन्मुख मुलुक प्रविधिको पहुँचमा पछि रहेपनि प्रविधि मैत्री बन्ने प्रयासमा देखिन्छन् । विकासोन्मूख देशले पनि प्रविधिलाई आत्मसाथ गर्र्दै अगाडि बढेका छन् ।

पछिल्लो समय नेपालले पनि प्रविधिमा ठुलो फड्को मारेको छ । प्रविधिको प्रयोगबाटै दैनिक जीवनमा हुने स–साना कामदेखि लिएर ठुला काम समेत फत्ते गर्न सक्ने अभ्यास नेपालले पनि सुरुवात गरेको छ । प्रविधिको प्रयोग गरेर भान्छा घरमा प्रयोग गरिने सामान खरिद गर्नेदेखि लिएर रेस्टुरेन्टमा खाएको बिल तिर्ने, इन्धनको मूल्य तिर्ने लगायतका काम मोबाइलबाटै भुक्तानी गर्ने अभ्यासको सुरुवात भएको छ ।

मोबाइलको माध्यमबाट बैंक खाता, डिम्याट खाता खोल्न सक्ने अभ्यास आजकल नेपालमा पनि छ । डिजिटल कारोबार मानिसहरुको पहिलो प्राथमिकता जस्तै भएको छ । विद्यालय, सरकारी संस्था, गैरसरकारी संस्था, बैंक तथा वित्तीय संस्था सबै कागजी कामकाजलाई विस्थापित गर्दै प्रविधितर्फ मोडिएका छन्

अधिकांस आर्थिक कारोबार प्रविधिबाटै गर्न सम्भव भए पनि बीमा क्षेत्र भने कागजी प्रक्रियामै छ । केही कम्पनी बाहेक अझै पनि बीमा पोलिसी खरिद वा दाबी गर्न बीमित सम्बन्धित कम्पनीमा नै पुग्नु पर्छ । लामो समयदेखि नेपालमा बीमा व्यवसाय सञ्चालन हुँदै आए पनि अझै बीमा सेवाको प्रणाली भने कागजी प्रक्रिया मै अल्झिएको छ । हाल नेपालमा २० निर्जीवन, १९ जीवन र एक पुनर्बीमा गरी कुल ४० वटा कम्पनीले बीमा व्यवसाय गर्दै आएका छन् ।

अन्तराष्ट्रिय अभ्यासलाई हेर्ने हो भने अनलाइनको माध्यमबाट नै बीमा कम्पनीको पोलिसी खरिद गर्न सकिन्छ । अनलाइनबाटै पोलिसी खरिद गरि आफ्नो बीमालेख नविकरण तथा दाबी समेत गर्न सकिन्छ । छिमेकी मुलुक भारतमा समेत प्रविधिको प्रयोगबाट एकै क्लिकमा बीमा पोलिसी खरिद गर्न, आफ्नो बीमा नविकरण गर्न र दाबी भुक्तानी गर्न सक्ने अभ्यास छ । भारतमा २५ जीवन र ३४ निर्जीवन गरी कुल ५९ वटा बीमा कम्पनी सञ्चालनमा रहेका छन् । जसमध्ये पोलिसी बजार डटकम नामक अनलाइनमार्फत अधिकांश कम्पनीको बीमा पोलिसी खरिद गर्न, बीमा नविकरण गर्न तथा बीमा दाबी गर्न सक्ने व्यवस्था छ ।

भारतमा उक्त वेभसाइटमार्फत सबै बीमा कम्पनीमा भएका पोलिसीका प्रकार, बीमा अवधि तथा बीमाशुल्क लगायतका सम्पूर्ण जानकारी थाहा पाउन सकिन्छ ।

नेपालमा पनि केही कम्पनीले आफ्नो वेभसाइटमार्फत नै पोलिसि खरिद गर्न सक्ने व्यवस्था ल्याएका छन् । केही निर्जीवन तथा केही जीवन बीमा कम्पनीले आफ्नो आधिकारीक वेबसाइटबाट नै पोलिसी खरिद गर्न सक्ने व्यवस्था गरेका छन् । निर्जीवन बीमातर्फ सगरमाथा इन्स्योरेन्सको बीमा सेवा कम्पनीको वेबसाइटमार्फत नै खरिद गर्न सकिन्छ । कम्पनीको वेबसाइटबाट बीमा पोलिसी खरिद गर्न सकिने भएता पनि बीमा दाबीको सुविधा लिनका लागि भने केही झन्झट छ । दाबीको कागजात धेरै हुने भएकाले भौतिक रुपमा कार्यालयमा उपस्थिती हुनु पर्ने अवस्था रहेको बीमकहरु बताउँछन् ।

यता, जीवन बीमातर्फ प्राइम लाइफ इन्स्योरेन्सले पनि आफ्नै वेबसाइटबाट बीमा सेवा दिने अभ्यास थालेको करिब एक वर्ष भयो । बीमा क्षेत्रमा डिजिटल माध्यमको आवश्यकता महशुस गर्दै कम्पनीले अनलाइनबाटै पोलिसी खरिद गर्ने अवधारणा ल्याएको थियो । बीमा पोलिसी खरिद गरेपछि कम्पनी कै साइटबाट दाबी पनि गर्नसकिने व्यवस्था गरेको छ ।

