देशैभरी स्वास्थ्य बीमा कार्यक्रम, जनसंख्याको १३ प्रतिशत मात्र सहभागी

0
Shares

सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम ६ वर्षको अवधिमा देशै भरी विस्तार भएको छ । कार्यक्रम करिब देशै भरी विस्तार भएपनि सहभागी हुनेको संख्या भने कुल जनसंख्याको १३ प्रतिशतमा सिमित रहेको बोर्डले जनाएको छ ।

नागरिकको स्वास्थ्य उपचारसम्बन्धी अधिकारलाई बीमामार्फत सुनिश्चित गर्नका लागि आर्थिक वर्ष ०७१/७२ को बजेटमार्फत घोषणा गरेको स्वास्थ्य बीमा कार्यक्रम हाल ७५ जिल्लामा पुगेको छ । स्वास्थ्य बीमा बोर्डले पाँचौ स्वास्थ्य बीमा दिवसको अवसरमा चैत २५ गते ताप्लेजुङ, दोलखा, बारा, सर्लाही, मनाङ र मुस्ताङ गरी थप ६ जिल्लामा स्वस्थ्य बीमा सेवा विस्तार गरेपछि ७५ जिल्लामा पुगेको हो । बाँकी रहेका काठमाडौ र ललिपुरमा बैशाख देखि सेवा विस्तार गर्नेे योजना रहेको बोर्डले जनाएको छ ।

२०७२ चैत देखि सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रम देशव्यापी बन्दै छ । कार्यक्रम देशव्यापी बन्दै गर्दा सहभागी हुने संख्याको दर भने न्यून देखिन्छ । अहिलेसम्म ६९ जिल्लामा यो कार्यक्रम लागू हुँदा सहभागिता दर अपेक्षाकृत बढ्न सकेको देखिदैन । बोर्डले उपलब्ध गराएको तथ्यांक अनुसार स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुनेको संख्या ३७ लाख ४२ हजार ६५६ छ । अर्थात कुल जनसंख्याको १२.८४ प्रतिशत जनसंख्या मात्रै स्वास्थ्य बीमामा आवद्ध छन् ।

सरकारले गरीब, विपन्न लगायतका सातवटा समूहमध्ये केहीलाई पचास प्रतिशत अनुदानमा त केही समुहलाई निशुल्क बीमा गरिदिन्छ । गरीब, विपन्न, ज्येष्ठ नागरिक, एचआइभि संक्रमित तथा महिला स्वयंसेविकाको सहभागीताको संख्या ५ लाख ६५ हजार ५९४ छ । त्यस्ता समूह हटाएर हेर्दा आफ्नै पैसा तिरेर स्वास्थ्य बीमामा आवद्ध हुनेको संख्या भने थोरै देखिन्छ ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौला राज्यले दिएको यस सुविधा प्रति आकर्षण बढ्दै गईरहेको बताउँछन् । पछिल्लो समय बोर्डले बीमितहरुलाई गुनासो रहित र गुणस्तरीय सेवा प्रवाह तर्फ ध्यान दिँदै आएको उनले बताए । “बीमा विस्तार गर्ने काम मात्रै ठुलो कुरो हैन्,” बसौलाले भने,“बीमा विस्तार हुँदैछ, ७५ जिल्लामा सेवा विस्तार गर्यौ, भौगोलिक विस्तारसँगै आगामी दिनमा बोर्डले गुणस्तरीय सेवामा ध्यान केन्द्रित गर्दे गुनासोरहित सेवा तर्फ अघि बढ्दै छौँ ।”

गुणस्तरीय सेवा प्रवाहका लागि अन्र्तक्रिया गर्दै अघि बढ्ने उनको भनाई छ । “सेवाका लागि सम्झौता भएका अस्पताल, स्थानिय निकाय, प्रदेश स्तर, सरोकारवालाहरुसँग अन्र्तक्रिया गर्दै अघि बढ्ने योजनामा छौँ,” उनले भने,“कसरी बीमा सेवालाई गुणस्तरीय बनाउन सकिन्छ भन्ने तर्फ लागि परेका छौँ ।”
अस्पतालले बीमितलाई दिने सेवाका बारेमा अध्ययन तथा अनुगमन गर्ने तर्फ बोर्ड केन्द्रीय हुने पनि उनले बताए । दुर दराजका अस्पतालले दिने सेवा गुणस्तरिय नभएको हुन सक्छ । त्यसका लागि मन्त्रालयसँग स्वास्थ्य संरचना नभएको स्थानमा बनाउन समेत पहल गर्ने उनको भनाइ छ । अस्पताल नभएको ठाउँमा अस्पताल बनाउन, डक्टरहरु नभएको अस्पतालमा डक्टरहरु पुर्याउन, औषधी नभएका अस्पतालमा औषधी उपलब्ध गराउनका लागि मन्त्रालयसँग पहल भैरहेको जानकारी उनले दिए । “सबै सेवाग्राहीहरुले सहज र गुणस्तरीय सेवा पाउँनु पर्छ र बीमित आफुले लिएको सेवाबाट सन्तुष्ट हुनु पर्छ,” उनले भने ।

