जोखिममा आधारित पूँजी कोष कायम गर्न लगाई बीमा कम्पनीहरुलाई आन्तरिक रुपमा सबल र सक्षम बनाउने सोच नियमक निकायले बनाउन थालेको छ।
यही सोचबाट फाइदा उठाउन तथा पूँजी वृद्धिलाई आधार बनाएर बीमा कम्पनीहरुले हकप्रद शेयर मार्फत ठूलै चलखेल शुरु गर्न सक्ने सम्भावना बढ्न थालेको देखिन्छ ।
कम्पनीका मुख्य सञ्चालनकर्ता र ठूला लगानीकर्ताहरुले हकप्रद निर्णय पूर्व इन्साइडर ट्रेडिङ गरी कमाउने प्रयास गर्न खोज्दा सोझा साझा शेयरधनी फस्ने अवस्था सिर्जना हुने सम्भावना अत्याधिक हुँदै गएको पाइन्छ ।
अतः नियमक निकाय चनाखो भई पूँजी वृद्धि योजनालाई समग्र बीमा उद्योग, लगानीकर्ता र बीमितको हितमा निर्देशित गर्न समयमै निम्न कदम चाल्ने तिर ध्यानदिनु जरुरी छ ।
१. विभिन्न कोषहरु, सोल्भेन्सी मार्जिन, प्रोभिजन, फ्यूचर बोनस प्रोभिजन मार्फत बीमा कम्पनीको वित्तीय अवस्था स्वस्थ राख्न नियामक निकायले प्रयास गरिरहेको पाइन्छ ।
बीमा कम्पनीहरुमा बढी भन्दा बढी लाभांश दिएर अब्बल हुने होड र लगानीकर्ताको छिटो लगानी रकम उठाउन खोज्ने लोभले बीमा कम्पनीहरुको वित्तीय अवस्था भित्री रुपमा एकदमै अस्वस्थ रहेको पाइन्छ । लामो अवधिको निक्षेप (प्रिमियम) लिने जीवन बीमा कम्पनीहरुले सकेजति लाभाशं खाईहाल्ने नीतिले पनि यी कम्पनीहरु भित्री रुपमा बलियो हुन भन्ने अवस्था देखिँदैन ।
२. बीमा कारोबार, व्यवसाय सँगै सामाजिक सेवा पनि हो । राज्यले शिक्षा, स्वास्थ्य र वृद्ध अवस्थाको ज्ञारेन्टी गर्न नसकेको हाम्रो जस्तो देशमा बीमाले त्यो सेवा र सुरक्षा दिइ रहेको हुन्छ । जनताको लामो समयको लागि लिइएको नासो (प्रिमियम) को सुरक्षाको लागि कम्पनीलाई बलियो बनाउनुपर्छ । अतः बीमा कम्पनीहरुले बाँड्ने वार्षिक मुनाफाको अधिकतम सीमा २० देखि २५ प्रतिशत सम्म मात्र तोकेर बाँकी मुनाफा विभिन्न कोष र प्रोभिजनमा राख्ने व्यवस्था गर्नुपर्ने देखिन्छ ।
३. बीमा कम्पनीहरुले संकलन गरेको बीमाशुल्क वा कारोबारमा निहित जोखिमलाई हेरेर हालको चुक्ता पूँजी निकै कम भएकोले यसलाई तत्काल वृद्धि गर्नु जरुरी छ । निर्जिवन बीमाको लागि २५० करोड, जीवन बीमाको लागि ५०० करोड र पूनर्बीमाको लागि २० अर्ब तोक्नुपर्ने देखिन्छ।
४. पूँजी वृद्धि घोषणासँगै तोकेको पूँजी पुर्याउन ३ वर्षको समय दिई बोनस शेयर र मर्जरबाट मात्र पुर्याउन पाउने नीति लिनुपर्छ। हकप्रद शेयर कुनै पनि हालतमा नदिने घोषणा गर्नुपर्छ । बैंकिङ क्षेत्रमा ५ वर्ष अगाडि पूँजी वृद्धि गर्दा हकप्रद शेयर जारीको नीतिबाट उत्पन्न भएको विकृति दोहोर्याउन नहुने प्रष्ट देखिन्छ ।