नेपालमा पनि च्याटबाट बीमा कम्पनीका बीमा योजनाका बारेमा जानकारी लिन सकिने अभ्यासको विकास भएता पनि व्यक्ति आफैले बीमा पोलिसी खरिद गर्ने र बीमा दाबी गर्न सक्ने प्रविधि भने सृजना हुन बाँकी छ ।

पछिल्लो समय केही कम्पनीहरुले अनलाइनबाटै बीमा सेवा प्रदान गर्दै आए पनि यसको प्रभावकारिता कम रहेको प्राइम लाइफका डेपुटी प्रमूख कार्यकारी अधिकृत चिरायु भण्डारीले बताए । “ बीमा कम्पनीले प्रविधिमा अधारीत सेवा ल्याए पनि उक्त सेवाबाट पोलिसी खरिद गर्नेको संख्या भने न्यून छ,” उनले भने, “विदेशी मुलुकमा बस्नेहरुले भने अनलाइनमार्फत पोलिसी लिन ट्राई गरेको देखिन्छ ।”

बीमा समितिमा डिजिटल हस्ताक्षरलाई मान्यता दिनका लागि कुरा भईरहेको बताउदै उनले भने,“डिजिटल सिग्नेचरलाई उहाँहरुले भ्यालिड भनेर दिनु भयो भने अनलाइन सेवामा अलि सहजता आउँछ ।” अहिलेको युगमा अनलाइन सर्भिस नगरे अनिवार्य जस्तै भैसकेको उनको बुझाई छ । निर्जीवनमा भन्दा पनि जीवनमा अनलाइन सेवा सहज हुने उनी बताउँछन ।

प्रविधि मैत्री बीमा सेवाका लागि के गरिरहेको छ बीमा समिति ?

बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल अरु क्षेत्रमा जस्तो बीमा क्षेत्रमा पनि कागजी प्रक्रिया अन्त्य हुनुपर्ने बताउँछन् । बीमा क्षेलाई प्रविधि मैत्री बनाउनका लागि आफुहरुले बल्ल सफ्टवेयरको निमार्ण गरिरहेको बताउँदै उनले भने,“बीमा क्षेत्रका सबै कामलाई पूर्ण रुपमा अनलाइन प्रणालीमा जानका लागि केही समय कुर्नु पर्ने देखिन्छ ।”

बीमा व्यवसाय पूर्ण रुपमा अभिकर्तामा भर पर्नु भन्दा पनि अनलाइन सेवातर्फ मोडिदा बीमा व्यवसाय वृद्धि हुने अध्यक्ष सिलवाल बताउँछन । बीमा सेवालाई पूर्ण रुपमा अनलाइन बनाउनका लागि पहिले समिति बलियो हुने त्यसपछि मात्रै बीमा कम्पनीहरुलाई अनलाइन सेवाका लागि तयार रहनका लागि पहल गर्ने तयारी उनकोे छ ।

घरायसि प्रयोजनका लागि चाहिने सामान अनलाइनबाट खरिद गर्न सके जस्तै बीमा सेवा पनि अनलाइन बाटै लिन सकिने अभ्यासको सुरुवात गर्ने उनी बताउँछन् । “अन्तराष्ट्रिय रुपमा प्रयोगमा आएको यस्तो सेवाका बारेमा केही कुराहरु भएका छन्, काम गर्ने कम्पनीले हो, समितिले हैन, यस बारेमा एक पटक कम्पनीहरुसँग बसेर कुरा गर्न बाँकी छ,” उनले भने । कागजी प्रक्रियामा निर्भर नभई बीमा सम्बन्धी सबै काम अनलाइनको माध्यमबाट गर्न कम्पनीहरु इच्छुक भए नियमनकारी निकाय बीमा समितिले साथ दिने सिलवालको भनाई छ ।

नेपालमा बीमालाई सहजै स्वीकार गर्नेको संख्या न्यून छ । अर्थात आज पनि नेपालमा बीमा स्वेच्छिक भन्दा पनि कसैले भनेको भरमा, आफन्तको चित्त बुझाउनका लागि गरिने चलन छ । यस्तो अवस्थामा कम्पनीहरुले दिँदै आएको अनलाइन सर्भिस प्रभावकारी देखिदैन् ।

नेपालमा बीमा व्यवसाय गर्ने ४० वटा कम्पनीमध्ये केही कम्पनीले मात्रै अनलाइन सर्भिसको अवधारणा ल्याएका छन् । तरपनि कम्पनीले ल्याएका त्यस्तो सेवा प्रभावकारी हुनका लागि स्वेच्छिक बीमा गर्ने वातावरणको विकास हुनु पर्ने देखिन्छ । समग्र बीमा बजारमा कागजी प्रक्रियाको चलन कहिले अन्त्य हुने हो त्यो भने हेर्न बाँकी छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।