स्वास्थ्य बीमा कार्यक्रमको वर्तमान अवस्था

स्वास्थ्य बीमा बोर्डले उपलब्ध गराएको तथ्यांक अनुसार हालसम्म यस कार्यक्रममा साढे ३७ लाख सहभागी भएका छन् । यस अवधिमा कार्यक्रममा ११ लाख २६ हजार ८१ घर परिवारका ३७ लाख ४२ हजार भन्दा बढी बीमितहरु सहभागी भएका छन् । कुल बीमितमध्ये ३४ प्रतिशत अर्थात १४ लाख ४५ हजार ५ सय ३३ जनाले सेवा लिएका छन् ।

अति गरिब तथा विपन्न समूहतर्फ ४ लाख ६० हजार ७ सय ७८ जना, जेष्ठ नागरिक समूह अन्तर्गत ४ लाख २३ हजार जना, एचआईभी पोजेटिभ समूहतर्फ १३ हजार ५ सय ९ जना, अति अशक्त अपाङ्ग समूहतर्फ ५३ हजार ६ सय २४ जना, कुष्ठ रोग संक्रमित १ हजार ५ सय ६६ जना र महिला स्वास्थ्य स्वयंसेविका समूहतर्फ ४७ हजार ८ सय ४४ जना आवद्ध रहेको बोर्डकोे तथ्याकं छ ।

झापामा सबैभन्दा धेरै सहभागी

स्वास्थ्य बीमा बोर्डको तथ्याकंअनुसार जिल्लागत रुपमा सहभागी हुनेहरुको संख्यालाई हेर्दा झापा जिल्ला पहिलो स्थानमा रहेको छ । यस कार्यक्रममा झापा जिल्लाका ४ लाख ४४ हजार ६१९ जना सहभागी भएका छन् । झापापछि चितवन, सुनसरी र मोरङ जिल्लाका नागरिक यस कार्यक्रम प्रति आकर्षित रहेको देखिन्छ । चितवन, सुनसरी र मोरङ जिल्लामा क्रमशः दुई लाख ९७ हजार ४१, दुई लाख ९४ हजार २८८, दुई लाख ३३८ हजार १७५ जना सहभागी भएका छन्।

पाल्पा, कैलाली, कास्की, भक्तपुर, मकवानपुर र इलाम जिल्लामा मात्रै १ लाख भन्दा बढीको सहभागीता रेहको देखिन्छ । यी जिल्लाहरुमा सहभागीहरुको संख्या क्रमशः एक लाख ९८ हजार ४२९, एक लाख ७५ हजार २०७, एक लाख ६१ हजार ९९०, एक लाख ४१ हजार ४५६, एक लाख ३१ हजार ६४९ र एक लाख ७२२ रहेको छ । अन्य जिल्लाहरुमा भने यस कार्यक्रममा सहभागी हुनेको संख्या लाख भन्दा कम देखिन्छ ।

स्वास्थ्य बीमा कार्यक्रममा महिला सहभागिता बढी

यस कार्यक्रममा सहभागी भएकामध्ये पुरुषको तुलनामा महिलाको संख्या बढी छ । बोर्डले उपलब्ध गराएको तथ्याकंअनुसार प्रदेशको तथ्याकं हेर्दा पुरुषको तुलनामा महिलाको संख्या बढी देखिएको हो ।

सहभागीमध्ये प्रदेश १ मा महिला सहभागीताको संख्या ६ लाख ३२ हजार ८०९ जना र पुरुष सहभागीताको संख्या ५ लख ८७ हजार ९५० छ । बाग्मती प्रदेशमा महिला सहभागीताको संख्या ३ लाख ९६ हजार १६६ रहँदा पुरुष सहभागिताको संख्या भने ३ लाख ७२ हजार २५२ छ । लुम्बिनी प्रदेशमा महिला सहभागीताको संख्या ३ लाख ९ हजार ८७९ छ भने पुरुष सहभागिताको संख्या दुई लाख ८१ हजार ७०२ छ । गण्डकी, सुदुरपश्चिम, कर्णाली प्रदेश र प्रदेश २ मा समेत महिलाको सहभागीता उच्च छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ चैत २०७७, शुक्रबार  १७ : ०७ बजे