५. भारतको जस्तो १३५ करोड जनसंख्या भएको देशमा २४ वटा जीवन बीमा र ३४ वटा निर्जीवन बीमा कम्पनी मात्र छन् । हाम्रो ३ करोड जनसंख्या भएको देशमा २० वटा निर्जीवन र १९ वटा जीवन बीमा कम्पनी हुँदा अस्वस्थ प्रतिस्पर्धा भई अनेकौं विकृतिहरु देखापर्दैछ । त्यसैले पहिलो चरणमा, बढी भएका कम्पनीहरुलाई १०।१० वटा जीवन र निर्जीवन बीमा कम्पनीमा ल्याउन हकप्रद नदिने गरी पूँजी वृद्धिमा जोड दिनुपर्छ । यसबाट मर्जरमा जान दबाब सृजना हुन्छ ।
६. तत्काल कमजोर देखिएका बीमा कम्पनीहरुलाई तोकेको पूँजी नपुर्याउन्जेल वा मर्जरमा नजाउन्जेल लाभाशं वितरणमा रोक लगाउने र चुक्ता पूँजीको आधारमा गर्न सकिने कारोबार सीमा तोक्नुपर्छ । यसले जथाभावी व्यापार वृद्धि नियन्त्रण गर्छ र मर्जरको लागि दबाब बढ्छ । नयाँ इजाजत लिने जुनसुकै कम्पनीलाई हालको पूनर्बीमा कम्पनीमा व्यवस्था भए सरह ५ वर्ष लाभाशं वितरणमा रोक लगाउनुपर्छ ।
७. नेपालको नयाँ विकसित राजनैतिक परिदृष्य र निर्वाचनलाई हेरेर नयाँ बीमा कम्पनीको इजाजत लिन विभिन्न समुह लागि परेका छन् । उदार अर्थ नीति लिएको देशमा पुँजी पुर्याएर आउनेलाई काम गर्न दिन्नौं भन्न वा इजाजत नदिँदा विवाद हुनसक्छ, चर्को राजनीतिक दबाब आउन सक्छ । अतः नयाँको लागि पूँजी वृद्धि र थप शर्तहरु नै नियन्त्रणका उपाय हुन सक्छ। तोकेको पूँजी पुर्याउन सक्ने, अनुभवी दक्ष जनशक्ति उपलब्ध हुने, आईपीओ अगाडि विदेशी साझेदार ल्याउन सक्ने र ५ वर्ष लाभाशं दिन नपाउने गरी कम्पनीलाई सशर्त नयाँ इजाजत दिने नीति बनाउँदा नयाँ कम्पनी आउने कमै सम्भावना रहन्छ। आए पनि बलियो रुपमा आउँछन।
८. पूँजी वृद्धिले बीमा कम्पनीहरु बलियो हुने, मर्जरले कम्पनीको संख्या कम भई स्वस्थ प्रतिस्पर्धा हुने, दक्ष जनशक्ति उपलब्ध हुने, नियमक निकायलाई सुपरिवेक्षण गर्न सहज हुने, सञ्चालन खर्च कम भई लगानी कर्ताले प्रतिफल पाउने सम्भावना पनि रहने भएकोले नियममक निकाय, सरोकारवाला कम्पनीहरु र सरकारले यसतर्फ अभिलम्ब सोच्नु र पहल गर्नु आजको आवश्यकता देखिन्छ।
(लेखमा व्यक्त धारणा भट्टाराईको निजी विचार हो, यसले उनी कार्यरत संस्थासँग कुनै सरोकार राख्दैन)
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया